हाम्रो दुई पांग्रेसवारी साधनको पनि व्यापार छ । त्यसको अब एसेम्बलिङ नेपालमै गर्ने योजना बनाइरहेका छौं । डेढ लाख मोटरसाइकल बिक्छ । अरुले पनि प्लाण्ट ल्याउँदै छन् । प्रतिस्पर्धाका लागि त्यो आवश्यक छ । कि त त्यो विजनेश छोडेर जानुपर्यो, कि त प्रतिस्पर्धा गर्नुपर्यो । हामीले जे जति विजनेसका कुरा गरेका छौं, त्यो एक अर्कामा परिपूरक छन् ।
—
मेरो लागि अब नाफा भन्दा इमेज पहिलो कुरा हो । पैसाको महत्व उमेरसँग एकदमै सम्बन्धित छ । गणितीय आकर्षण मात्रै हो त्यो । मेरो जीवनस्तरमा अब दुई/चार करोडले फरक पार्दैन । मैले भनेनी त्यो गणितीय आकर्षण मात्रै हो ।
—
अब विविध व्यापारमा सहभागी हुने दिन गयो । अब तपाईंलाई उत्कृष्ट बन्नुछ भने उत्कृष्ट काम गर्नुपर्यो, उत्कृष्ट बन्नुपर्यो । तपाईंले भिजिटिङ कार्डमा धेरै कम्पनीको नाम राखेर मात्रै अब ठुलो हुने दिन छैन । अब काम गर्ने भनेको जे विजनेस तपाईं बुझ्नुहुन्छ त्यो गर्नुस, म भन्छु, ‘मेक इट द विगेस्ट, मेक इट द बेस्ट।’
—
मेरो घ्यू उद्योग छ, तेल उद्योग छ, नेपालको एउटा मात्रै स्टार्च उद्योग पनि छ । मकैबाट ग्लूकोज बनाउँछु । त्यसैबाट स्टार्च बनाउँछु । त्यसबाट निस्कने पिना अरु उद्योगमा जान्छ, त्यसमा त मलाई घाटा लागिरहेको छ । अब के गर्ने ? यो भन्दा इन्डिजिनियस अरु कुन कुरा गर्ने ?
—
दर्जन उद्योगका मालिक अरुणकुमार चौधरी सेवा उद्योगमा बलियोसँग जम्ने प्रयासमा छन् । अब उनको प्राथमिकता होटल, हाउजिङ, स्कूल, कलेज र सूचना प्रविधिमा आधारित उद्योगमा छ । बर्षौसम्म नेपाल भारत उद्योग वाणिज्य संघको अध्यक्ष भएका चौधरीलाई विजमाण्डू सम्पादक सरोज काफ्ले र विज्ञान अधिकारीले सोधे भारतीय कम्पनीसँगै संयुक्त लगानीमा उद्योग चलाउन तपाईको किन चासो रहेन ?
तपाई लामो मात्रै होइन, निकै लामो समय नेपाल –भारत चेम्बर अफ कमर्सको अध्यक्ष हुनुभयो । नेपाल–भारत व्यापार र लगानीका धेरै पक्ष तपाईलाई थाहा छ र त्यसलाई राम्रोसँग विश्लेषण पनि गर्नसक्नु हुन्छ । तर यो अवधिमा तपाईले कुनै संयुक्त लगानीका उद्योग नेपालमा ल्याउनु भएन, त्यो सम्बन्धलाई उद्योग व्यापारमा प्रयोग गर्नुभएन ?
यो सत्य हो, मैले व्यक्तिगत लाभका लागि केही गरिन । भारतीय सरकार वा अन्य कुनै निकायमा माग्न गइन । यसरी नजाँदा आफ्नो इमान, नैतिकवललाई सहारा मिल्दो रहेछ । जे कुरा सहि हो, देशको हितका लागि हो, त्यो मात्रै भन्दा जुन संगठनको भर परेर बसेका व्यवसायिक साथीहरु हुनुहुन्छ उनीहरुलाई प्रभावकारी नेतृत्व गर्न सकिँदो रहेछ । आफूले गएर मेरो यो काम गरिदेऊ, त्यो काम गरिदेऊ भनेपछि त अर्को पक्षले पनि हामीले तिमीलाई त्यत्ति धेरै सहयोग गरेका छौं, हाम्रो इस्युमा चाँही के हो भनिहाल्छ । त्यसैले अध्यक्ष हुँदा मैले कहिल्यै पनि व्यक्तिगत लाभका कुरा गरिँन ।
तर, तपाईले आफ्नो सम्बन्धलाई प्रयोग गरेको भए नेपालमा संयुक्त लगानीका राम्रा उद्योगहरु स्थापना हुनसक्थ्यो, तपाईकै समूहले विक्री गरिरहेको मारुती सुजुकी नेपालमै उत्पादन हुनसक्थ्यो होला ?
