
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डू (बिओके) लाई इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स (आइएलएफसी) सहित अन्य तीन फाइनान्स कम्पनीसँग मर्जर प्रकृया अगाडि नवढाउन स्वीकृति दिएको छ ।
चार महिनाअघि बिओकेले आइएलएफसीसहित तीन कम्पनीसँग मर्जर गर्न नसकिने भन्दै राष्ट्र बैंकमा निवेदन दिएको थियो । मर्जरका लागि चारै वटै संस्थालाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो ।
बिओकेसँग आइएलएफसी, श्रीइन्भेष्टमेन्ट र नेपाल एक्सप्रेस फाइनान्स मर्जरमा जान सम्झौता गरेका थिए । ६ महिनादेखि छलफल गरेर मर्जरमा जाने सम्झौता गरेका संस्थाहरुले अर्को ६ महिनापछि सम्झौता तोडेका थिए ।
सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि बिओकेले मर्जरमा नजाने निर्णय गर्दै राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो । चार संस्थाबीच १० महिना अगाडि सम्झौता भएको थियो ।
मर्जरमा जाने निर्णयसँगै संस्थाहरुको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार बन्द गरिएको थियो । १० महिनादेखि कारोबार नभएको बैंकको सेयर अब अर्को साताबाट कारोबार हुने छ ।
‘हामीले मर्जर प्रकृया तोडिएको सुचना पाएका छौं, पत्र आइसकेको छैन,’ बिओकेका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले भने, ‘पत्र आएपछि कारोबार फुकुवाको पत्र नेप्सेलाई लेख्ने छौं । त्यससँगै कारोबार फुकुवा हुने छ ।’
यसअघि पनि अधिकांस कम्पनीको सेयर कारोबार नेप्सेमा पत्र लेखेको केही दिनमै फुकुवा हुने गरेको थियो । राष्ट्र बैंकले भने सार्वजनिक विदाका कारण बैंकलाई स्वीकृति पत्र पठाउन नसकिएको भन्दै कार्यालय खुलेपछि (आइतवार) पत्र पठाउने जनाएको छ ।
मर्जरमा जानका लागि सुरुमा बिओके र आइएलएफसीबीच छलफल भएको थियो । श्रीइन्भेष्टमेन्ट र नेपाल एक्सप्रेसका प्रबद्र्धकहरुको समूह एउटै भएका कारण उनीहरु पनि मिसिएका थिए ।
बिओकेमा सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुले मर्जरमा जान नहुने भन्दै अडान राख्दै आएका थिए । उनीहरुकै कारण मर्जर अगाडि वढ्न नसकेको हो । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आएपछि सेयर अनुपात, सञ्चालक समिति, उच्च व्यवस्थापन र कर्मचारी समायोजनमा पनि विवाद थियो ।
विवादकै कारण संस्थाहरुको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पनि पुरा हुन सकेको थिएन । डिडिएमा पनि समय धेरै लाग्ने देखिएपछि बिओकेले मर्जरमा नजाने निर्णय गर्दै राष्ट्र बैंकमा पत्र लेखेको थियो ।