BIZMANDU
www.bizmandu.com

वैशाखभित्रै बजेट पेश गर्ने अर्थमन्त्री मन्त्रालयको तयारी, पूर्वाधारका आयोजनालाई निरन्तरता

२०७१ फागुन २१

वैशाखभित्रै बजेट पेश गर्ने अर्थमन्त्री मन्त्रालयको तयारी, पूर्वाधारका आयोजनालाई निरन्तरता
वैशाखभित्रै बजेट पेश गर्ने अर्थमन्त्री मन्त्रालयको तयारी, पूर्वाधारका आयोजनालाई निरन्तरता

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आर्थिक बर्ष २०७२।७३ को बजेट आगामी वैशाखभित्र पेश गर्ने गरी तयारी गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय तयारीका काम तिब्र बनाउन उनले अर्थमन्त्रालय अन्तर्गतका कर्मचारीलाई  निर्देशन दिएका हुन् ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्रालयमा बिहीबार कर्मचारीलाई बोलाएर उनले निर्देशन दिएको मन्त्रालयले जनाएको छ । हाल शुरु गरिएका विकास निर्माण तथा पूर्वाधारका कामहरुलाई पूरा गर्दै जाने सोचका साथ आगामी आर्थिक बर्षको बजेट निर्माण गर्ने जानकारी पनि अर्थमन्त्रीले दिएका छन् ।

‘शीघ्र बजेट भनेर जहिले पनि भन्ने तर प्रस्तुत गर्ने समय असारमा नै पुग्ने गरेको कारण  र विकास निर्माणका कामहरुको खर्च हुन नसकिरहेको अवस्था छ, अर्थमन्त्री महतले भने, अहिले फेरि मन्त्रालयको तर्फबाट हामीले वैशाखभित्रै बजेट प्रस्तुत गर्ने तयारी अवस्थामा रहनुपर्छ । हाम्रो प्रयास शीघ्र बजेट प्रस्तुत गर्नेमा हुनुपर्छ ।’
 
अर्थमन्त्रीले बजेट निर्माणमा कार्यसूची बनाएरै तयारीका काम अगाडि बढाउन निर्देशन पनि दिए । उनले अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि निर्देशन दिए । जथाभावी कार्यक्रमहरु समावेश नगर्न भन्दै उनले संभाब्यता अध्ययन भैसकेका र कार्यान्वयनमा आउन योग्य कार्यक्रम अगाडि बढाउन सुझाव दिए । उनले कर्मचारीलाई भने ‘टुक्रे कार्यक्रमहरुलाई बजेटमा धेरै ठाउँ नदिनुहोस ।’

काठमाडौ र तराईलाई जोड्ने द्रतमार्गको सम्झौता अगाडि बढाउन पनि उनले निर्देशन दिएका छन् । सम्झौता सफल भएन भने सरकार आफैले पनि यो आयोजना निर्माण गर्नुपर्ने अर्थमन्त्रीले बताए ।

विकास निर्माणका लागि छुट्याएको बजेट निकासामा अर्थमन्त्रालयको तर्फबाट कुनै ढिलाई नगर्न भन्दै खर्च हुन सके नसकेको निगरानी गर्न निर्देशन दिए । राजस्व असूलीको लक्ष्य पुग्ने भएपनि भ्याटमा कडाइ गर्न पनि उनले निर्देशन दिएको अर्थमन्त्रालयले जनाएको छ ।  छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालय अन्तर्गतका सबै महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।