BIZMANDU
www.bizmandu.com

विदेशी लगानीमा बनाउन सकिन्छ अन्तराष्ट्रिय विमानस्थल, राधेश पन्तको योजना

२०७१ फागुन २८

विदेशी लगानीमा बनाउन सकिन्छ अन्तराष्ट्रिय विमानस्थल, राधेश पन्तको योजना
विदेशी लगानीमा बनाउन सकिन्छ अन्तराष्ट्रिय विमानस्थल, राधेश पन्तको योजना

टर्किस विमान दुर्घटनाका कारण चार दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भयो । एउटा घटनाले चार दिनसम्म मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा देशकै वेइज्जत मात्र भएन, अर्थतन्त्रलाई अर्बौको क्षति पनि भयो । वर्षौदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कागजी चर्चा त भए तर माखो मारिएन । यति ठूलो घटना हुँदा पनि देशका कार्यकारी प्रमुखदेखि विभागीय मन्त्रीसम्मले न चासो देखाए न त पहिले नै कागजमा चर्चा गरिएको विमानस्थल निर्माणका लागि योजनानै प्रस्तुत गर्न सके । के राज्यले अर्को विमानस्थल बनाउनै सक्दैन त ? यही विषयमा बिजमाण्डूले सुरु गरेको श्रृखलामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको योजना
 
दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न सकिन्छ र हामी त्यसमा गृहकार्य गरिरहेका पनि छौं । लगानी बोर्ड आफैले त्यसका लागि ‘कन्सेप्ट पेपर’ तयार गरेको छ । तर हाम्रो समस्या हो, सरकारमा स्थायित्व ।
लगानी बोर्ड सञ्चालनमा आएपछि चार जना पर्यटन सचिव परिवर्तन भए, पाँच जना मन्त्री ।

Tata
GBIME
Nepal Life
राधेश पन्त, सिइओ
इन्भेष्टमेन्ट बोर्ड नेपाल

नयाँ मान्छे आएपछि विचार फरक पर्छ । उनीहरुलाई विषय बुझाउन समय लाग्छ । हामीले यो विषयमा निरन्तर फ्लोअप गरिरहेका छौं, प्रगति हुँदै नभएको होइन्, केही भएको छ, तर देखाउन मिल्ने गरी काम हुन सकेको छैन् ।
 

हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मिलेर लेखेको ‘कन्सेप्ट पेपर’ बोर्ड बैठकमा लैजाँदै छौं, त्यसैगरी तीन आयोजनासँग सम्वन्धित कागजातहरु पनि सरोकारवाला निकायसँग मागिरहेका छौं । त्यही हो, ती कागजात हामीले भनेको बेलामा पाएका छैनौं । 
 
जोडिएका तीन परियोजना
अहिलेसम्म मोटामोटी रुपमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमा बनाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ । हामी निजगढमा विमानस्थल बनाउँछौं भने त्यो आयोजनासँग तीन आयोजना जोडिएर आउँछन्, पहिलो हो, निजगढ आफै, त्यसपछि आउँछ निजगढ र काठमाडौंलाई जोड्ने फाष्ट ट्रयाक, तेस्रो हो, त्रिभूवन विमानस्थल ।

 

यी तीन परियोजना एक/अर्काका लागि परिपूरक हुन्, त्यसैले यी तीन परियोजनाका विषयमा एक साथ सोच्नुपर्छ  । निजगढमा दोस्रो विमानस्थल बनाउन सकिन्छ । त्यो बनेपछि त्यहाँको स्वभाविक रुपमा सबैभन्दा ठूलो ‘मुभमेण्ट’ काठमाडौंमा हुन्छ । निजगढमा अवतरण हुने वा त्यहाँबाट उड्ने दुवै यात्रुको ठूलो हिस्सा काठमाडौंसँग हुन्छ । 

ती यात्रुलाई मलेखु, मुग्लिन हुँदै निजगढ जाउ भन्न सकिंदैन्, त्यसका लागि हामीसँग काठमाडौं–निजगढ जोड्ने फाष्टट्रयाक चाहिन्छ । निजगढ विमानस्थल सञ्चालनमा आएपछि तिनै यात्रुका कारण फाष्टट्रयाकलाई पनि यात्रु चाप पुग्छ । त्यसपछि फाष्टट्रयाक पनि लगानीका हिसावले उपयुक्त हुन्छ ।

 

दोस्रो विमानस्थलसँग जोडिएको तेस्रो विषय हो, त्रिभूवन विमानस्थल । निजगढ विमानस्थल सञ्चालनमा आएपछि हामी त्रिभूवन विमानस्थलालाई के गर्छौं ? अहिलेसम्मको ‘लोडफ्याक्टर’लाई हेर्ने हो भने, नेपालमा एक साथ यी दुई विमानस्थल सञ्चालन गर्नु घाटाको व्यापार हुन्छ । त्यो अवस्थामा लगानीकर्ताले किन पैसा लगाउने ?

