काठमाडौँ । माघ २१ गते नयाँ बानेश्वरको आइएमइ बैँकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा एक ग्राहकको १८ लाख रुपैयाँ लुटियो। प्रहरीले अहिलेसम्म लुटेराको पहिचान गर्न सकेको छैन।
बैँक तथा वित्तीय संस्थाहरुबाट रकम निकाली बाहिर निस्केन क्रममा बैँकको कम्पाउन्डभित्रै र गेट बाहिर लुटिएको यो पहिलो घटना होइन।
बारम्बार यस्ता घटना बढेपछि प्रहरीले बैँकका कमिकमजोरी खुलाउँदै आवश्यक सुरक्षा व्यवस्था अपनाउन सचेत गराएको छ।
प्रहरीले देखाएका कमिकमजोरी यस्ता छन्-
सिसिटिभी नगद काउन्टरमा मात्र
बैंकहरुमा सिसिटिभी त हुन्छ। तर ती सब आफ्नो नगद (क्यास) काउन्टरमा मात्र लक्षित हुन्छन्। सिसीटिभीले भवन प्रवेशको गेटबाहिर र बैंकभित्र ग्राहक प्रतिक्षा गर्ने स्थानलाई समेत कभर नगरेको, बैंकको आफ्नै पार्किङ एरियामासमेत सिसीटिभी राखेका हुँदैनन्। यसले सेवाग्राहीले काउन्टरबाट रकम बुझिसकेपछि उनीहरुबाट लुट्नेहरुको पहिचानमा समस्या हुने गरेको छ।
प्रहरीले अबदेखि काउन्टरमा मात्र नभई बैंकको गेट तथा कम्पाउन्ड, पार्किङ स्थलको समेत कभरेज हुने गरी सिसीटिभी जडान गर्न बैँकहरुको छाता संस्था नेपाल बैँकर्स एसोसिएसनलाई पत्र नै लेखेको छ।
प्रहरी वरिष्ठ उपरिक्षक उत्तमकुमार कार्कीका नाममा जारी भएको पत्रमा बैंकमा सात वटा सुरक्षासँग सम्बन्धित कमिकमजोरीहरु पनि औंल्याएको छ।

प्रवेश गर्नेलाई मात्रै निगरानी
बैंकमा प्रवेश गर्ने ग्राहकहरुलाई मात्र सुरक्षागार्डहरुले निगरानी गर्ने गरेको तर बैंकबाट बाहिर निस्कने ग्राहक र पार्किङतर्फ गएका ग्राहकहरुमाथि निगरानी गर्ने नगरेको त्रुटी पनि प्रहरीले औंल्याएको छ।
बैंकमा प्रवेश गर्ने र बाहिर निस्कने सम्पूर्ण ग्राहकलाई सुरक्षाको दृष्टिकोणले गार्डले निगरानी गर्नुपर्नेमा बैंकभित्र मात्र सुरक्षा प्रदान गरेको त्रुटी पनि प्रहरीले पत्रमा उल्लेख गरेको छ।
प्रहरीले बैंकहरुको एरिया, भवनको कम्पाउन्ड आसपासमा कुनै शंकास्पद व्यक्ति देखा परेमा वा कुनै व्यक्ति शंकास्पद लागेमा तत्काल प्रहरी र कार्यालय प्रमुखलाई जानकारी गराउने गरी सुरक्षा गार्डलाई चनाखो र सतर्क राख्न पनि पत्रमा भनेको छ।
प्रहरीका बैंकमा रहेको पार्किङलाई व्यवस्थित नगरिएको, ग्राहक बैंकभित्र प्रवेश गरेपछि ग्राहकले पाउने रकम सबैले सुन्ने गरी भन्ने गरेको कमजोरी पनि औंल्याएको छ।