एउटा कुरामा पक्का हुनुस्, राम्रो सम्बन्धले मात्रै लगानी आउँदैन । लगानी तब आउँछ जव लगानी गर्ने व्यक्ति, लगानी ल्याउने समूहले यहाँ लगानी गर्दा हुन्छ भन्ने सोच्छ । हामीकहाँ अझै के भनेको सुनिन्छ भने मेरो राम्रो सम्वन्ध छ, त्यहाँको लगानी आउँछ । तर त्यसो हुँदैन । आजको दिनमा म अरुण चौधरीको काम गर्नसक्ने क्षमतामा नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा र नहुँदा केही फरक पर्दैन । मान्छेले मलाई हेर्ने दृष्टिकोणमा पनि फरक परेको छैन । त्यसकारणले यो कुरा हामीले दिमागबाट निकालेर फाले हुन्छ कि तपाईको सम्बन्ध राम्रो छ त्यसैले लगानी ल्याउन सक्नुहुन्छ ।
तपाईले आफ्नो सम्बन्धलाई लगानी भित्र्याउन पहल नगर्दा त औद्योगिकीकरणमा योगदान कम भयो, व्यापारमा मात्रै सिमित भयौं नि?
नेपालको गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान निकै थोरै छ । यसलाई देखाएर नेपालका उद्यमी÷व्यवसायी उद्यमशील छैनन् भन्न मिल्दैन । मान्छे प्राकृतिक रुपमा उद्यमशील भएर मात्रै पुग्दैन, मुलुक भित्रको हावापानीले समेत उद्यमशीलतालाई सघाउनु पर्छ, जुन यहाँ अभाव छ । आज यहाँ दीर्घकालिन लाभका लागि काम सुरु गर्यो भने निकै ठूलो जोखिम छ, किनभने नीतिगत स्थिरता छैन, कानुनी पक्षमा पनि स्पष्टता छैन । आज मलाई भन्नुस त उद्योगलाई बढावा दिन यहाँ वातावरण बनेको छ ? एक से एक उद्योग चलाइरहेका उद्यमीहरुलाई सरकारले के त्यस्तो पहिचान दिएको छ कि उनीहरु प्रोत्साहित हुन । त्यसो भए किन त उद्योग ? उद्योग चलाउने मानिस राम्रो, अनि व्यापार गर्ने चाँही खराव वर्ग ? यसरी हेर्ने तरिका त ठीक भएन ।
.jpg)
तपाईले उद्योग र व्यापारलाई छुट्याएर भन्न खोज्नु भएको रोजगारी सिर्जनामा जोड्ने हो । आजको दिनमा मै हुँ भन्ने उद्योगीले चलाएको उद्योगमा भन्दा मेरो मारुती भेहिकलमा धेरै मानिस आवद्ध छन् । मानिसले यो बुझेका छन् त ? छैन । त्यसकारण जस्तो परिस्थिति, वातावरण बन्छ त्यस्तै किसिमको व्यापार फष्टाउँछ । मसँग धेरै उद्योगहरु पनि छन्, जहाँ कि हामीले ह्याण्डिल गरेका वस्तुको तुलनामा ती उद्योगहरु फस्टाउने वातावरण कम छ ।
तपाईको व्यावसायमा विविधता छ । तपाईले उत्पादनमुलक उद्योग चलाउनु भएको छ, बैंकमा लगानी छ, रेमिटेन्स सेवामा छ, हाउजिङमा छ, तर किन अरुणकुमार चौधरी भन्नासाथ मानिसहरु मारुती सुजुकी सम्झिन्छन् ?
हरेक मानिसले सम्झने कुनै न कुनै विजनेस हुन्छ । त्यसैले मानिसले मलाई मारुती सुजुकीले चिनेका होलान । यो कुरामा गर्व पनि लाग्छ किनभने मारुती आज पनि नेपालमा सबैभन्दा बढी बिक्ने गाडी हो । आजको दिनमा ग्राहकको सन्तुष्टिका आधारमा भन्ने हो भने सबैभन्दा बढी ग्राहक सन्तुष्ट भएको गाडी पनि हो । यस्तो उत्पादन म नेपालमा विक्री गरिरहेको छु । आजभन्दा करिब २५ वर्ष पहिला मैले पहिलो पटक २० वटा गाडी बेचेको थिए । अहिले नेपालको सबैभन्दा बढी विक्ने भयो । एक जमाना थियो यहाँ गाडी भनेपछि टोयोटा नै हुनुपथ्र्यो । अहिले त्यो परिस्थिति छैन । कुनै व्यवसाय समात्दा आफूले त्यसलाई कुन स्तर र हदसम्म लिएर जाने त्यो महत्वपूर्ण पक्ष हो । त्यसकारण अरुण चौधरीले मारुती सुजुकीलाई त्यो हदसम्म लिएर गएकोले पनि मानिसले यसरी चिन्ने गरेको हुनुसक्छ ।
२५ वर्ष तपाईले मारुती बेच्न थाल्दा बजारमा प्रतिस्पर्धा निकै कम थियो । अहिले त यति धेरै प्रतिस्पर्धा छ कि समानस्तरका झण्डै एक दर्जन नयाँ मोडल नेपाल भित्रिन्छन् । इन्ट्रिलेवलका कारमा बढी नै प्रतिस्पर्धा देखिन्छ । यतिहुँदा हुँदै पनि तपाईले एक नम्बरको स्थान चाही सुरक्षित गर्न सक्नु भएको छ ?
