काठमाडौं । केही वर्षअघिसम्म ग्रामिण क्षेत्रमा मात्रै जडान हुने सौर्य उर्जा अहिले सहरमा स्थान जमाउन थालेको छ । सहरका धेरै घर तथा कार्यालय सौर्य उर्जामा भर पर्न थाले ।
लोडसेडिङका कारण सहरी उपभोक्ता समेत सौर्य उर्जामा आर्कषित भएका छन् भने बैंक तथा वित्तीय सस्था र कर्पोरेट हाउस समेत सौर्य उर्जाबाटै कार्यालय संचालन गर्न थालेका छन् ।
‘अहिले गाउँमा भन्दा शहरमा सौर्य उर्जाप्रति उपभोक्ताको आर्कषण देखिएको छ,’ सिप्रदीका भाइस प्रेसिडेन्ट राजनबाबु श्रेष्ठले बिजमान्डूसँग भने, ‘हामी यो व्यवसायमा छिरेपछि गाउँ भन्दा शहरलाई फोकस गर्यौं, यसले बजार पनि विस्तार भयो ।’
सिप्रदी समूह अन्तर्गतको सिप्रदी इनर्जी सन् २०१० मा वैकल्पिक उर्जामा आएपछि यसले बजार विस्तार मात्रै गरेन सौर्य उर्जालाई विश्वसनीय समेत बनाउन सहयोग पुग्यो । कम्पनीको प्रवेशसँगै सौर्य उर्जाको कारोबार समेत बढेको छ । अहिले सौर्य उर्जाको कुल कारोबार तीन अर्बको छ ।
कम्पनीले शहरी उपभोक्ता, व्यवसायिक घराना, बैंकसँगै सरकारी निकायमा समेत सौर्य उर्जा जडान गरेको छ । कम्पनीले राष्ट्रपति कार्यालयको गेटको स्ट्रिट लाईटका लागि १४.५ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरेको छ ।
कम्पनीले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा ४० किलोवाटको सौर्य उर्जा जडान गरेको छ । केन्द्रले सबै काम सौर्य उर्र्जाबाट संचालन गर्छ । कम्पनीले गैरसरकारी संस्था हेल्भिटास्मा १४.७ किलोवाटको सौर्य उर्जा जडान गरेको छ ।
दरवारमार्गको सडक वत्ती समेत यही कम्पनीले जडान गरेको हो । भेगा फर्मासिटिकल्स, पुनरावेदन अदालत पाटन, निर्धन उत्थान बैंक, सिभिल बैंक लगायतमा कम्पनीले सौर्य उर्जा जडान गरिसकेका छन् ।
‘पछिल्लो समयमा बैंक र व्यवसायिक घरानाले सौर्य उर्जा जडानका लागि प्रस्ताव गरिरहेका छन्,’ भाइस प्रेसिडेन्ट श्रेष्ठले भने । कम्पनीले सुरु गरेको जनचेतना कार्यक्रमले शहरी क्षेत्रमा सौर्य उर्जामा आर्कषण बढाएको हो ।
‘सौर्य उर्जा महँगो र लामो समय टिक्दैन भन्ने भ्रम थियो, हामी आउने वित्तिकै सौर्य उर्जाको बारेमा रहेको भ्रम हटाउन जनचेतना जगाउने काम गर्यौ,’ उनले भने, ‘हाम्रो टिमले बिक्रीलाई मात्रै ध्यान दिएन, बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राख्यौ । यसले सौर्य उर्जाको बजार विस्तारमा सघाउ पुर्यायो ।’ सौर्य उर्जा एक युनिटको १५ रुपैयाँ पर्छ जवकी डिजल जेनेरेटरबाट उत्पादन गर्दा तीस रुपैयाँसम्म लागत पुग्छ । ग्राहककोमा समस्या देखिए कम्पनीले गर्न एक घन्टामा प्राविधिक टोली पठाउने गरेको छ ।
