BIZMANDU
www.bizmandu.com

निजगढ बने विकासमा ‘ग्रेट लिप फरवार्ड’ हुन्छ, बाबुराम भट्टराईको विश्लेषण

२०७१ चैत्र ३

निजगढ बने विकासमा ‘ग्रेट लिप फरवार्ड’ हुन्छ, बाबुराम भट्टराईको विश्लेषण
निजगढ बने विकासमा ‘ग्रेट लिप फरवार्ड’ हुन्छ, बाबुराम भट्टराईको विश्लेषण


टर्किस विमान दुर्घटनाका कारण चार दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो । एउटा घटनाले चार दिनसम्म मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा देशकै वेइज्जत मात्र भएन, अर्थतन्त्रलाई अर्बौको क्षति पनि भयो । वर्षौदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कागजी चर्चा त भए तर माखो मारिएन । यति ठूलो घटना हुँदा पनि देशका कार्यकारी प्रमुखदेखि विभागीय मन्त्रीसम्मले न चासो देखाए न  पहिले नै कागजमा चर्चा गरिएको विमानस्थल निर्माणका लागि योजना नै प्रस्तुत गर्न सके । के राज्यले अर्को विमानस्थल बनाउनै सक्दैन ? यही विषयमा बिजमाण्डूले सुरु गरेको श्रृखलामा  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इको विश्लेषण, के नेपालकाे राजनीतिक इच्छाशक्ती त्यति कमजोर छ, जो दोश्रो अन्तराष्ट्रिय विमानस्थल सोच्न पनि सक्दैन् ?

Tata
GBIME
NLIC

डा.बाबुराम भट्टरार्इ
पूर्व प्रधानमन्त्री

म दिल्लीबाट काठमाडौं फर्किदै थिएँ, टर्किस एयरलाइन्सको बिमान रनवेमा धस्सिएपछि देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल अवरुद्ध भयो । विमानस्थल अवरुद्ध भएपछि म त्यही दिन दिल्लीबाट सडकमार्ग हुँदै नेपालगञ्ज आएँ ।

नेपालगञ्जबाट समेत काठमाडौंमा विमान उडन सकेन । गाडीमै काठमाडौसम्म आउनु पर्‍यो । यो तीतो अनुभव म आफैले व्योहोरें, सडक मार्गको विकल्प भएको मलाई त अफठ्यारो पर्‍यो, विदेशका थुप्रै एयरपोर्टमा विकल्पविहिन भएर विचल्लीमा परेका नेपाली दाजुभाइलाई कति कष्ट भोग्नुपर्यो ? त्यो हामी सबैले महसुस गर्न जरुरी छ ।

मुख्य कुरा नेपालको अबको राजनीति आर्थिक अवधारणा(एप्रोच)बाट विकास राजनीतितर्फ जानुपर्छ र सुरुवात त्यहाँबाट गरिनुपर्छ । अहिले त्यसका लागि एउटा उत्तम अवसर पनि हो ।

यो श्रृखलामा पढ्नुहोस् 
रामेश्वर खनालको सोंच विमानस्थलसँगै फास्टट्रयाक सरकारले नै बनाउन सक्छ

राधेश पन्तको योजना विदेशी लगानीमा बनाउन सकिन्छ अन्तराष्ट्रिय विमानस्थल

‘थिङ्क विग’ माधव घिमिरेको सम्झना भैरहवाका लागि यसरी जुटेको थियो स्रोत 

त्रिरत्न मानन्धरको प्राविधिक विश्लेषण किन टिआईएको विकल्पमा चाहियो निजगढ 

राजनीति होइन, आर्थिक आधार

हामी नेपालको राजनीतिक प्रक्रियालाई पूर्णता दिएर आर्थिक विकास र समृद्धिको एउटा नयाँ युगमा प्रवेश गर्दैछौ । त्यसो भएको हुनाले यतिबेला राजनीतिक एजेन्डा विशुद्ध राज्य संचालनसँग सम्वन्धित उपरीसंरचनामा मात्रै केन्द्रीत नभएर त्यसको मुख्य आधार (आर्थिक आधार)सँग पनि सम्वन्धित छ । आर्थिक आधार विकासका मुद्दा हुन्, त्यसलाई समेत जोडेर लैजाने विकास र राजनीति अहिलेको आवश्यकता हो ।

विकासका धेरै आयाम र पक्षहरु हुन्छन् र आवश्यकता हुन्छन् । ती सबैलाई एकैचोटी गर्न पनि सकिदैन । दुरदृष्टि, भिजन भएको राजनीतिक नेतृत्वले विषयवस्तु पहिचान गरेर प्राथमिकीरण गर्नुपर्छ ।