विगतमा नेपाल भित्रको व्यापार प्रतिस्पर्धाविना चलेको थियो । यो समयको कुरा हो । संसारभर प्रतिस्पर्धा भनेको त व्यापारको एउटा आन्तरिक पक्ष न हो । यहाँ व्यापारको एउटै कुरा के हो भने ‘सर्भाइभल अफ दि फिटेस्ट’ । आजको दिनमा अरु ब्राण्ड बजारमा आउनु, धेरै बेच्न खोज्नु उहाँहरुको हक हो । तर बजारमा जागरुक भएर, के के गरेर बजार हिस्सालाई जोगाएर राख्नु आफ्नो धर्म हो । आजको दिनमा व्यापार धेरै सिस्टम्याटिक भइसक्यो । सबै कुरा प्रोसेसमा हुन्छ, विजनेश प्रोसेरहरु छन्, त्यही अनुसार चल्छ ।
यो व्यापार मैले मेरा लागि गरिरहेको छैन, अर्गनाइजेसनका लागि गरिरहेको छु । म रहेपनि नरहेपनि अर्गनाइजेसन अघि बढ्छ, जे गरिरहेका हुन्छौं त्यो नम्बर एक हुन्छ ।
हामी अब कोर कम्पिटेन्ट एरिया तय गरेर अघि बढ्दै छौं । अहिले हाम्रो कोर कम्पिटेन्स एरिया भनेको अटोमोविल, यो क्षेत्रमा अपराजित नम्बर एक । अर्को हाउजिङ, कर्जा विहिन हाउजिङ । हामीसँग ट्र्याक रेकर्ड छ, हामी जे भन्छौं त्यही दिन्छौं । प्रतिवद्धता जनाएको कुरा दिन्छौं । हामीले त्यस्तो व्यापारमा हात हालेका छौं जहाँ सस्थागत गर्न सक्छौं, न कि टावर बनाउन मात्रै ।
हाम्रो देशमा अत्यन्तै कमजोरी भनेको व्यवस्थापकीय क्षमतामा हो । त्यसमा निकै ठूलो अभाव छ । त्यसैले अब हामी शिक्षामा जाँदैछौं र विश्वस्तरीय म्यानेजर उत्पादन गर्छौं । रेडि टु युज म्यानेजर्स दिन्छौं । मै हुँ भन्ने एमविएज्लाई पनि सिधा जिम्मेवारी दिन सक्ने अवस्था छैन । त्यस्तो व्यक्तिलाई पनि तालिम दिनु पर्ने, ग्रुम गर्नुपर्ने अवस्था छ । उनीहरुलाई औपचारिक शिक्षाकै बेला यस्तो तालिम दिएर दक्ष बनाउनु पथ्र्यो । त्यो अभाव भयो, त्यसैले हामी अहिलेका कमी कमाजोरीलाई सम्बोधन गरेर दक्ष म्यानेजर उत्पादन गर्छौ र दक्षजनशक्ति उत्पादन गर्ने एक नम्बर सस्था बन्छौं ।
तपाईले उत्पादन गरेको जनशक्ति, म्यानेजरहरु कहिलेबाट बजारमा जान्छन् ?
एमबीएको कोर्ष दुई वर्षको हुन्छ, विविएको चार वर्षको हुन्छ । भर्खर सुरु गरेका छौं । करिब पाँच वर्षमा हाम्रो सस्थाबाट उत्पादित जनशक्ति बजारमा जान्छन् ।
चौधरी ग्रुप भनेपछि ठूला उद्योग, ठूलो व्यापार, ठूला ब्राण्डसँगको संलग्नता भनेर हाम्रो समाजले बुझ्छ । तपाईले त्यसलाई मोडेर स्कुल, कलेज, हाउजिङसम्म पुर्याउन खोज्नुभयो, जहाँ कमजोरी, अभाव देख्नु भयो त्यहाँ पुग्दै हुनुहुन्छ ?
कतिपय व्यापारका क्षेत्र बाहिरबाट हेर्दा जति सानो देखिन्छ भित्र निकै ठूलो हुन्छ । अहिलेसम्मकै तथ्यांक अनुसार नेपालमा हरेक वर्ष तीन लाख विद्यार्थी एसएलसी पास हुन्छन् । हरेक वर्ष तीन लाख अवसर त यहाँ भयो । अझै एसएलसी त फेल नै नगर्ने भन्ने कुरा पनि छ । यी मध्ये कति प्रतिशत अमेरिका, कति अस्ट्रेलिया, कति भारत गएका छन भने त्यो हाम्रो कमजोरी हो । हामीले त्यो स्तरको शिक्षा दिन नसकेकोले हो । तपाईले शिक्षालाई एउटा कलेजको हिसावले हेर्नुभएको होला, मैले यसलाई धर्म युद्धका रुपमा हेरिरहेको छु, शिक्षामा कुन किसिमले प्याराडाइम सिफ्ट गर्न सकिन्छ भनेर । गुणस्तरीय शिक्षा हामीले दिनुपर्यो । हामीले मलेशियन कलेजसँग सम्बन्धन लिएका छौं । हाम्रो यहाँको शिक्षा प्रणाली समयसापेक्ष छैन, सोच पनि समयसापेक्ष । त्यसैले यहाँको प्रणाली सुर्धान लाग्नु भन्दा बाहिरबाट सुदृढ प्रणाली भित्र्याउन सजिलो हुन्छ ।
नेपाल भारत खुला सीमा छ । सीमापारी निकै सस्तो मुल्यमा गाडी पाइन्छ, नेपालमा त्यही गाडी निकै महंगो पर्छ, राजस्वका कारण । धेरै मानिसले गाडी चढेपछि राजस्व बढी उठ्छ, गाडीको चापले सडक विस्तारमा पनि सहयोग पुग्छ भनेर निजीक्षेत्रले पनि सरकारलाई बुझाउन नसकेको हो ?
