BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री महतले चिनियाँ राजदूतलाई भने, ‘नेपालमा सञ्चालित आयोजना छिटो पुरा गर्नुस’

२०७१ माघ १५

अर्थमन्त्री महतले चिनियाँ राजदूतलाई भने, ‘नेपालमा सञ्चालित आयोजना छिटो पुरा गर्नुस’
अर्थमन्त्री महतले चिनियाँ राजदूतलाई भने, ‘नेपालमा सञ्चालित आयोजना छिटो पुरा गर्नुस’

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले चीनको सहयोगमा सञ्चालित विकास आयोजनाको काम छिटो गर्न चीन सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि चीनका राजदू्च ऊ चुन्ताईसँगको भेटमा मन्त्री महतले यस्तो बताएका हुन् ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री महतले काठमाडौंको चक्रपथ बिस्तार, रसुवागढी र तातोपानी, बेनी जोमसोम सडकको स्तरोन्नति तथा पोखरा विमानस्थलको निर्माणका काम छिटो पूरा गर्न आग्रह गरेका हुन् ।

‘चक्रपथको निर्माणलाई सबैतिरबाट काम सुरु गरेर छिटो पूरा गर्नुपर्ने आवश्यकता छ,’ मन्त्री महतले भने, ‘तातोपानीको नाका साँघुरो भएकोले उत्तरतिर जोड्ने अर्को नाका खुला भैसकेको अवस्थामा रसुवागढी र तातोपानीको पनि सडकको स्तरोन्नति छिटो गर्नुपर्ने र बेनी जोमसोम सडकको बिस्तारसहित निर्माण कार्य छिटो पूरा गर्नुपर्ने आवश्यक भैसकेको छ ।’

भेटमा अर्थमन्त्री महतले भैरहवा विमानस्थलको काम सुरु भैसकेको भन्दै पोखराको क्षेत्रीय विमानस्थलको काम पनि छिटो सुरु गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानी गरी चीनले धेरै फाइदा लिनसक्ने भन्दै मन्त्री महतले नेपालको बजार मात्र नभइ नेपाल हुँदै चीनले दक्षिण एसियाली देशहरुमासमेत आफ्ना उत्पादन निर्यात गर्न सक्ने बताए ।

‘कम विकसित देशको सुविधा नेपालले प्राप्त गरेकोले युरोप तथा अमेरिका जस्ता मुलुकमा पनि निर्यात गरेर धेरै फाइदा लिन सकिन्छ’ महतले भने, ‘त्यसैले बजार सानो छ भन्ने कुरै छैन ।’

भेटमा चुनताईले चीनले अन्य मुलुकहरुसँग जसरी नै नेपालसँग पनि स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी सम्झौता गर्न चाहेको जानकारी दिए । राजदूत चुनताईले चीनले नेपालमा संयुक्त लगानीमा औद्योगिक क्षेत्र तथा सूचना प्रविधि पार्क स्थापना गर्न चाहेको पनि बताए ।

भेटमा अर्थमन्त्रालय तथा चिनियाँ दूतावासका अन्य अधिकारीहरुको पनि उपस्थिती थियो ।