त्यो हिसाबले एउटा राजनीतिक अर्थशास्त्री र विकासको विद्यार्थीको नाताले म अर्थमन्त्री र प्रधानमन्त्री हुँदा प्राथमिकीकरण गरौ भनेर केही राष्ट्रिय गौरबकै योजना घोषणा गरेका हौं ।

ती परियोजनामा कुनै पनि प्रकारको साधन र स्रोतको कमी हुन नदिने तथा  सरकारको नेतृत्व परिवर्तन भयो भने पनि राज्यले नै दायित्व लिएर निरन्तरता दिने घोषणा गरिएको थियो ।

त्यो बेलामा घोषणा गरिएका राष्ट्रिय गौरवका १७ योजना थिए । राष्ट्रिय गौरवका योजनामध्ये पनि  एक नम्बरमा निजगढमा स्थापना हुने अन्तर्राष्ट्रिय विमानस्थल र त्योसँग जोडिएको काठमाडौं-तराइ/मधेस फाष्ट ट्रयाक थियो ।

दुई परियोजना एक साथ
यी दुईवटा योजनाबीच अन्योन्याश्रित सम्वन्ध छ । निजगढ विमानस्थलविना फाष्ट ट्रयाकको अर्थ हुँदैन र फाष्ट ट्रयाक विना अन्तर्राष्ट्रिय विमानस्थलको अर्थ हुँदैन । यो जोडिएको विषय हो ।

फाष्ट ट्रयाकबाट एक/डेढ घन्टाको दूरीमा राजधानी जोडिन्छ । योभन्दा लामो दूरी राख्नु उपयुक्त पनि हुँदैन । यसलाई अलग/अलग गर्न खोजिएमा समयको तादात्म्य नभएर आर्थिक रुपमा ठूलो घाटा पर्न जान्छ ।

यी दुई पूर्वाधारलाई सँगसँगै लैजानुपर्छ ।  यी दुईवटा परियोजना हाम्रो एक नम्बरको प्राथमिकतामा हुनुपर्छ भनेर नै म आफैले अध्ययन भ्रमण गरेर निर्देशन समेत दिएको थिएँ ।

यो पहिलो प्राथमिकतामा राख्नुको पछाडि के कारण हो भने हाम्रो विकास जसरी काठमाडौं केन्द्रीत भएर गएको छ, अब काठमाडौं उपत्यकाको विकासको सम्भावना केही समयपछि करिब करिब समाप्त हुन्छ ।
अब यो भन्दा बढी गइयो भने  काठमाडौंको पर्यावरणीय विनाश यतिधेरै हुन्छ, जुन हामीले थेग्नै सक्दैनौ‌ । त्यो फेरि हाम्रा लागि ठूलो ऐतिहासिक भुल हुन जान्छ । त्यसैले हामीले तराई मधेशलाई जोड्ने ढंगले विकास लैजानुपर्छ र त्यसको निम्ति फाष्ट ट्रयाकलाई पहिलो प्राथमिकता दिनुपर्छ ।

त्योसँगसँगै अन्तर्राष्ट्रिय रुपमा नेपालको विकासको प्राथमिकतामा पर्ने क्षेत्रहरु मध्येमा पर्यटन हो । पर्यटनको निम्ती अन्तर्राष्ट्रिय विमानस्थल नभई हुँदैन ।

विकासमा ठूलो छलाङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो धेरै पुरानो भयो, साँघुरो पनि भयो र भोलिको निम्ति पर्याप्त पनि हुँदैन । त्यसैले हामीले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाअौ भनेका हौं‌ । पछि गएर यो देशकै सबैभन्दा ठूलो विमानस्थल हुन्छ । त्यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नै पर्छ ।

यो विमानस्थल निर्माण हुन सक्यो भने  बल्ल विकासको ढोका खुल्छ र एउटा ‘ग्रेट लिप फरवार्ड’ हुन्छ । यो विकासको ठूलो छलाङ हो भन्ने मेरो मान्यता हो । त्यो विमानस्थल निर्माण गर्न ८/१० वर्ष लाग्नसक्छ । अहिले त्रिभुवन विमानस्थल छ, यो साँघुरो र अपुरो भइसक्यो । भोली ठूलो विमानस्थल बारामा बनिसकेपछि पनि आन्तरिक हिसाबले काठमाडौंको विमानस्थललाई स्तरोन्नती गरिनुपर्छ ।

काम गर्न दिएनन्
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती पनि सँगसँगै बढाएर लैजानुपर्छ भन्ने ढंगले मेरो पालामा अगाडी बढाउन खोजिएको थियो । तर दुर्भाग्य, हामीकहाँ के हुन्छ भने कसैले पनि राम्रो नियतले केही गर्न खोज्यो भने अनावश्यक ढंगले विवादमा पारिदिने र कथित राष्ट्रियताको भूत जगाइदिने ।