 

त्यसमाथि काठमाडौंको विमानस्थल सरकारले चलाउने, निजगढको विमानस्थल निजी क्षेत्रले चलाउन दिने हो भने, अहिले जसरी एनसेल र एनटिसिबीच अस्वस्थ प्रतिश्पर्धा छ । त्यो अस्वस्थ प्रतिश्पर्धा त्यहाँ पनि हुन्छ । त्यसले कसैलाई फाइदा पनि हुँदैन् ।

 

निजगढमा विमानस्थल सञ्चालनमा आएपछि त्रिभूवन विमानस्थललाई ‘भिभिआईपि’, संकटकालीन अवस्थामा अन्तराष्ट्रिय उडान गरेर आन्तरिक उडानका लागि मात्रै प्रयोग गर्न सकिन्छ । त्यो भएमा निजगढ ‘बिजनेश’का हिसावमा भायावल पनि हुन्छ ।
 
दुई एअरपोर्टको बण्डलिङ
अहिलेसम्मको हाम्रो आन्तरिक बहस र छलफलको निचोड हो, दुई विमानस्थल बण्डलिङ गर्ने, सँगै फास्टट्रयाकलाई पनि अघि बढाउने । केहीले दुई विमानस्थलसँगै फास्टट्रयाक पनि बण्डलिङ गरौं भन्छन्, तर मलाई त्यो सही विकल्प हुन्छ भन्ने लाग्दैन् ।

 

त्यसको एउटा कारण हो, एउटामा समस्या आयो भने तीन वटै परियोजना बन्दैन । बाटोमा समस्या आयो भने एयरपोर्ट नबन्ने । एयरपोर्टमा समस्या आए बाटो नबन्ने । फेरी बिजनेश, इन्जिनियरिङका हिसावले पनि एयरपोर्ट र बाटो फरक फरक क्षेत्र हुन् ।

 

सरकारले बनाउने हो भने त कुरै सकियो तर त्यो चल्दैन, नभए फास्टट्रयाक ग्यारेन्टी नगरीकन विमानस्थल निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने हो भने उनीहरुले कुनै हालतमा पनि इच्छा देखाउँदैनन् ।
 
सबैभन्दा पहिले टिआईए
निजगढमा विमानस्थल बनाउनका लागि हामीले निर्माण अघिका थुप्रै तयारी गर्नुपर्ने हुन्छ । एयरपोर्टका लागि हामी विज्ञ होइनौं, त्यसैले विज्ञबाट अध्ययन गराउन जरुरी छ । एअरपोर्टको मोडल कस्तो हुने, कसलाई बनाउन दिने, कुन मोडलमा सञ्चालन गर्ने । र निर्माण कहिले सक्ने ?

 

ती विषयमा टुङ्गो लगाउनु अघि, हामीसँग केही समय बाँकी छ । त्यसका लागि हामीले सबैभन्दा पहिले टिआइए स्तरोन्नति गर्नुपर्दछ । जसले निजगढ विमानस्थल बनाउने हो, त्यसलाई टिआईए स्तरोन्नतीको जिम्मा दियौं भने निजगढलाई पनि सजिलो हुन्छ ।

 

निजगढ बनिसक्दा निजी क्षेत्रले टिआइएबाट नाफा कमाउन थालिसकेको हुन्छ । उसले त्यो नाफा निजगढमा लगानी पनि गर्न सक्छ । कुनै पनि योजनामा अन्तिममा लगानी बैंकहरुले गर्छन । उनीहरुले पनि परियोजनाको दिगोपन र मुनाफामा लगानी गर्ने न हुन् ।

 

टिआइएका बारेमा सरकारले निर्णय गर्ने बेला आइसक्यो । अहिले पनि निर्णय गर्न सकिएन भने निजगढ विमानस्थलमा कसैले इच्छा राख्दैन ।  
 