यसरी सरकारलाई दोष दिएर फाइदा छैन र विना प्रमाण भन्सार घटाइ देऊ, अन्तशुल्क कम गर भन्नु पनि हुँदैन । अहिलेको हाम्रो सडक सञ्जाल हेर्दा प्रोत्साहन गरेर चढ् भन्ने अवस्था पनि छैन । राजस्वको दर अर्थमन्त्रालयको वाध्यता हो । तर हाम्रो माइन्ड सेट भनेको रिङरोड मानसिकता हो । अरु कुरा विर्सनुस्, हामीले वाह्य रिङरोड आउन दिएनौं । यो वाह्य रिङरोड आउन नदिनुको कारण भनेको हाम्रो माइन्ड सेट नै रिङ रोड भित्रको छ । हामी कहिल्यै पनि रिङरोड भन्दा बाहिर सोच्नै सक्दैनौं । यातायातको चार्ज वापत पाँच प्रतिसत उठ्छ । त्यो पैसा यति धेरै हुन्छ कि त्यसबाट स्याटलाइट सिटी निर्माण गर्न थालौं न, अहिलेको यो सवारी चाप स्वतः घटेर गइहाल्छ नि । कति भन्ने भन्सार घटाऊ, अन्तशुल्क घटाइ देऊ भनेर ।
यो व्यवस्थापनको कमजोरीले सिर्जना भएको समस्या हो, दूरदर्शिताको अभाव हो । यहाँ एउटा उदाहरण हेरौं न, पासपोर्ट बनाउन हामी सितल निवास पुग्थ्यौं । त्यसलाई ल्याएर नारायणहिटीमा राख्नु पर्छ त । त्यहाँको घुइचो, त्यहाँको वातावरण तपाई थाहा छ ?, नजिकै बस्छु त्यसैले मलाई थाहा छ । दुई बजे राती देखि त्यहाँ मानिसहरु आएर कुर्छन । शहरबाट अलिकति बाहिर लगेर राखिदिएको भए त्यो ठाउँमा विकास हुँदै जान्थ्यो, सरकारको लगानी पनि आवश्यक पर्दैनथ्यो । मानिसले हिडेर, कुल्चेर, गाडी चलाएर सडक बनाउँथे । चमेना घर, लज बनिसक्थे । हो यस्तो भीडभाडको दोषी सवारी साधन आयतकर्ता हुन त । ट्रान्सपोर्ट अफिस सहरको भित्र भित्र राखिएको छ, किन ? हामी किन अलिकति प्रक्षेपण गर्न सक्दैनौं कि अर्को सिंहदरबार, सरकारी निकाय राख्ने ठाउँ बनाउन । सरकारको सचिवालयको वरिपरी मात्रै किन सोच्छौं ? यसलाई किन बनेपा सार्न सक्दैनौं, किन पाँचखालसम्म कार्यायल सार्न सक्दैनौं ? किनभने रिङरोड मेन्टालिटी ।
तपाईले विकासको वाधक पनि रिङरोड मेन्टालिटी हो भन्न खोज्नु भयो ?
हाम्रो विकासको सोच पनि यही ‘विथ इन रिङरोड मेन्टालिटी’ हो । अहिले भएका सडकलाई दुई लेनबाट चार बनाउँ, चार छ भने आठ बनाउँ, यातायात सहज होस । छिमेकी भारतको राजधानी दिल्लीको उदाहरण हेरौं न, उनीहरु किन पुरानोलाई नै नयाँ बनाउन तिर लागेनन् ? किन गए गुडगाउँ, मानेश्वर लगायत । उनीहरुले पुरानोलाई नयाँ बनाउने कुरा बिर्सिए । नयाँ सिटी बनाउनु पर्छ भनेर लागे । मेरो सोच के हो भने रिङरोडबाट बाहिर निस्केर अर्को स्याटलाइट सिटी बनाउनु सकिन्छ । सरकारको विकास बजेट अर्को सिटी निर्माणमा केन्द्रित गर्ने, रिङरोड भित्र कर निकै उच्चदरमा लगाउने, हरेक ठाउँमा चार्ज लिउँ । नयाँ ठाउँमा सबै कर छुट गरिदिउँ न ।
काठमाडौंको यो संरचना त पाँच लाख मानिसको लागि बनेको हो, त्यसैले ढल भएन, पानी भएन भनेर कसैलाई दोष लगाउने कुरा नै होइन । तर राज्यले प्रक्षेपण नै गरेन अब यस्तो हुन्छ भनेर र व्यवस्थापनमा ठूलो कमजोरी देखियो । अहिले यहाँ ढलको उस्तै समस्या, पानीको उस्तै समस्या भएको छ । पाँच लाख मान्छेका लागि बनाइएका पूर्वाधारमा धेरै छन् । यहाँ कसैलाई आरोप लाउने ठाउँ छैन । यस्तो किन भइरहेको छ भनेर म पनि सोच्ने गर्छु । हामीले नगर्नुको पछाडि के समस्या छ ? सुरक्षाको समस्या छ, त्यहाँ सुरक्षा निकाय राखौं न । देशका लागि त गारो हुँदैन । त्यो एउटा व्यक्तिले गर्ने भए पो सिमित स्रोत मात्रै हुन्छ, यो अरु केही होइन मात्रै व्यवस्थापन । यहाँ भिजन नभएर यस्तो भइरहेको छ ।
खरीद गर्ने क्षमता बढेको छ, मान्छेले घर, गाडी किन्न सक्छ भने राज्यले रोकेर राख्ने ठाउँ छ र ?
