सरोज काफ्ले/विज्ञान अधिकारी
काठमाडौं । १० भदौ २०६४ मा मध्यपश्चिमाञ्चलमा नयाँ कम्पनी खोलेर टेलिफोन सेवा विस्तार गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले बोलपत्र आव्हान गर्यो । बोलपत्र आव्हान गरेको छ महिनापछि ११ फागुन २०६४ मा त्यसको लाइसेन्स अजयराज सुमार्गी मुख्य प्रवद्र्धक भएको कम्पनी नेपाल स्याटेलाइटले प्राप्त गर्यो ।
कम्पनीलाई मध्यपश्चिमका २७३ गाविसमा सेवा विस्तार गनुपर्ने शर्त थियो । ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्ने शर्त भन्दै नेपाल स्याटेलाइटलाई जम्मा २५ लाख रुपैयाँमा यो लाइसेन्स दिइएको थियो ।
मुक्तिश्री प्रालीका तर्फबाट लगानी घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अजय सुमार्गी (फाइल तस्वीर)
नेपाल स्याटेलाइटले जिएसएम तथा सिडिएमए दुवै प्रविधिमा सेवा विस्तारको अनुमति पाएको थियो । गाउँमा सेवा पुर्याइसकेपछि देशभर क्षेत्र विस्तार हुने लचिलो प्रावधान पनि राखियो । नेपाल स्याटेलाइटले अनुमति पाएको डेढ वर्षपछि ‘हेलो नेपाल’ ब्राण्डमा ८ असोज २०६६ मा सेवा सञ्चालनमा ल्यायो ।
काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दाङमा रहेका माओवादी अध्यक्ष प्रचण्डसँग हेलो नेपालमार्फत कुराकानी गरे, सेवा सुचारु भयो । त्यसपछि सुरु भयो अजय सुमार्गीको उदय, उनले यही कम्पनीबाट छाप्न थाले नोट, आउन थाल्यो साइप्रस र व्रिटिस भर्जिन आइल्याण्डबाट अर्बौं रुपैयाँ । कसरी ?
स्पाइस नेपाल (हालको एनसेल) सुरु हुँदा प्रमुख कार्यकारी अधिकृत रहेका सुमार्गीसँग त्यसको केही वर्ष भित्रै आफ्नै ब्राण्ड ‘हेलो नेपाल’ थियो । हेलो नेपाललाई सञ्चालन गर्दथ्यो, नेपाल स्याटेलाइट कम्पनी ।
नेपाल स्याटेलाइटका मालिक थिए सुमार्गीको अर्को कम्पनी मुक्तिश्री प्रा.ली, साइप्रसमा दर्ता भएको एयरवेल सर्भिसेस प्रा.ली., सुमार्गीकी श्रीमती सम्झना अर्याल, पाकिस्तान मोवाइल कम्युनिकेशन र सेवा टेलिकम, बंगलादेश ।
साइप्रसमा आफ्नै कम्पनी एयरवेल सर्भिसेस प्रा.ली. खोलेर सुमार्गीले त्यसमार्फत नेपाल स्याटेलाइटको ५० प्रतिशत सेयर लिएका थिए । यतिबेला मुक्तिश्रीसँग ४० प्रतिशत सेयर थियो, पाँच प्रतिशत सेयर श्रीमती सम्झनासँग थियो भने पाकिस्तान मोवाइलसँग तीन र सेवा बंगलादेशसँग नेपाल स्याटेलाइटको दुई प्रतिशत सेयर थियो ।
नेपाल स्याटेलाइट सञ्चालनमा ल्याए पनि यो आक्रमक बजार रणनीतिमा थिएन्, बजार विस्तार पनि सुस्त थियो । यसको अर्थ थियो, सुमार्गीले एनसेलमा जसरी आफ्नो ‘माइनोरोटी’ सेयरलाई अर्बौं रुपैयाँमा ‘कन्भर्ट’ गरेका थिए, त्यसैगरी झण्डै सित्तैमा आफ्नो स्वामित्वमा आएको नेपाल स्याटेलाइटको सेयर पनि विक्री गर्ने । सन् २०११ मा उनले त्यो प्रक्रिया सुरु गरे ।