उत्तम ‘पीपीपी’ मोडल
सरकारले दोस्रो विमानस्थल बनाउन नसक्ने होइन्, सक्छ तर, सरकारमा जवाफदेहिता छैन् । सबैभन्दा ठूलो कुरा, सरकारले टाइमलाइनमा काम गर्न सक्दैन । त्यति हुँदा हुँदै पनि, सरकारले बनाए हुन्छ तर त्यसलाई सञ्चालन गर्ने जिम्मा भने ख्याति कमाएका वाहिरका कम्पनीलाई नै दिनु पर्छ ।

 

नेपालले शिक्षामा, स्वास्थ्यमा ठूलो लगानी गर्नुपर्ने अहिलेको अवस्था छ । त्यस्तो अवस्थामा पुर्वाधारका आयोजना विकास गर्दा हामीले पीपीपीबाट गर्न सकिन्छ । पिपिपी मोडलमा गएपछि एउटै पाटीलाई बनाउने र व्यवस्थापन गर्ने जिम्मा दिनु हुँदैन ।

 

पूर्वाधार विकासमा मलेसिया, बैंककले पनि सुरुमै पीपीपी मोडलमा काम गरेका हुन् । पछि आफ्नो क्षमता पुगेपछि आफैले गर्न थाले । हामी पनि त्यही गर्न सक्छौं । मलेसियामा त्यही भएर अहिले सत् प्रतिशत रोजगारी छ । 

 

हामीले वाहिरका लगानीकर्तालाई परियोजना बनाउन दिनु पर्छ । अपर कर्णाली नै हेरौं न । त्यो प्रोजेक्टको ‘फाइनान्सियल क्लोजर’ भएको पाँच बर्षमा बन्छ । फाइनान्सियल क्लोजर भएन भने हामी त्यसको लाइसेन्स लिन्छौं । 

 

मान्छेको बुझाई के छ भने, पीपीपी(सार्वजनिक निजी साझेदारी) भनेको वाहिरको परियोजना हो, यो परियोजना देशबाट बाहिर जान्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण माथिल्लो कर्णाली हो । 

 

परियोजना जिएमआरले बनाउँदैछ, तर हामीले सम्झौता भारतको जिएमआरसँग गर्ने हो र ? होइन नि हामीले जिएमआरको लगानीमा नेपालमा खोलिएको कम्पनीसँग गर्ने हो । माथिल्लो कर्णालीमा हामीले अहिलेदेखि नियमन, मूल्यांकन गरिरहेका छौ‌‌ । ताकी त्यो योजना राम्रो बन्नुपर्यो । २५ बर्षपछि हामीले पाएपछि बाँकी ७५ बर्षसम्म राम्रोसँग टिकाएर चलाउन सकियोस् । 

 

एयरपोर्ट पनि त्यही हो । एयरपोर्ट त अझ कम १५/२० बर्षपछि फिर्ता लिन सक्छौं । यो लिज मात्रै गरेको हो । 
 
विदेशी लगानी आउँछ

 
विदेशी लगानीकर्ता यहाँ आउन तयार छन् । हामीले जोखिम लियौं भने उनीहरु आउँछन् पनि । पूर्वाधार परियोजनामा लगानी गर्न विदेशका कयौं पेन्सन फण्डहरु तयार छन् । बैंकहरु तयार छन्, लगानीकर्ताहरु तयार छन् । उनीहरुलाई थाहा छ, पूर्वाधार आर्थिक विकासको इन्जिन हो, दक्षिणपूर्वी एशियाली मुलुक लगानीकर्ताका लागि स्वर्णभूमि ।

 

जलविद्युत परियोजनामा ठूला कम्पनीले नेपालमा काम थालेका छन्, माथिल्लो कर्णालीमा जिएमआरसँगै आईएमएफले लगानी गर्दैछ । अरुण तेस्रोमा सतलज छ, पश्चिम सेतीमा चिनियाँ लगानीकर्ता लगानीका लागि तयार छन् । अनि फाष्टट्रयाक, एयरपोर्टमा किन लगानीकर्ता आउँदैन् ?