तपाईंले जे प्रश्न सोधिरहनु भएको छ, मैले पनि त्यही प्रश्न सोधिरहेको छु । के कारणले भनेर । मलाई कुनै बिल भौचर तिर्नुपर्यो, काठमाडौं भित्रै छ । आफ्नो व्यापारको सिलसिलामा सरकारी कार्यालय आउनुपर्यो भने पनि भित्रै आउनुपर्छ । बिजुलीको लाइन लिन परे पनि भित्रै आउनुपर्छ । भनेपछि लाइफ लाइनको कन्ट्याक्ट पोइन्ट भनेको रिङरोड भित्र नै हो ।
काठमाडौंमा अवसर हुन्जेलसम्म भएभरका मान्छे आउँछन्, त्यसलाई उल्ट्याउन त हामीले सक्दैनौं । कसरी गर्ने ? पासपोर्ट दिने ? तपाईंसँग त्यसको विकल्प नै छैन । काठमाडौंको रिङरोड भित्र बस्नै नसक्ने अवस्था भएछ भने मात्रै टाढा सर्नुभएको छ, त्यो पनि बाध्यताबस । त्यो पनि रिङरोडको छेउछाउमा मात्रै हो । शहरीकरण विधिसम्मत भएन । जबसम्म कुनै पनि काम जथाभावी रुपमा अगाडि बढ्दै जान्छ, यो दीर्घकालीन हुँदैन ।
जब आवश्यकता हुन्छ, त्यही बेला हामी समस्याको समाधान गरिरहेका हुन्छौं । यसका लागि दुईवटा अप्रोच हुन्छ, एउटा भनेको प्रक्षेपण गर्ने । यस्तो भयो भने म के गर्छु भनेर समस्या सुरु हुनु भन्दा अगाडि नै त्यसको व्यवस्थापन गर्ने भनेको सही व्यवस्थापन हो । समस्याले छोएपछि त्यसको व्यवस्थापन गर्ने भनेको ‘क्राइसिस म्यानेजमेन्ट’ मात्रै हो । हामी धेरै जसो यत्तिमै छौं ।
१९९६ मा नेपाल भारत व्यापार सम्झौता भयो, धेरैले प्रशंसा गरे । व्यापार पनि बढ्यो । तर त्यो व्यापारलाई हामीले नेपालको औद्योगिकरणसँग जोड्न सकेनौं । हामी यसो पनि भन्न सक्छौं, हाम्रो निजी क्षेत्र, जसले उद्योग चलाउँछ, ऊ पनि ‘लुप होल’ खोजेर बस्छ ?
हाम्रो औद्योगिक नभइ व्यापारिक मेन्टालिटी नै हो । सबैले लुप होल खोजी खोजी छोटो समयमै नाफा हुने उद्योगमा लगानी गरे, नाफा कमाए । उद्योगहरुको नेचुरल डेथ भयो सकियो ।
व्यापारीले नाफा कमाए तर त्यसले मुलुकलाई घाटा त भयो ?
मुलुकलाई घाटा हुनु स्वभाविक थियो । त्यो बेलामा सोचेर, दिमाग लगाएर काम गरेको भए हुन्थ्यो । यो क्षणिक प्रस्फुटन मात्रै हो, यसले देशको औद्योगिकरण भएको होइन भनेर सोच्नुपर्थ्यो ।
मलाई एउटा कुरा जोड्न के मन लागेको छ भने, मैले यहाँ धेरैको माइन्डसेट देखेको छु । औद्योगिकरण भन्ने वित्तिकै उत्पादनमूलक नै हुनुपर्ने ? मैले नबुझेको कुरा यही हो । सेवा उद्योग पनि हुन सक्छ । मैले त्यहि सोचेर आफ्नो दिमागलाई अगाडि लगेको हो । हामीले यहाँ हरेक चिज बनाउनै पर्ने ? प्रतिस्पर्धात्मक नहुन पनि सक्छौं नि । हामीले जुन चिज एक हजार बनाउन सक्छौं, हाम्रा छिमेकी देशले १० लाख बनाउन सक्छन् । हामीले दुई हजार किलोमिटर सडक यात्राबाट सामान यहाँ ल्याउनु पर्ने, प्रतिस्पर्धा सिर्जना गर्नुपर्ने ?
हामी दुईवटा ठुला अर्थतन्त्रको बीचमा छौं । त्यसबाट जति फाइदा लिन सक्नुपर्ने थियो, त्यो फाइदा लिन उद्योगीहरु पनि असफल भएका हुन् ?
