BIZMANDU
www.bizmandu.com

वाच लिस्टले कम्तिमा १० अर्ब प्रोभिजनिङ थपिन्छ, शशिन जोशीको विश्लेषण

२०७१ चैत्र १५

वाच लिस्टले कम्तिमा १० अर्ब प्रोभिजनिङ थपिन्छ, शशिन जोशीको विश्लेषण
वाच लिस्टले कम्तिमा १० अर्ब प्रोभिजनिङ थपिन्छ, शशिन जोशीको विश्लेषण

प्रुडेन्ट बैंकिङका लागि ‘वाच लिस्ट’ को व्यवस्था सान्दर्भिक नै हो । नेपाल राष्ट्र बैंकले वाच लिस्टको व्यवस्था गर्नुअघि नै धेरै बैंकले यसलाई कार्यान्वयन गरिरहेका छन् । हामीले पनि हाम्रो आन्तरिक प्रयोजनका लागि वाचलिस्ट कार्यान्वयन गरेका छौं ।
 
सैद्धान्तिक रुपमा वाच लिस्टको व्यवस्था राम्रो भएपनि यसमा नोक्शानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु पर्ने नीतिले बैंकहरुलाई अप्ठेरो पार्छ । बैंकहरुले अहिले औषत तीनदेखि साढे तीन प्रतिशत मार्जिनमा काम गरिरहेका छन् । पाँच प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने भएपछि अनुमान लाउन सकिन्छ बैंकिङमा कस्तो असर पर्छ भनेर । 
 
अन्तर्राष्ट्रिय अभ्यास के छ ?
बैंकिङ क्षेत्रमा प्रोभिजनिङ गर्ने फरक फरक अभ्यासहरु छन् । बैंकमा साधारणतया एउटा सक्रिय कर्जा हुन्छ अर्को निस्क्रिय । सक्रिय र निस्क्रिय कर्जा छुट्याउनका लागि ९० दिनको समय अवधिलाई मूख्य रुपमा लिइएको हुन्छ । ९० दिनपछि ब्याज र किस्ता भुक्तानी हुँदैन भने त्यो स्वत निस्क्रिय कर्जामा पठाइन्छ । धेरै देशमा यही अभ्यास छ । 
 
निस्किृय कर्जामा गएपछि कति प्रोभिजनिङ गर्ने भन्ने कुरा देश अनुसार फरक फरक छ । हाम्रोमा प्रोभिजनिङ तोक्ने कुरा समयका आधारमा निर्धारण गरिएको छ । विकसित अर्थतन्त्रहरुमा समय अवधिको अवधारण एउटा पक्ष हो, तर धेरैजसोले दुई वटा कुरालाई सँगसँगै लगेको देखिन्छ । एउटा, प्रोब्याविलिटी अफ डिफल्ड अर्थात बैंकले प्रभाव गरेको ऋण निस्क्रियमा जाने सम्भावना कतिको छ ? 
 
अर्को, लस इन द इभेन्ट अफ डिफल्ड अर्थात निस्क्रिय भइहाल्यो भने यो ऋणबाट कति नोक्शानी हुन्छ ? धेरैजसो देशले प्रोभिजनिङ बैंकले लस इन द इभेन्ट अफ डिफल्ड कति हुन्छ भनेर गर्छ । 
 
मानौ सय रुपैयाँको ऋण छ, जुन निस्किृय भइसक्यो । बैंकले ऋणीको वासलातको आधारमा कर्जा प्रवाह गरेको हुन्छ । त्यो ऋण कथमकदाचित समस्यामा गयो भने त्यहाँबाट बैंकले कति उठाउन सक्छ भनेर हेरिन्छ । हाम्रोमा वासलातका आधारमा ऋण उठ्ने भनेको जिरो हुन्छ । त्यस्तो अवस्थामा प्रुडेन्टली गर्ने हो भने, ९० दिन मात्र नाघ्दा पनि बैंकले सय प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने हुन्छ । 
 
तर घरकर्जा वा अन्य सम्पतिको आधारमा ऋण दिइएको ऋण उठेन भने बैंकले ऋणको पुरै प्रोभिजनिङ गर्नु पर्छ त ? बैंकले के विचार गर्छ भने, ठिक छ यो घर कर्जा हो, यसलाई हामीले विक्री गर्यो भने पनि कम्तिमा ५० प्रतिशत उठ्छ । त्यो अवस्थामा बैंकले ५० प्रतिशत मात्र प्रोभिजनिङ गर्छ, यस्तो अभ्यास वाहिर छ ।
 
हाम्रोमा देशमा प्रोभिजनिङ समयका आधारमा मात्र छ । धितो वा सुरक्षण सम्पति जेसुकै होस् ९० दिन भएपछि २५ प्रतिशत, १८० दिन भएपछि ५० र ३६५ दिन भएपछि सय प्रतिशत प्रोभिजनिङ गर्नु पर्छ । 
 