त्यसैका आधारमा मान्छेलाई बदनाम गर्ने र भ्रम सिर्जना गरिदिने स्थिती नेपालमा छ । यही राष्ट्रियताको भूतले त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने योजना पनि अनावश्यक विवाद पर्‍यो र त्यो रोकियो ।

हामीकहाँ राष्ट्रियताको भूत त्यतिबेला जाग्छ जतिवेला आफ्नो निजी स्वार्थ देखिन्छ । अघिपछि भने त्यो सुसुप्त रुपमा रहन्छ । राष्ट्रियता जगाउन विभिन्न एजेन्टहरुले भूमिका खेल्छन्, त्यसपछि राष्ट्रियताको विषयमा ठूलो कुरा आउँछ अनि अदालतमा मुद्दा पर्छ । अदालतले अन्तरिम आदेश जारी गर्छ र काम रोकिन्छ । यो जानेमाने प्रक्रिया हो र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीमा पनि त्यही भएको हो ।

अहिले टर्किस विमानको दुर्घटनाले विमानस्थल नै अवरुद्ध भएर हजारौं यात्रुलाई  अप्ठ्यारो पर्ने र अन्तर्राष्ट्रिय रुपमा देशको वेइज्जती हुने जुन काम भयो त्यो कुरालाई समयमै ध्यान नदिँदाको परिणाम हो ।

स्रोतको कमि हुँदैन
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाकलाई पहिलो प्राथमिकता दिएर अगाडि लैजानुपर्छ । यो दुई पूर्वाधारको निम्ती आवश्यक हुने साधन र स्रोत अरु कसैलाई भन्नुभन्दा सहुलियतपूर्ण (सफ्ट लोन) लिएर हामीले नै बनाउँदा हुन्छ । त्यसमा हामीले मुख्य लगानी गरेर अरु कसैसँग साझेदारी गर्दा पनि हुन्छ ।

यो मोडल उपयुक्त हुन्छ भनेर भारत भ्रमणको बेलामा मैले जुन लाइन अफ क्रेडिटको कुरा गरेको थिएँ, त्यो अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी नेपाल आउँदा घोषणा भयो ।

यी दुवै पूर्वाधार निर्माणको लागि त्यति रकम पनि अपुग हुन्छ । दोस्रो भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत सम्भाब्यता अध्ययन(डीपीआर) समेत बनाउने काम भइरहेको छ, त्यसलाई कार्यान्वयन गरेर अन्तर्राष्ट्रिय ठेक्का प्रक्रियाबाट विदेशी कम्पनीलाई दिँदा पनि हुन्छ ।

तर मेरो भनाई के छ भने सकभर यति ठूलो रणनितिक महत्व भएको फाष्ट ट्रयाक र विमानस्थल नेपाल राज्यले नै सहुलियतपूर्ण ऋण लिएर बरु अरुलाई साझेदार बनाएर गर्नु उपयुक्त हुन्छ ।
 
नेपाल सरकारले नै त्यसको मुख्य पहल गरेर ऋण लिनुपर्छ । सहुलियतपूर्ण ऋण जति पनि पाइन्छ । विश्व बैंक, एसियाली विकास बैंक, चीन र भारतले पनि सहुलियतपूर्ण ऋण दिन्छन् । उनीहरुबाट लिएर हामीले पूर्वाधारको विकास गर्नुपर्छ ।

पूर्वाधारको विकासमा राज्यलेनै  प्राथमिकता दियो भने निजी क्षेत्र आएर अन्य क्षेत्रमा लगानी गर्छन् । ठूला पूर्वाधारमा राज्यलेनै पहल लिनुपर्छ भन्ने मेरो मान्यता छ । ज्यादै ठूलो नसक्ने हो भने संयुक्त लगानी पनि गर्न सकिन्छ ।

यो निर्माणको लागि सम्वन्धित मन्त्रालयले मात्रै हेरेर पुग्दैन धेरै ठूलो परियोजना भएकोले प्रधानमन्त्रीकै मातहतको लगानी बोर्ड छ त्यसलाई क्रियाशील बनाएर यसको जिम्मेवारी लिनुपर्छ ।

साझेदार ल्याउन सकिन्छ
यी पूर्वाधार व्यवस्थापनका लागि रणनीतिक साझेदार ल्याउन सकिन्छ । कुनै पूर्वाधारमा संयुक्त लगानी पनि गर्न सकिन्छ । निजी क्षेत्रले तुरुन्तै आएर गर्दैन, त्यसैले पहल राज्यले नै गर्नुपर्छ । निजी क्षेत्रले हिसाब हेर्छ, नाफा नहुने परियोजनामा उ जाँदैन । फेरि पनि हामीले विदेशी लगानी कुरेर बस्यौ भने यस्ता परियोजना बन्न अझै वर्षौ लाग्नसक्छ ।