असफल त भएको भन्न मिल्दैन । भारतले जे बनाइरेको छ, हामीले पनि त्यही बनाउनुपर्छ भन्ने आवश्यकता छैन । चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न खोज्नु भनेको मेरो हिसाबमा बचपना हो । यस्तो चिज हामीले त्यतातिर लैजानु पर्यो, जुन हामीसँग धेरै छन्, जुन उनीहरुले चाहेर पनि बनाउन सक्दैनन् । नेपाली ह्याण्डिक्राफ्ट, काठबाट बनेका सामान हुन सक्छन्, नेपाली काठबाट बनेका सामान पनि हुन सक्छन् । जे चिजको पनि मार्केटिङ हो नि । हामीले मार्केटिङ गर्नुपर्यो । हामीसँग सेवा उद्योग छ नि । पाँच लाख पर्यटक आए भने हामी भ्रमण वर्ष मनाउछौं, विदेशमा करोडौं पर्यटक जान्छन् ।
हाम्रो युएसपी के ? मैले बुझ्न खोजेको चाँही त्यो । जसरी तपाईंहरु बिजमाण्डूको कुरा गर्नुहुन्छ, कसैले पनि विजनेशका कुरा हेर्नुपर्यो भने हाम्रो हेर्छ । तपाईंहरुले त आफ्नो युएसपी राख्नु भएको छ, तर हाम्रो के ? यो युएसपीलाई हामीले हाम्रो भिजन, मिसन जस्तो बनाउनुपर्छ । हाम्रो हरेक कुरा च्यानलाइज्ड हुनुपर्छ । त्यो युएसपीमा तपाईंले आफ्नो अर्जुनदृष्टि राख्नुभयो भने त्यसका हाँगाविङा आफैं देखिन थाल्छ । पर्यटनकै कुरा गरौं । हामी अहिले पर्यटन, पर्यटन भनेर उत्साही भइरहेका छौं, तर त्यसमा पनि पूर्वाधारको त कमी छ नि । काठमाडौंबाट बाहिर जानुपर्यो भने धेरै कठिन छ । मार्केट हेरेर पूर्वाधारहरु निर्माण गर्नुपर्यो । हामीले जोमसोमकै उदाहरण हेर्ने हो भने त्यहाँ स्याउ खेती गर्ने, त्यहाँका मान्छेको आम्दानी बढाउने भन्ने कुरा कुनै योजनाले भएको होइन, त्यो प्रकृतिले नै दिएको हो । योजना बनाएर बाटो बनाइएको छैन । यस्ता धेरै उदाहरणहरु हामीसँग छन् ।
बिगतको पाँच वर्षलाई हेर्ने हो भने, भारतसँग बिप्पा भएको छ, भर्खरै पिटिए पनि भयो, राजनीतिक सम्बन्धमा पनि केही सुधार भएको जस्तो देखिन्छ, तर संयुक्त लगानीका उद्योग चाँही आएनन् ?
पिटिए र बिप्पा भनेको कुनै पनि व्यवसायिक कामका लागि ‘बेस वर्क’ मात्रै हो । बिप्पा हुनासाथ यहाँ ह्वार्र लगानी आउने, पिटिए हुनासाथ यहाँ हाइड्रोपावर बन्याबन्यै गर्ने भन्ने त होइन । हाम्रो बानी के छ भने पहिले केही नगर्ने, त्यसपछि केही एग्रिमेन्ट गर्ने र पछि त्यही एग्रिमेन्टबाट सबैलाई ठग्यो भनेर सराप्दै हिँड्ने । यसले हामी कही पुग्नेवाला छैनौं । चिज भएर मात्रै केही हुने होइन, त्यसका लागि मार्केटिङ हुनुपर्यो । यसको अरु कुनै बाटो छैन । सबैभन्दा बलियो बाटो भनेकै मार्केटिङ हो । अहिलेको संसार नै मार्केटिङमा चलेको छ । मोदी कहिले अमेरिका पुगेका छन्, कहिले अष्ट्रेलिया पुग्छन्, कहिले जापान, किन भने उनी लगानीका लागि स्वागत गर्न गइरहेका छन् । आउ र लगानी गर भनिरहेका छन् ।
मोदीले इन्डिया इन्कर्पोरेटको सिइओ भएर मार्केटिङ गरिरहेका छन् । हामीले पनि नेपालको त्यस्तै गरी मार्केटिङ गर्नुपर्यो । मार्केटिङ के को गर्ने भन्दा हाम्रो ‘कोर कम्पिटेन्स’को गर्ने । उद्योगको मार्केटिङ गर्ने होइन । आउ यहाँ आएर जुत्ता फ्याक्ट्री खोल भनेर मार्केटिङ गर्ने होइन । कोर कम्पिटेन्स नभएका वस्तुको हल्ला गरेर मात्रै काम छैन । नेपालमा व्यवसाय गर्न सजिलो अवस्था छ भन्नुपर्यो । के नेपालमा सजिलोसँग व्यवसाय गर्ने अवस्था छ ?
जति ठुला ठुला कम्पनीहरु हुन्छन्, तिनीहरु कर्पोरेट गभर्नेन्सबाट चल्छन् । उनीहरु यहाँ आएर मन्त्री र सचिवको ढोका बाहिर ढुकेर काम गराउने कल्चर नै हुँदैन । त्यो कल्चर हुने मान्छेको लगानी हुँदैन । त्यसैले तपाईं के चाहनुहुन्छ? हामीलाई ठुलो लगानी चाहिएको छ । ठुलो लगानीलाई व्यवहारमै स्वागत गर्ने वातावरण हुनुपर्छ ।
मन्त्री र सचिवले पनि मेरै वरिपरि घुमोस भन्ने चाहने र लगानी गर्नेले पनि बरु यसैगरी काम गर्न सजिलो भन्ने मानसिकताले हो ?
