BIZMANDU
www.bizmandu.com

तामाकोशीमा सेयर: कहाँ कहिले र कसरी आवेदन गर्ने ?

२०७१ माघ २९

तामाकोशीमा सेयर: कहाँ कहिले र कसरी आवेदन गर्ने ?
तामाकोशीमा सेयर: कहाँ कहिले र कसरी आवेदन गर्ने ?


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयवासीन्दा, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी र ऋण दिने स‌स्थाका कर्मचारीलाई प्राथमिक सेयर निश्कासन गरेको छ ।
 
सबैभन्दा ठूलो सेयर
तामाकोशी आयोजनाले स्थानीयवासिन्दा र कर्मचारीका लागि मात्रै तीन करोड ६० लाख ६ हजार कित्ता साधारण सेयर निश्कासन गरेको हो । तीन अर्व ६० करोड रुपैयाँको यो सेयर सार्वजनिक भएपछि तामाकोशीले सर्वसाधरणका लागि थप सेयर जारी गर्नेछ ।
तामाकोशीको यो सेयर नेपालका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ हो । दश अर्व ५९ करोड रुपैयाँ चुक्ता पुँजी भएको तामाकोशीमा संस्थापकका रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले ५१ प्रतिशत सेयर लगानी गरिसकेका छन् । उनीहरुले पाँच अर्व ४० करोड रुपैयाँको सेयर लगानी गरिसकेको तामाकोशीले सार्वजनिक गरेको आव्हानपत्रमा छ ।
दोलखालीलार्इ ७० कित्ता
तामाकोशी आयोजनाले परियोजना रहेको जिल्ला दोलखाका स्थानीयवासिन्दालार्इ अधिकत्तम ७० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । उनीहरुले न्युनत्तम ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी आयोजनाबाट अति प्रभावित हुने लामाबगर र गौरीशकर गाविसका बासिन्दाले भने तीन सय कित्ता सेयर आवेदन दिन सक्नेछन् ।
दोलखाका लागि तामाकोशीको चुक्ता पुँजीको दश प्रतिशत सेयर छुट्टयाएको छ । सेयर विक्रिबाट प्राप्त हुने एक अर्व पाँच करोड ९० लाख रुपैयाँ रकम परियोजना विकासमा खर्च हुने कम्पनीले जानकारी दिएको छ ।
दोलखावासीले सेयर आवेदन गर्दा दोलखा जिल्लाबाट जारी गरिएको नागरिकता प्रमाणपत्र बुझाउनुपर्नेछ । १६ वर्षभन्दा कमको हकमा नाबालकको जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने आव्हानपत्रमा उल्लेख छ । त्यसैगरी विवाहित महिलाले विवाह दर्ताको प्रमाणपत्र । २०६४ माघ १५ अघि बसाइ सराइ भइ आएकाले प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
 
२०६७ साउन अघिका सञ्चयकर्तालार्इ मात्रै सेयर
माथिल्लो तामाकोशी आयोजनामा सञ्चयकर्ताका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता सेयर विभाजन गरिएको छ । तामाकोशीले सञ्चयकर्ताबाट एक अर्व ८३ करोड रुपैयाँ जुटाउनेछ । उनीहरुका लागि १७=२८ प्रतिशत सेयर छुट्टयाइएको छ ।
यो सेयर  पाउनका लागि २०६७ साउन १४ गते सञ्चयकोषमा रकम जम्मा गरेको कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । सञ्चयकर्ताले अधिकत्तम पाँच हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
एक सञ्चयकर्ताले अधिकत्तम पाँच लाख रुपैयाँसम्मको आवेदन गर्दा अत्याधिक माग भएमा नेपाल धितोपत्र बोर्डको बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरिने आव्हानपत्रमा छ।

Tata
GBIME
NLIC

सञ्चयकोषका कर्मचारी मालामाल
सञ्चयकोषका कर्मचारीलाई १५ लाख २४ हजार नौं सय ६० कित्ता सेयर निष्काशन गरिएको छ ।  ऋण लगानीकर्ता अर्को सस्था नागरिक लगानी कोषका कर्मचारीका लागि तीन लाख चार हजार नौ सय ९२ कित्ता, नेपाल टेलिकमका कर्मचारीलाई नौं लाख १४ हजार नौ सय ७६ कित्ता, राष्ट्रिय बीमा सस्थानका कर्मचारीलाई तीन लाख चार हजार नौ सय ९२ कित्ता र आयोजनाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर दिन लागिएको हो । यो आधारमा सबैभन्दा बढी सेयर कर्मचारी सञ्चयकोषका कर्मचारीले पाउनेछन् ।
तीन वर्षको लकिङ पिरियड
आयोजनाको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषले विहीबार आब्हान पत्र सार्वजनिक गरी फागुन ११ गतेदेखि निष्काशन खुल्ला हुने जनाएको छ । फागुन २५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । फागुन २५ गतेसम्म पनि पूर्ण आवेदन नपरे चैत १५ गतेसम्म सेयर आवेदन गर्न सकिनेछ ।
तर तामाकोशीको सेयरमा सबैभन्दा धेरै आकर्षण रेहेका कारण यो सेयरको आवेदन फागुन २५ गते बन्द हुने सम्भावना बढी छ । तामाकोशीको यो सेयर कम्तिमा पनि तीन वर्ष विक्रि भने गर्न नपाइने गरी लकिङ पिरियड तोकिएको छ ।
ठाउँठाउँमा संकलन केन्द्र
तामाकोशीको सेयरका लागि फरक फरक समूहलार्इ फरक फरक ठाउँमा संकलन केन्द्र तोकिएको छ । स्थानीय वासिन्दाका लागि आवेदन फारम चरिकोट, जिरी र सिंगटीमा रहेका संकलन केन्द्रबाट उपलब्ध गराउने जानकारी नागरिक लगानी कोषले दिएको छ ।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले यो सेयरका लागि नागरिक लगानी कोषमा आवेदन दिन सकिनेछन् । त्यसैगरी एनसिएम मर्चेण्ट बैंकिङ, राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
ऋण दिने संस्थाहरुमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थानका कर्मचारीको फर्म भने एकमुषठ बुझ्ने हुँदा सम्वन्धित कार्यालयमै बुझाउने व्यवस्था गरिएको छ ।
दुरसञ्चार र विद्युत प्राधिकरणका कर्मचारीले भने नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंकिङ, सिदार्थ डेभलपमेण्ट बैंकको भैरहवा, धनगढी, नेपालगञ्ज, बुटवल, यती डेभपलमेन्ट बैंकको हेटौडा, पोखरा, बीरगञ्ज बिराटलक्ष्मी विकास बैंकको बिराटनगर तथा सहयोगी विकास बैंकको जनकपुरबाट सेयर आवेदन लिइनेछ ।
तामाकोशीको उत्पादन २०७३ साउनमा पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुनेछ भने २०७३ पुसबाट सबै युनिटबाट विद्युत उत्पादन हुने आव्हानपत्रमा छ ।