यसलाई राज्यलेनै पहल गरेर सुरुवात गर्यो भने यति ठूलो ढोका खोल्छ । नेपालको आर्थिक विकासमा ठूलो छलाङ हुन्छ र त्यसले अरु क्षेत्रको निम्ती ढोका खोल्छ ।

हाम्रो सन्दर्भमा ठूला लगानी सम्वन्धित मन्त्रालयले मात्रै हेरेर पुग्दैन, त्यसैले राष्ट्रिय गौरवका योजना हेर्न लगानी बोर्ड निर्माण गर्ने र त्यो लगानी बोर्ड प्रधानमन्त्रीकै अध्यक्षतामा रहने, त्यसमा मुख्य सरोकारवाला मन्त्रालय पनि हुने अवधारणा ल्याइएको हो ।  

लगानी बोर्डलाई अधिकार थपौं
यो निकायलाई  अधिकार सम्पन्न बनाएर ठूलाठूला परियोजना सिधै प्रधानमन्त्रीस्तरको एकद्वार प्रणालीबाट गर्ने भनेर नै लगानी बोर्डको स्थापना मेरै पालामा भएको हो ।

यस्ता योजनालाई लगानी बोर्डमार्फत ल्याउनुपर्छ भनेर प्रयत्न गरियो । तर हाम्रो मन्त्रालयमा रहेका कर्मचारी र त्यहाँको राजनीतिक नेतृत्व यति धेरै स्वार्थमा जोडिएका हुन्छ, कुनै न कुनै वहानामा अल्झाएर लगानी बोर्डमा ल्याउन नदिने काम भइरहेको छ । यही कारणले लगानी बोर्ड ठीक ढंगले अगाडी बढ्न सकेको छैन ।

हामी अहिले संक्रमणकालिन समाजमा छौ, राजनीतिक नेतृत्वमै न्यून संस्कार छ । आफुले राम्रो काम गर्नेभन्दा पनि  माथि उक्लनेलाई  तल तानेर आफू अग्लो देखिने संस्कृति छ । आफू अग्लो हुनुको सट्टा अरुलाई होचो पार्ने जुन राजनीतिक संस्कार छ, त्यो नबदलिएसम्म काम गर्न गाह्रो हुन्छ ।

पहिले समृद्ध बनौं
यो नक्कली पाखण्डी राष्ट्रवाद हो । म प्रगतिशिल राष्ट्रवादको पक्षमा छु । सुगौली सन्धीदेखि यता नेपाल जसरी असमान सम्वन्धमा वाँधिएको छ त्यसलाई संरचनागत परिवर्तन गरेर वदल्नुपर्छ । पूरै शल्यक्रिया गर्नुपर्छ । अंश/अंश उठाएर राष्ट्रियताको भूत जगाएर हुँदैन ।

आफ्नो देशलाई विकास र समृद्ध नबनाएसम्म, आन्तरिक रुपमा नेपाली जनतालाई अधिकारसम्पन्न नबनाएसम्म, उनीहरुलाई एकतावद्ध गर्ने र आर्थिक रुपमा आन्तरिक र वाह्य स्रोत परिचालन गरेर देशलाई सम्पन्न नबनाएसम्म हामीले देशको राष्ट्रियता रक्षा गर्न सक्दैनौं ।

विदेशको असमान सम्वन्धको साङ्ला  चुडाल्न सक्दैनौं । भौगोलिक राष्ट्रवादका कुरा गरेर जनतालाई ठग्न सकिन्छ तर त्यस्तो नक्कली राष्ट्रवादले देश झन् खोक्रो हुने र पराधिन मात्रै हुन्छ, जुन अहिले भइरहेको छ ।

देशको विकास, समृद्धि राष्ट्रियता जस्ता कुरा दलगत राजनीतिक र नेताहरुका निजी स्वार्थ र अहंमभन्दा माथि हुनुपर्छ । राम्रो काम कुनै पनि सरकारले कुनै पनि व्यक्तिले सुरु गर्छ भने त्यसलाई एउटा राष्ट्रिय प्राथमिकतासहित निरन्तरता दिनुपर्छ ।

हाम्रो सन्दर्भमा त्यस्तो हुन सकिरहेको छैन । उदाहरणकै रुपमा  राष्ट्रिय गौरवको योजना मैले सुरु गरे र पहिलो प्राथमिकता निजगढको विमानस्थल, फाष्ट ट्रयाक, बुढीगण्डकी जलविद्युत लगायतका परियोजना हुन भनें । तर अहिले ती परियोजनाले त्यही ढंगको प्राथमिकता पाइरहेको छैन ।