 

हो, ती लगानीकर्ताका लागि सरकारले पनि जोखिम लिनु पर्छ । हामीले लगानीकर्तालाई यहाँ बन्द हुँदैन, निर्माणमा कुनै खालको अवरोध हुँदैन भनेर प्रत्याभूति दिनु पर्छ । 

 

होइन भने, लगानीकर्तालाई हामी भनिदिउँ, अहिले तपाईंलाई परियोजना दिन सक्दैनौं,  बरु १० बर्षपछि आउनुस् । त्यसबेलासम्म संविधान पनि बनिसक्छ, नीति बनाउँछौं, त्यतिवेलासम्म हामी एउटा सिस्टम पनि बनाइसक्छौं । 

 

नेपालमा विदेशी लगानी खुला छ भनेर भाषण गर्ने तर यहाँ काम गर्ने वातावरण नदिने, सरकारले जोखिम नलिने हो भने ठूलो परियोजना नेपालमा कहिल्यै पनि बन्दैन्, त्यस्तै सोच्ने हो भने, देश पनि बन्दैन ।
 
सरकार जवाफदेही छैन्
म फेरी पनि भन्छु, सरकारले स्रोत जुटाउन नसक्ने होइन्, तर बनाउन सक्दैन कि भन्ने शंका संधै रहन्छ । पहिलो हामीले अहिलेसम्म ठूला ठूला निर्माणका काम गरेका छैनौं । अहिलेसम्म सरकारले ५०/६० अर्बको कुनै पनि परियोजना बनाएको छैन् ।

 

तर निजी क्षेत्र भने नाफाबाट प्रेरित हुन्छ । त्यही भएर उनीहरुले चाँडै बनाउनतिर ध्यान दिन्छन् । ढिलो भयो भने उहीहरुलाई घाटा हुन्छ । तर प्रायजस्तो सरकारमा त्यो हुँदैन । त्यस खालको जवाफदेहीता सरकारमा छैन । चार दिन विमानस्थल बन्द भयो के सरकार त्यसमा जवाफदेहि भयो ? 

 

बुधवार बिहानै टर्किस एयरवेजको जहाज रनवेमा दुर्घटना भयो । वेलुका मात्र हामीले भारतलाई भन्यौं, हामीले निकाल्न नसक्ने भयौं, विमान पठाइदेउ । निजी क्षेत्र भएको भए केही घन्टैमा पहल सुरु गरिसक्थ्यो । त्यति मात्रै होइन्, उसले त केही विकल्पहरु त पहिले नै सोचेर राखिसकेको पनि हुन्थ्यो । यो दुर्घटनाले देशलाई ठूलो नोक्शानी भयो । हाम्रो वेइज्जत पनि भयो । निजी क्षेत्रले टिआईए सञ्चालन गरेको भए हामी उसलाई निर्देशन दिएर, दवाव दिएर पनि समाधान खोज्न सकिन्थ्यो । 

 
क्षेत्रीय विमानस्थलले असर गर्दैन् ?
हामीले अहिले पोखरा र भैरहवामा दुई वटा क्षेत्रीय परियोजना बनाइरहेका छौं, विदेशी लगानीकर्तालाई लाग्ला यी क्षेत्रीय विमानस्थल बनेपछि अन्तराष्ट्रिय विमानस्थललाई असर त गर्दैन् ? 

 

हामीले उनीहरुलाई के बुझाउन सक्नुपर्छ भने पोखरा र भैरहवा विमानस्थलमा हुने ट्राफिकले अन्तराष्ट्रिय विमानस्थललाई धेरै प्रभाव पर्दैन । पर्दा पनि पर्दैन । क्षेत्रीय एयरपोर्ट भएकाले कुल ट्राफिकको तीन देखि छ प्रतिशत मात्र ट्राफिक त्यहाँ हुन्छ । त्रिभूवन र निजगढ एयरपोर्टलाई असर पर्ने गरी अर्को अन्तर्राष्ट्रिय एयरपोर्टतिर हामी लाग्दैनौं भनेर हामीले कमिटमेन्ट पनि गर्नुपर्छ ।
हामीलाई विज्ञ पनि चाहिन्छ
एउटा कुरा एयरपोर्ट बनाउने भन्ने हो । तर महत्वपूर्ण कुरा भनेको त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो । एयरपोर्ट सफा हुनुपर्‍यो, स्वागत राम्रोसँग गर्न सक्नुपर्‍यो । त्यसकारण हामीसँग अहिले विमानस्थल सञ्चालनको ‘एक्सपर्टिज’ छैन्, हामीले तत्काल त्यो ‘एक्सपर्टिज’ ग्रहण गर्ने सम्भावना पनि छैन ।
 