स्वभाविक हो त्यो । त्यसलाई मैले अन्यथा लिएकै छैन । के भारतमा त्यस्तो चिजको कमी होला ? कुनै पनि चिज तपाईंले जति जटिल बनाएर राख्नुहुन्छ, त्यसले नकारात्मक प्रवृत्ति बढाउने वातावरण बनाइदिन्छ । म फेरि एउटा उदाहरण दिन्छु, हामीले पासपोर्टलाई किन पूूर्ण वेवबेस बनाउन सकेनौं ? त्यहाँ बसेर केही गर्न पर्दैन । चाहिएको कुरा भरिदिने र अपलोड गरिदिने । म तपाईंलाई भन्छु, फेसबुक अकाउन्ट रजिस्टर्ड गर्नुहुन्छ नि, त्यसमा कतिवटा ठाउँ खाली राख्नुभयो भने त्यसले लिँदै लिँदैन । तपाईंले त्यसमा पनि डकुमेन्टहरु अपलोड गरिदिने वातावरण बनाउनु भयो भने त भैहाल्छ नि । त्यो सब्मिट गरिसकेपछि त्यसले तपाईंलाई भेरिफिकेसन अपोन्टमेन्ट दियोस । उसले कामको चाप हेरेर त्यो दिन तोकोस । प्रमाणित भएपछि पासपोर्ट लिने मिति तोकिदियोस । हामीले यहाँबाट डिभी भर्न सक्ने, तर पासपोर्ट बनाउन नसक्ने ? यो त सामान्य व्यवहारिक कुरा हो ।
तपाईंको चाही लगानीको नयाँ योजना के के छन् ?
छ नि । मैले मेरो एरिया अटोमोवाइल भनिहालें । हामीले एउटा ल्यूब ओइल कम्पनी पनि चलाएका छौं । यो यस्तो कम्पनी हो जसले हरेक वर्ष लाभांस बाँड्छ । हामीले शिक्षा, घरजग्गामा लगानी गर्दैछौं । नेपालमा रियल स्टेटको धेरैनै महत्व छ । अर्गनाइज क्षेत्रमा हाउजिङ छैन । पछिल्लो समयमा हाउजिङमा लगानी गर्नेहरु तर्सिएको अवस्था छ । हामी त्यसमा ‘अग्रेडिङ म्यानरमा’ अगाडि बढिरेका छौं । यसमा मेरो परिभाषा के छ भने जति सकिन्छ, त्यति व्यवहारिक किसिमबाट अगाडि बढाउने । लक्ष्य चाँही के हो भने यसलाई संस्थागत बनाएर अगाडि बढाउने । त्यसपछि बढाउँदै गयो भने क्रेतालाई समस्या नहोस । हाम्रो हाउजिङ कम्प्लेक्स भित्र तीनसय २० अपार्टमेन्ट र ६० वटा बंगलाहरु बनिरहेका छन् । त्यसपछि सुनाकोठीमा ७० वटा बंगला बनाउन लागिरहेका छौं । यसमा एक्सपान्डेवल हाउसहरु दिन खोजिरहेका छौं । हामीले दिने भनेको वास्तविक र भरपर्दो हो ।
.jpg)
मैले धेरै हाउजिङहरुमा हेरेँ । पाँचसय वर्गफिटमा तीनवटा बेडरुम भएको अपार्टमेन्ट लेखेको पनि देखें । तर त्यो संभव नै छैन । म त्यस्तो घर बनाउँछु कि, त्यो घरमा गएर बस्नुपर्यो भने, तँ बस्छस भनेर आफूले आफैंलाई प्रश्न गरेर बनाउँछु । म च्यालेन्ज गर्छु, कि कसैले त्यहाँ बस्नलाई अप्ठ्यारो महसुश गरेको होस । म कहिल्यै पनि बस्नै नहुने भन्ने खालको घर बनाउँदिन । मेरो लागि अब नाफा भन्दा इमेज पहिलो कुरा हो । पैसाको महत्व उमेरसँग एकदमै सम्बन्धित छ । गणितीय आकर्षण मात्रै हो त्यो । मेरो जीवनस्तरमा अब दुई÷चार करोडले फरक पार्दैन । मैले भनेनि त्यो गणितीय आकर्षण मात्रै हो ।
हामीले सिजी मनी भनेर रेमिट्यान्स र सिजी मार्ट भनेर सानो सानो मार्ट चलाइरहेका छौं । हामीले गर्ने भनेको फर्मल विजनेश हो । हामीले भ्याट तिछौं, तर सामान्य किराना पसलले केही तिर्दैन । मैले अब यी मार्टहरुलाई इ–कमर्स र एम–कमर्समा परिवर्तन गर्ने योजना बनाएको छु । जति पनि आउटलेटहरु छन्, त्यसलाई डेलिभरी पोइन्टमा विकास गर्छु । तपार्ईं मेरो एपमा रजिष्टर्ड हुनुहुन्छ र मानौं चामल अर्डर गर्नुभयो भने तपाईंको घरैमा सामान ल्याइदिन्छ । यसबाट तपाईं पनि खुशी, हाम्रो व्यापार पनि भयो ।