उनले त्यसका लागि स्वभाविक क्रेताका रुपमा एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेरा देखे । टेलियासोनेरा पनि यति बेला आक्रमक रुपमा बजार विस्तारमा थियो । सन् २००८ मा वेष्ट इन्डिजमा रहेको कम्पनी रेनोल्ड होल्डिङसको मेजोरोटी सेयर लिएर स्पाइस नेपालमार्फत टेलियासोनेरा नेपालमा छिरेको थियो, ठीक त्यतिवेला कम्पनीले एनसेलमा सेयर स्वामित्व र लगानी दुवै बढाउँदै गएको पनि थियो ।
एनसेल मात्रै होइन् टेलियासोनेराले कम्बोडिया, उज्वेकिस्तान, माल्डोभा, ताजकस्तान, जर्जिया लगायतका देशमा टेलिकम कम्पनीको सेयर किन्ने, बेच्ने गतिविधि तिव्र रुपमा बढाइरहेको थियो । यसको नेतृत्व गरिरहेका थिए, टेलियासोनेराका तत्कालीन सिईओ लार्स नैवर्ग र युरोएशियाको नेतृत्व गरिरहेका तेरो किभिसारी ।
लार्स र किभिसारी(उज्वेकिस्तान नेपाल लगायतको सेयर खरिद विक्रीमा गडबढी गरेको पाइएपछि कम्पनीबाट हटाइएका)सँग सुमार्गीको स्पाइस नेपालको सेयर खरिद विक्री हुँदादेखि नै चिनजान थियो । उनले लार्स र किभिलाई नेपालमा एनसेलसँगै नेपाल स्याटेलाइट चलाउन सुझाव दिए ।
यही प्रक्रियामा सन् २०११ मा ३५०४८/०६१/०६२ काठमाडौंमा दर्ता रहेको नेपाल स्याटेलाइट टेलिकम कम्पनीको ५० हजार कित्ता सेयर टेलियासोनेराको स्वामित्वमा गयो । यो सेयर नेपाल स्याटेलाइटको ५० प्रतिशत सेयर स्वामित्व भएको कम्पनी एयरवेल सर्भिसमार्फत लिइएको थियो ।
त्यतिवेला टेलियासोनेराको भातृ कम्पनी टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एज नर्वेले एयरवेलको ५१ प्रतिशत स्वामित्व लिएको थियो । यो स्वामित्व खरिद गर्न टेलियासोनेराले सन् २०११ मा १७ करोड ४० लाख स्विडिस क्रोनर (अहिले दुई अर्ब चार करोड रुपैयाँ) खर्च गरेको थियो ।
त्यसको अर्को वर्ष सन् २०१२ मा नेपाल स्याटेलाइटको सेयरमा पुर्नसंरचना गरियो । यतिवेला नेपाल स्याटेलाइटको ५० प्रतिशत स्वामित्व भएको एयरवेल सर्भिससँग ७५ प्रतिशत स्वामित्व पुगेको थियो । मुक्तिश्रीको सेयर स्वामित्व ४० प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको थियो ।
२६ अप्रिल २०१२ मा टेलियासोनेराले नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व भएको कम्पनी एयरवेलको बाँकी ४९ प्रतिशत सेयर पनि किन्यो । यो कारोवार झण्डै ३० करोड स्विडिस क्रोनर(तीन अर्ब ५० करोड रुपैयाँ)मा भएको थियो । सेयर खरिद विक्री गर्दा नेपाल स्याटेलाइटको मूल्यांकन झण्डै १८ अर्ब रुपैयाँ गरिएको थियो ।
एयरवेल किन्दा भुक्तानी भने ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको कम्पनी जोधर इन्भेष्टमेण्टलाई गरिएको थियो । जोधर एयरवेलको सेयर बेचेवापत पाएको रकम भुक्तानी लिन सुमार्गीले ब्रिटिस भर्जिन आइल्याण्डमा खोलेको कम्पनी थियो ।
