BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले सहायक कम्पनीका रुपमा सामूहिक लगानी कोष खरीद गर्दै, नेशनल इन्भेष्टमेन्ट चलाउने

२०७१ माघ २३

प्रभु बैंकले सहायक कम्पनीका रुपमा सामूहिक लगानी कोष खरीद गर्दै, नेशनल इन्भेष्टमेन्ट चलाउने
प्रभु बैंकले सहायक कम्पनीका रुपमा सामूहिक लगानी कोष खरीद गर्दै, नेशनल इन्भेष्टमेन्ट चलाउने


काठमाडौं । प्रभु बैंक लिमिटेडले पुँजी बजारमा प्रत्यक्ष हातहाल्ने गरी सामूहिक लगानी कोष कम्पनी सञ्चालन गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

सहायक कम्पनीका रुपमा बैंकले नेशनल इन्भेष्टमेन्ट एन्ड क्यापिटल मार्केट लिमिटेड सञ्चालन गर्ने भएको हो । 
 

अहिले नेशनल इन्भेष्टमेन्टले कुनै पनि काम गरेको छैन, यसमा थप लगानी गरेर सञ्चालनमा ल्याउनका लागि हामीले पहल सुरु गरेका छौं । 

नेशनल इन्भेष्टमेन्ट धितोपत्र वोर्डबाट कार्य सञ्चालन गर्न स्वीकृति पाइसकेको संस्था हो । तर कम्पनीले अहिलेसम्म कुनै पनि काम गरेको छैन । निस्कृय अवस्थामा रहेको संस्थामा सेयर लगानी थपेर प्रभु बैंकले सञ्चालनमा ल्याउन लागेको हो ।
 
‘अहिले नेशनल इन्भेष्टमेन्टले कुनै पनि काम गरेको छैन, यसमा थप लगानी गरेर सञ्चालनमा ल्याउनका लागि हामीले पहल सुरु गरेका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिजमाण्डूसँग भने । 
 
स्थापनाताका कम्पनीको जारी पुँजी पाँच करोड रुपैयाँ थियो । यसमा संस्थापक सेयरधनीहरुले तीन करोड ३० लाख रुपैयाँ लगानी गरिसकेका छन् । मर्चेन्ट बैंकर र सामूहिक लगानी कोष कम्पनी सञ्चालन गर्न १५ करोड रुपैयाँ आवश्यक पर्ने भएपछि सञ्चालकहरुले यसको जारी पुँजी हालै बढाएका छन् । तर थप रकम भने जम्मा गरेका छैनन् ।
 

बैंकले बाँकी रकम लगानी गरेर संस्था सञ्चालन गर्न लागेको हो । १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात चार करोड ५० लाख रुपैयाँ सर्वसाधारणमा सेयर जारी गरेपछि जम्मा हुने छ । बाँकी सात करोड २० लाख रुपैयाँ प्रभु बैंकले लगानी गरेपछि नेशनल इन्भेष्टमेन्टको पुँजी १५ करोड रुपैयाँ पुग्छ । 

 
अहिले कम्पनीको सञ्चालक समिति अध्यक्षमा विके श्रेष्ठ छन् । उनी होटल एसोसिएसनका अध्यक्ष छन् । सञ्चालक समिति सदस्यमा उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, लक्ष्मी समूहका आजादकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, उमेश श्रेष्ठ र अर्जुनलाल राजवंशी छन् । 
 
नेशनल इन्भेष्टमेन्टका अहिलेका सञ्चालकहरुले प्रभु बैंकसँग प्रिमियम माग गरेको छ । केही दिनमा सबै प्रकृया सकेर चालु आर्थिक बर्षको अत्यसम्ममा कम्पनी सञ्चालन गर्ने बैंकको योजना छ ।
 
कम्पनीले धितोपत्र वजारमा ब्रोकर, डिलर तथा बजार निर्माताको रुपमा कार्य गर्ने गराउने उद्देश्य राखेको छ । साथै धितोपत्र निस्कासन, विक्री तथा प्रत्याभूति, सेयर रजिस्ट्रार पुँजी तथा मुद्रा बजारका साधनहरुमा लगानी गर्ने कम्पनीको उद्देश्य छ । जग्गा विकास तथा आवासीय कार्यक्रमहरु सञ्चालन गर्ने काम पनि नयाँ संस्थाले गर्ने छ । 
 
प्रभु समूह अन्तर्गत अहिले प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफरहरु सञ्चालनमा छन् । समूहले बैंकमार्फत नेशनल इन्भेष्टमेन्टका साथै नयाँ लघुवित्त विकास बैंक पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । लघुवित्त विकास बैंकका लागि बैंकले नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ । लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोट जिल्ला हुने छ । 
 
नेशनल इन्भेष्टमेन्टले अहिले एक करोड ५० लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा जम्मा गरेर नाफा आर्जन गरिरहेको छ । कम्पनीले केही रकम सेयर बजारमा पनि लगानी गरेको छ । कम्पनीले वासलातमा नाफा देखाउँदै लाभांस वितरण पनि गर्दै आएको छ ।