हामीले रेमिट्यान्सको जुन काम गरिरहेका छौं, मानौं कसैले मलेशियाबाट पैसा पठाउनु पर्यो, यहाँ भएका वृद्ध बाबुआमालाई सेक्युरिटी कोडको झन्झट, के को झन्झट । त्यो गर्नुभन्दा, उहाँले विदेशबाट हामीलाई यति सामान मेरो घरमा चाहिन्छ भनेर पैसा पठाइदिनुहुहन्छ, हामी त्यो सामान उहाँको घरमा पठाइदिन्छौं । हामी टेलिफोन, बिजुलीको बिल तिरिदिन्छौं । हामीले सानो डेबिट कार्ड जस्तो बनाइदिने जसको माध्यमबाट उहाँले पैसा टपअप गर्नुहुन्छ । उहाँको हातमा कार्ड हुन्छ । हामी उहाँलाई चाहिने पैसा पठाइदिन्छौं । यो काम नगरुन्जेलसम्म मात्रै हो, एकदम फिजिबल हुन्छ भनेर हामीले सोचिरहेका छौं ।
अब विविध व्यापारमा सहभागी हुने दिन गयो । अब तपाईंलाई उत्कृष्ठ बन्नुछ भने उत्कृष्ठ काम गर्नुपर्यो, उत्कृष्ठ बन्नुपर्यो । तपाईंले भिजिटिङ कार्डमा धेरै कम्पनीको नाम राखेर मात्रै अब ठुलो हुने दिन छैन । अब काम गर्ने भनेको जे विजनेस तपाईं बुझ्नुहुन्छ त्यो गर्नुस, म भन्छु, ‘मेक इट द विगेस्ट, मेक इट द बेस्ट।’ अन्यथा तपाईं कहाँ पुग्नुहुन्छ कसैलाई थाहा हुँदैन । म विजनेशबाट बाहिर हुन्छु कि, मेरो छोरा हुन्छ कि नाति हुन्छ थाहा छैन तर म ग्यारेन्टी दिन्छु हामी विजनेशबाट बाहिरिन्छौं । त्यसकारण हाम्रो सोचाइ भनेको जुन विजनेश गरेका छौं, त्यसको फुटप्रिन्ट बढाउने । त्यसलाई विविधिकरण तिर लैजाने ।
हामीले अहिले शिक्षामा एमबिए गरायौं । बिबिए भयो, प्लस टु पनि भयो । त्यसपछि म यहाँ उत्कृष्ट स्कूल खोल्छु । म अब केमा संलग्न हुने त भन्दा उत्कृष्ठ काम गर्ने, त्यो कुरा मैले सोचिसकेको छु । म जे गर्छु, बेष्ट गर्छु । त्यसले म आफू पनि खुशी हुन्छु र अरुले पनि मलाई तपाईंले राम्रो गर्नुभयो भन्नेछन् । हामीले प्रि स्कूल संचालन गरिसकेका छौं । त्यो मेरो पाइलट प्रोजेक्ट हो । त्यो हामी यही माघमा लन्च गछौं । त्यसको नाम द वर्ल्ड स्कूल राखेका छौं । त्यसपछि मेरो सोचाइ छ कि, यसलाई नेपालकै बेष्ट स्कूल बनाउछौं ।
अन्यत्र लगानी थप्दै हुनुहुन्छ फेरि एनएल ग्यास त बेच्नुभयो ?
त्यो त बेचियो । त्यो मेरो क्षमता भन्दा बाहिरको थियो । मैले धेरै सोचेर त्यो बेचेको हुँ । त्यसमा मलाई महिनाको १० लाख नोक्सान थियो ।
तपाईं त फेरि पनि सेवा क्षेत्रकै व्यवसायमा जाँदै हुनुहुन्छ ?
मैले देखेको नेपालको भविष्य र स्थिरता भएको चिज नै यत्ति हो । मेरो घ्यू उद्योग छ, तेल उद्योग छ, नेपालको एउटा मात्रै स्टार्च उद्योग पनि छ । मकैबाट ग्लूकोज बनाउँछु । त्यसैबाट स्टार्च बनाउँछु । त्यसबाट निस्कने पिना अरु उद्योगमा जान्छ, त्यसमा त मलाई घाटा लागिरहेको छ । अब के गर्ने ? यो भन्दा इडिजिनस अरु कुन कुरा गर्ने ? बिजुली छैन जेनेरेटर चलाएर बनाउँछु ।
मैले अर्को टुरिष्ट होटेल सोचिरहेको छु । यो देशमा धेरै सोचि नै रहन्छन् । काठमाडौं भित्र नै हुन्छ यो होटेल । बनाउन थालेपछि बोलेको राम्रो हुन्छ ।
हाम्रो दुई पांग्रेसवारी साधनको पनि व्यापार छ । त्यसको अब एसेम्बलिङ नेपालमै गर्ने योजना बनाइरहेका छौं । डेढ लाख मोटरसाइकल बिक्छ । अरुले पनि प्लाण्ट ल्याउँदै छन् । प्रतिस्पर्धाका लागि त्यो आवश्यक छ । कि त त्यो विजनेश छोडेर जानुपर्यो, कि प्रतिस्पर्धा गर्नुपर्यो । हामीले जे जति विजनेशका कुरा गरेका छौं, त्यो एक ??