हाम्रोजस्तो देशमा ऋणीको सही वासलात आउँछ त ? त्यहाँ हामी पूर्ण रुपमा परिपालन गराउन सक्छौं त ? त्यो त छैन ।
 
बाच लिस्टमा के छ ?
वाच लिस्टमा राष्ट्र बैंकले तीन कुराहरु विशेष गरी उठाएको छ । नेटवर्थ ऋणात्मक हुनु भएन । यो ठिकै हो । जसको पुँजी नै छैन भने त्यसमा त बैंकले विचार गर्नै पर्छ । अर्को कुरा वर्किङ क्यापिटल ऋणात्मक । यो भनेको, स्टकका लागि  मलाई एक सय रुपैयाँ ऋण चाहिएको छ । ऋणीसँग स्टक ८० रुपैयाँ मात्र छ । ऋणीको स्वपुँजी त हुनु पर्छ । ऋण सय रुपैयाँ छ भने ऋणीको स्टक त १३० रुपैयाँ हुनु पर्छ । यस्तो वियामा वाच लिस्टको व्यवस्था ठिक हो । यसमा राष्ट्र बैंकले सतर्क हुनु पर्छ भनेकोमा कुनै दुई मत छैन । 
 
तेस्रो कुरा क्यास फ्लो (नगद प्रवाह) ऋणात्मक भएको खन्डमा पनि पाँच प्रतिशत प्रोभिजनिङ गर्नु पर्छ भनिएको छ । राष्ट्र बैंकले बुझ्दै नबुझीकन यो व्यवस्था गरेको छ । कुनै कम्पनी राम्रैसँग अगाडि वढिरहेको (ग्रो गरिरहेको) छ, भने उसको नगद प्रवाह सकारात्मक (पोजिटिभ) नहुन पनि सक्छ । उसले जति नगद प्रवाह छ त्यो कम्पनीमै लगानी गरेको हुन्छ । त्यही भएर त उसलाई ऋण चाहिएको हो नि । 
 
कुनै कम्पनीमा आज नगद प्रवाह राम्रो छ । मानौ उसँग पाँच करोड रुपैयाँ नगद प्रवाह देखिएको छ, तर उसले त्यो पाँच करोडमध्ये चार करोड रुपैयाँ मेसिनरीमा लगानी गर्यो । अब नगद त घट्छ । लगानी गरेकै कारण उसको नगद प्रवाह ऋणात्मक भएको हुन्छ । अब के नगद प्रवाह ऋणात्मक भयो भनेर तिमीले ऋण पाउँदैनौं भन्न मिल्छ ? 
 
असर के पर्छ ?
बैंकको आफ्नो पोर्टफोलियो (ऋण लगानी) अनुसार अहिलेको नीतिले फरक फरक असर पर्छ । नवीकरण अलिकति ढिलो भयो भने पनि पाँच प्रतिशत गर्नु पर्ने भएपछि पक्का पनि असर ठूलै पर्छ । 
 
पाँच प्रतिशत प्रोभिजनिङको असर बैंकको ऋण लगानी अनुसार एक अर्बसम्म पनि पर्छ भनेर वाहिरै आइसक्यो । ५०÷६० करोडको असर पर्छ भन्ने बैंक चार–पाँच वटै निस्किसकेका छन् । 
 
अहिले बैंकहरुको कुल ऋण लगानी १० खर्ब रुपैयाँ हो । १० खर्बको २० प्रतिशत भनेको दुई खर्ब हुन्छ । दुई खर्बको पाँच प्रतिशत भयो भने पनि त्यो १० अर्ब त हुन्छ नै । मैले यो तथ्याङ कन्जरभेटिभ भएर प्रस्तुत गर्दैछु । बजारमा त ३० अर्बको कुरा आइसकेको छ । 
 
सुनिन्छ म बैंकर्स संघमा भएका बेला वाच लिस्टमा पाँच प्रतिशतको प्रोभिजनिङ गर्नु पर्छ भनेर माग गरे भनेर, तर यो असत्य हो । ९० दिनभित्रको कर्जालाई भनेको होइन । ९० दिनपछिको लाई एकैचोटी २५ नगरौं त्यसलाई १०/१५ वा २० गरेर वढाउँ भनेको हो । 
 
पाँच प्रतिशत प्रोभिजनिङको असर निर्देशन जारी भएको दिनदेखि देखिन थालेको छ । यसमा परिमार्जन भएन भने वैशाखमा प्रकाशित हुने बैंकहरुको वासलातमा प्रस्ट असर वाहिर आउँछ । 
 
