मलेसियाका वायुसेवा कम्पनीहरुले क्वालालाम्पुर-काठमाडौं उडान भर्न चासो देखाएसँगै उडानसंख्या कम भएपछि मलेसिया सरकारले नेपाल सरकारसँग हवाई सम्झौता पुनराबलोकन आग्रह गरेको हो।
यसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम सुरु गरिसकेको छ ।
मलेसिया सरकारले मन्त्रालयमा हवाई सम्झौताको लागि अनुरोध गरिसकेकोले मन्त्रालयबाट आवश्यक प्रक्रियाको लागि फाइल (टिप्पणी) उठिसकेको छ । मन्त्रालयले छलफल, परामर्श र अनुसन्धानपछि पर्यटन मन्त्री दीपकचन्द्र आमत्यले मन्त्रिपरिषदमा सो प्रस्ताव लैजाने छन् ।
मन्त्रिपरिषद्को बैठकले प्रस्ताव पारित गरेपछि दुई देशबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुनेछ । मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने, 'हामीले चाँडै भन्दा चाँडै सम्झौताको तयारी गरेका छौँ ।'
मलेसिया सरकारले अहिले भइरेहेको उडानको दोब्बर उडान संख्या माग गरेको छ । उसले हप्तामा ४२ उडानको लागि प्रस्ताव गरेको नेपालले बताए । उनले भने, 'अहिलेको भन्दा दोब्बर उडान संख्या बनाउन माग गरेको छ । हामीले यसमा छलफल गरेर निर्णय लिनेछौँ ।'
मलेसियासँग यसअघि २००७ मा सम्झौता पुनरावलोकन भएको थियो। सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवाले सातामा २१ वटासम्म उडान गर्न पाउँछन्। मलेसियातर्फबाट यो संख्या पूरा भइसकेको छ ।
नेपालबाट जानेले पनि त्यति नै संख्या उपयोग गर्न पाउँछन्। काठमाडौंबाट मलेसिया अझै १४ उडान संख्या बाँकी छ।
हवाई सम्झौता पुनरावलोकन नुहुँदा मालिन्दो एयरले अस्थायी सञ्चालन अनुमति पत्र मार्फत काठमाडौं उडान गर्न लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट एयरलाइन्स मालिन्दोलाई हप्तामा सात उडान गर्ने अनुमति दिएको छ ।
अस्थायी सञ्चालन अनुमति पत्र दुईदेशबीच भएको हवाई सम्झौता अनुसार भएको उडान संख्या पुरा भएपछि नयाँ आउने वायुसेवालाई दिइने छ । मालिन्दोले सन् २०१५ को डिसेम्बरसम्मलाई अस्थायी सञ्चालन अनुमति दिइएको छ ।
मालिन्दोले आगामी माघ २३ गतेदेखि नेपाल उडान गर्दैछ ।
मलेसिया सरकारसँग डिसेम्बरसम्म हवाई सम्झौता पुनरावलोकन नभए मालिन्दो फिर्ता जानुपर्ने हुन्छ । उपसचिव नेपालले भने, 'हामी मलेसियासँग हवाई सम्झौता गरिसक्छौँ । नत्र भने २०१६ लागेसँगै मालिन्दो फिर्ता जानुपर्छ ।'
मलेसियाको सरकारी वायुसेवा मलेसिया एयरलाइन्स र सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स एयर एसिया एक्सले सातामा २१ उडान गरिरहेका छन्।
काठमाडौंबाट नेपाल वायुसेवा निगमले दैनिक एक उडान गरिरहेको छ। हवाई सम्झौतामा उल्लेख भएको भन्दा सातवटासम्म बढी उडान गर्न दिन पाउने व्यवस्था गर्न पर्यटन मन्त्रालयले लगेको प्रस्ताव हालै मन्त्रिपरिषदले अनुमोदन गरेको थियो। त्यसैलाई आधार बनाएर मालिन्दोलाई अनुमति दिइएको थियो।
‘हवाई सेवा सम्झौता भइसकेका देशसँग सम्झौतामा उल्लेख भएको सिट संख्या सम्बद्ध देशले नै तोकिएका वायुसेवालाई बाँडेर दिन्छ,' नेपालले भने, ‘मलेसिया सरकारसँग भएको सम्झौता अनुसार मालिन्दोले नेपाल उडान भर्न पाएको हो।'
उनका अनुसार मलेसियाबाट नेपाल उडान भर्न चाहने नयाँ एयरलाइन्सले हवाई सम्झौता पुनरावलोकन नभए उडान गर्न पाउने छैनन् ।
दुई देशको हवाई सम्झौता अनुसार एउटा देशले जति उडान संख्या पाउँछ अर्को देशले पनि त्यत्तिकै पाउँछन् ।
नेपालले हालसम्म विश्वका ३६ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्। अन्य १० वटा देश पनि हवाई सम्झौताको लागि इच्छुक रहेका नेपालले बताएका छन् ।