‘ग्राहकले समस्याको जानकारी दिएको एक घन्टामै प्राविधिक टोली पुग्ने व्यवस्था गरेका छौं । प्राविधिकले तत्कालै समस्या समाधानको प्रयास गर्छ,’ श्रेष्ठले भने, ‘उपभोक्ताको सन्तुष्टी हाम्रो पहिलो प्राथमिकता हो ।’ कम्पनीको देशभर एक सय ४० डिलर सञ्जाल छ । यो सञ्जालसँग रहेको प्राविधिक टीमले तत्कालै समस्या सम्बोधनको प्रयास गरेको छ । कम्पनीले सोलार जडान गरेका स्थानमा प्यानल सफा गर्न समेत आफ्ना कर्मचारी पठाउने गरेको छ ।
‘प्यानल सफा नहुँदा सोलार राम्रोसँग चल्दैन । यसले सौर्य उर्जाको बजारनै प्रभावित बनाएकोले हामीले यो सेवा सुरु गरेका हौ,’ श्रेष्ठले भने, ‘यसले उपभोक्ताको विश्वास समेत बढेको छ ।’ सिप्रदीले गुणस्तरीय उत्पादन ल्याएर बिक्री थालेकोले विश्वास बढेको हो । कम्पनीले एन्ड्रोमेडाको प्यानल प्रयोग गर्दै आएको छ । युरोपेली बजारमा प्रयोग हुने यो सोलार प्यानल संसारमै अग्रणी मानिन्छ ।
‘सोलारमा गुणस्तरीय सामान प्रयोग गरेका छौं । चीनका कमसल प्यानल प्रयोग गर्दा बजारसँगै हाम्रो ब्रान्डलाई समेत असर गर्छ भन्ने लागेर गुणस्तरीय सामान प्रयोग गरेका हौ,’ उनले भने, ‘हामीसँग आउट व्याक पावरसँग सहकार्य गरिरहेका छौ । यसले व्याकअप पावरमा वेन्चमार्क स्थापना गरेको छ ।’ कम्पनीसँग स–सानादेखि मेगावाटसम्म सौर्य उर्जा स्थापना गर्नसक्ने क्षमता छ । तर ठूलो उर्जा उत्पादनको लागि सोलार प्यानल राख्ने जग्गा आवश्यक पर्छ ।
‘हामी ठूलो क्षमतामा सौर्य उर्जा उत्पादन गर्न सक्छौ । विदेशी साझेदारसमेत काम गर्न तयार छन्,’ भाइस प्रेसिडेन्ट श्रेष्ठले भने, ‘तर यसका लागि जग्गा चाहिन्छ । सरकारले प्यानल राख्ने जग्गा भाडामा दिने नीति ल्याउन आवश्यक छ ।’
कम्पनीले सामुदायिक विद्युतीकरणमा जाने योजना समेत बनाइरहेको छ । युरोपेली र चिनियाँ लगानीकर्ता ठूला परियोजनामा लगानी गर्न तयार रहेको श्रेष्ठले बताए । फिनिस कम्पनीसँग मिलेर दुईवटा योजना अगाडी बढाउन लागेको जानकारी उनले दिए । विश्व बैंकले २५ मेगावाटको सौर्य उर्जाका लागि सहायता दिन सरकारसँग सम्झौंता छ । यो संझौताले सौर्य उर्जाको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने उनले बताए ।
‘यो संझौता सौर्य उर्जा क्षेत्रको लागि माइलस्टोन हो । यसले ठूलो परिवर्तन ल्याउने विश्वास छ,’ श्रेष्ठले भने, ‘सौर्य उर्जाको बजार विस्तार हुनेमा विश्वस्त छौ ।’ कम्पनीले सम्भाब्यता हेरेर प्यानलनै स्वदेशमा बनाउने पनि योजना बनाइरहेको छ ।
‘आर्थिक रुपमा सम्भाब्यता देखिएमा स्वदेशमै प्यानल बनाउन थाल्छौ । यसका लागि हामीले अध्ययन समेत गरिसकेका छौ,’ उनले भने, ‘निर्माणको लागि कुनै समस्या छैन ।’ सौर्य उर्जालाई लोडसेडिङको विकल्प मात्रै नभएर व्यवसाय गर्ने आधार समेत भएको श्रेष्ठले बताए ।
‘ग्रिड कन्नेक्सन पोलिसी आउनेवितिकै घरायसी उपभोक्ताले घरमा उत्पादन भएको विजुली बिक्री गर्न पाउँछन्,’ उनले भने, ‘चाहिएको विजुली चलाउने र नचाहिएको बेलामा बिक्री गर्न पाउने व्यवस्था हुन्छ ।’