पाँच प्रतिशतको असर बैंकलाई भन्दा वढी ऋणीलाई पर्छ । हामीले ऋण उठाउन ऋणीलाई वारम्बार दवाव दिन थालिसकेका छौं । यसले आर्थिक कृयाकलापमा पनि असर पर्छ । बैंकले ऋण दिन डराउँछन् अब । दिइरहेकालाई पनि धेरै पटक सोचेर मात्र थप दिन्छौं । ऋण लगानी कम भएपछि पक्का पनि आर्थिक कृयाकलपा प्रभावित हुन्छ । व्यक्तिगत कर्जामा भन्दा पनि यसको असर कर्पोरेट कर्जामा वढी हुन्छ । सरकारी राजश्वमा पनि यसको असर सोझो देखिन्छ । 
 
 
के गर्नु पर्छ ?
वाच लिस्ट सैद्धान्तिक रुपमा राम्रो अवधारणा हो । तर प्रोभिजनिङ गर्नु पर्ने व्यवस्थामा केही संशोधन आवश्यक छ । वाच लिस्टमा प्रोभिजनिङ गर्नु पर्ने व्यवस्थामा केही लचकता अपनाउन जरुरी छ । जस्तो, बर्षमा कम्तिमा चार चोटी ३० दिन डिफल्ड भयो भने त्यसमा तीन प्रतिशत प्रोभिजनिङको व्यवस्था गर्न सकिन्छ । यसले बैंक र ऋणी दुबैलाई सतर्क पनि बनाउँछ । अथवा नियमित दुई बर्ष नेगेटिभ नेटवर्थमा फाइनान्सिङ भइरहेको छ भने पनि प्रोभिजनिङ वाध्यात्मक बनाउन सकिन्छ । ग्राहकलाई मौका पनि त दिनु पर्छ । मौका दिएर पनि उसले गरेन भने प्रोभिजनिङको व्यवस्था गर्नु पर्छ ।
 
वाच लिस्ट कार्यान्वयन गर्न बैंकहरुलाई समय दिनु पर्छ । मेरो सुझाव नयाँ आर्थिक बर्षदेखि लागू गर्दा ठिक हुन्छ । वाच लिस्टमा भएका केही अप्ठेराहरु जस्तो नगद प्रवाह तथा कर्जा डिफल्ड कति पटक भयो भयो भने नोक्शानी व्यवस्थापन गर्नेजस्ता कुराहरुमा खुला छलफल हुनु पर्छ । फेरि पनि भन्छु सैद्धान्तिक रुपमा वाच लिस्ट भनेको राम्रो कुरा हो । तर कार्यान्वयनका लागि समय दिनु पर्छ, छलफलमा ल्याउनु पर्छ । बैंकलाई सरप्राइज आउनु भएन यस्ता नीतिहरु । 
 
कार्यान्वयन गर्न किन गाह्रो छ ?
चालु पुँजीका लागि बैंकले एक बर्षका लागि ऋण दिन्छ । एक बर्षका लागि दिएपनि त्यो सेड्युलमा भुक्तानी हुन्छ । एकै पटक भुक्तानी हुँदैन । बैंकले ऋणीसँग ऋणको पुर्नमूल्यांकनका लागि कागजात मागिरहेको हुन्छ । भोलीको आउटलुक हेर्छ । 
 
नेपाल हो, त्यो कागजात भनेको दिनमा आउँदैन । समयमा अडिट हुँदैन । राम्रो रेकर्ड राख्ने संयन्त्र पनि छैन । चलन पनि छैन । बैंकका कर्मचारीहरुले फलोअप गर्छन् । गर्दागर्दै पनि एक दुई हप्ता वा महिना दिन पनि तन्किन्छ । ठिकै छ त ऋणीले कागजात पठाउँदैछ, अर्को दुई महिनाका लागि ऋण नवीकरण गर्दिम नत भन्ने प्रचलन सबै बैंकमा छ । हाम्रोसहित सबै बैंकमा यही चलन हो । यस्तोमा पनि पाँच प्रतिशत प्रोभिजनिङ गरिदिने ? 
 
दोस्रो किस्ताको पैसा तिर्ने यो दिन भनेपछि त्यो दिन तिर्नै पर्छ । सहमति त त्यही भएको हुन्छ । तर कहिलेकाँही दुई चार दिन ढिला हुन्छ । बैंकको पोर्टफोलियाको  संरचना अनुसार फरक हुन्छ । मेरो विचारमा कम्तिमा पनि असाध्यै राम्रो बैंकको पनि सायद १० प्रतिशतजतिको पोर्टफोलियो दुई दिन चार दिन ढिलो हुने हुन्छ । औषत बैंकको ४०/५० प्रतिशतजति पनि हुन्छ । ऋणीको वासलातको आधारमा गर्ने हो भने कमसेकम पनि ३० प्रतिशत (मेरो आफ्नो एजुकेटेड गेस हो) मा यस्तो समस्या हुन्छ । 

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस्: वाच लिस्टका कारण १० करोड नाफा कमाउने बैंक अब १५ करोडसम्म नोक्सानमा जान सक्छन्