विश्वमै एयरपोर्ट सञ्चालन सम्वन्धि एकसपर्टिज हाँसिल गरेका १२/१५ कम्पनी मात्रै छन् । दिल्लीको जिएमआरको उदाहरण हेरौं, बनाउन त जिएमआरले बनायो तर त्यसको व्यवस्थापन सिंगापुर, अष्ट्रेलियाका मान्छे छन् ।

 

त्यसपछि बैंकक, सिंगापुरको एयरपोर्ट पनि हेरौं । विमानस्थको आम्दानी दुई प्रकारको हुन्छ, एउटा हो एरोनोटिकल आम्दानी, दोस्रो हो गैरएरोनोटिकल आम्दानी । ठूला एयरपोर्टमा कम्तिमा पनि ५० प्रतिशत (अझ वढी पनि हुनसक्छ) आम्दानी विमान व्यवस्थापनबाट होइन, अन्य व्यवसायिक कृयाकलापबाट आउँछ । 

 

त्यहाँ पसल होला, रेस्टुरा होला, एयरपोर्टमा समय हुन्छ, सबैले पैसा बोकेको हुन्छ । कसैले पानी किन्ला, कसैले वियर खाला, कसैले सपिङ गर्ला । जे भए पनि  खर्च त गर्छ । तर टिआईएमा के छ जम्मा १८ प्रतिशत मात्रै त्यस्तो आम्दानी हुन्छ । बाँकी आम्दानी त एरोनोटिकल रेभेन्यु हो । 
 
एयरपोर्टको विड गरौं 
नेपालमा सबैले सबै कुरा जान्नुपर्छ । पढेको हुन्छ, आर्टस तर त्यो व्याक्तिले चिकित्सकले दिने सुझाव पनि दिन्छ, परि आए इन्जिनियर पनि बन्छ । अन्तराष्ट्रिय विमानस्थलका विषयमा धेरै छलफल भइसकेको छ । 

 

छलफल हुँदा सबैको आ–आफ्नो विचार हुन्छ, तर महत्वपूर्ण कुरा हामी त्यसको विज्ञ होइनौं । हामीले यहाँ बसेर निर्णय गरेर हुँदैन । बाहिरबाट एक्पर्ट लिएर आऔ त्यसपछि निर्णय प्रक्रिया सुरु गरौं । 
 
हामीले प्रोजेक्ट बनाउन समय तय गरौं, तर बनाउन थाल्दा पर्फेक्ट बनाउँ । विज्ञहरुसँग बसेर डकुमेन्ट बनाउँ । हामीलाई अझै पनि पाँचदेखि १० बर्ष यस्ता विषयमा अन्तर्राष्ट्रिय विज्ञहरु चाहिन्छ । ठीक छ, त्यसपछि हामी आफै पनि गर्न सकिन्छ । 

 

आयोजना निर्माणको जिम्मा विड गराएर दिनु पर्छ । विड गराउँदा आत्मवल पनि आउँछ । प्रोसेसबाट काम हुँदो रहेछ भन्ने सन्देश पनि लगानीकर्तामा जान्छ । यसबाट प्रश्न पनि उठ्दैन । विडिङमा हामी हाम्रा सर्तहरु राख्न सक्छौंं । कसैलाई जिम्मा दिंदा उसको सर्तले हामी थिचिन्छौं । 

 

हामीले जतिसक्दो चाँडो एयरपोर्ट बनाउनु पर्छ । जसले चाँढो बनाउँछ उसले चाँढो बजार पनि पाउँछ । 
 
राजनीति नगरौं  
नेपालमा पनि जुनसुकै विषयमा अनावश्यक राजनीति हुन्छ । निजी क्षेत्रलाई विमानस्थल सञ्चालनको जिम्मा दिनुको अर्थ यो होइन, राष्ट्रिय सुरक्षा, अध्यागमन, भन्सार, टावरको जिम्मा पनि निजी क्षेत्रलाई दिने । हामीले लिजमा एयरपोर्ट मात्र दिने हो, त्यहाँ हुने व्यवसायिक आस्पेक्ट मात्र उनीहरुलाई दिने हो । सुरक्षा र संवेदनशिल विषयको जिम्मा फेरी पनि सरकारसँगै हुन्छ ।