सुमार्गीसँग भएको नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर स्वामित्व टेलियासोनेराले किनेपछि त्यसको जानकारी दिन टेलियासोनेराका सिईओ लार्स सन् २०१२ को जुलाई तेस्रो साता काठमाडौंमा आए । उनले पत्रकार सम्मेलन गरेर नेपाल स्याटेलाइटलाई रिब्राण्डिङ गर्ने घोषणा समेत गरे ।
एनसेल सञ्चालन गरिरहेको टेलियासोनेराले नेपाल स्याटेलाइटको सेयर खरिद गरेपछि सुरु भयो क्रसहोल्डिङको विवाद । यो विवाद लामो समय चल्यो, विवादका कारण टेलियासोनेरले नेपाल स्याटेलाइटको पूर्वाधार विकास लगानी पनि गर्न सकेन ।
बरु यतिबेलासम्म नेपाल स्याटेलाइटमा काम गरिरहेका कर्मचारीलाई आन्दोलनका बाबजुत पनि हटाइसकिएको थियो । नेपाल स्याटेलाइटको अध्यक्षका रुपमा रहेकी सुमार्गी पत्नी सम्झना अर्याल पनि अध्यक्षबाट हटिसकेकी थिइन् । उता लार्सले पनि जागिर छाड्नु पर्यो । तेरो किभिसारी युरोएशियाबाट हेडक्वाटर तानिए ।
टेलियासोनेराको नयाँ बोर्डले लार्स र किभिसारीले गरेका खरिद र एक्विजीशनका विषयमा नर्टन रोज फुलब्राइटबाट अडिट गराउने निर्णय गरे । क्रस होल्डिङको विषय लम्बिरहेको थियो । नेपालबाट एनसेलको उपल्लो तहमा काम गर्ने कर्मचारी पनि नेपाल स्याटेलाइट खरिद उचित नहुने सुझाव दिइरहेका थिए ।
अन्तत सन् २०१३ को सेप्टेम्वर ११ मा टेलियासोनेराले नियामक निकायको अस्थिर निर्णय, कानूनी वातावरण देखाउँदै नेपाल स्याटेलाइटको सेयर स्वामित्व भएको कम्पनी एयरवेल जोधर इन्भेष्टमेन्टलाई नै विक्री गर्ने निर्णय गर्यो । यो कारोवारका लागि टेलियासोनेराले नर्टन रोज फुलब्राइट, केएण्डएल गेट्स तथा युबिएसलाई प्रिन्सिपल एडभाइजर नियुक्त गरेको थियो ।
टेलियासोनेराले नेपाल स्याटेलाइटको सेयर ‘सेल व्याक’ गर्दा ४० करोड स्विडिस क्रोनर (झण्डै पाँच अर्ब रुपैयाँ) घाटा लागेको जानकारी पनि ११ सेप्टेम्वर २०१३ मा दिएको छ । टेलियासोनेरालाई घाटा लाग्नुको अर्थ हो, सुमार्गीलाई नाफा । यसको अर्थ २५ लाख रुपैयाँमा किनेको लाइसेन्सबाट सुमार्गीले मुक्तिश्री, एयरवेल, टेलियासोनेरा, जोधर हुँदै पाँच अर्ब रुपैयाँ खुद मुनाफा गरे ।
नेपाल आयो पैसा
सुमार्गीले बेलाबेलामा साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको कम्पनी जोधरबाट नेपालमा पैसा ल्याउँदै आएका थिए । यी दुई कम्पनीबाट गतवर्ष सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा साढे तीन अर्ब रुपैयाँ आइपुग्यो ।
ठूलो मात्रामा रकम आएपछि बैंकले त्यसका विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिए । त्यसपछि केन्द्रिय बैंकले रकमका वारेमा सोधपुछ गर्न थाल्यो । जुन रकम अहिले पनि दुई बैंकमा थन्किएर बसेको छ ।