युनाइटेड बिल्डर्सले पाँच करोड रुपैयाँ लगानीमा होटल बनाउन लागेको बिल्डर्सका अध्यक्ष सकुन्तलाल हिराचनले बिजमाण्डूलाई बताए। ‘तेस्रो तल्लामा पाँच करोड रुपैयाँमा होटल बनाउँदै छौं,’ अध्यक्ष हिराचनले भने, ‘निर्माणको काम सुरु गरिसकेका छौं।’
भवनको तेस्रो तल्लामा भएका पसलहरु हटाउने काम सुरु भइसकेको छ। तेस्रो तलामा करिव ५० वटा पसल थिए । ती ५० वटै पसल र तिनको डेकोरेसन हटाएर होटल निर्माणको काम अगाडि बढाइएको उनले बताए।
‘सन् २०१५ को अक्टोबर १५ भित्रमा होटल संचालनमा ल्याउने उद्देश्यसहित काम अगाडि बढाइएको छ,’ अध्यक्ष हिराचनले भने, ‘पहिले भएका संरचना हटाएर होटलका लागि आवश्यक पर्ने संरचना निर्माणको काम सुरु भयो ।' बनिसकेको भवनमा होटल निर्माण गर्न लागिएकाले पनि सस्तो हुने उनले बताए।
होटलका कोठाहरुको दर पनि सस्तो हुने हिराचनले बताए। उनका अनुसार एउटा कोठाको ४० देखि ५० डलरसम्म पर्नेछ। उच्च वर्गका भन्दा पनि मध्यम वर्गका ग्राहकलाई लक्षित गरी होटल बनाउन लागिएको हो ।
मुस्ताङको खाना, थकाली स्वागत
होटलका प्रवर्द्धक हिराचनको सोचाइ पाहुनालाई थकाली खानाले स्वागत गर्ने छ। ‘हामीले सबै कुरा मुस्ताङबाट ल्याएर खुवाउने तयारी गरेका छौं,’ उनले भने, ‘हामी स्पेशल थकाली भोजनको व्यवस्था गर्ने छौं।‘
काठमाडौंमा धेरै बिजनेश होटल भए पनि यसलाई अरु भन्दा फरक बनाउने उद्देश्यले मुस्ताङबाट नै ल्याइएका खाद्यान्नबाट बनेका थकाली खाना खुवाउने उनले बताए।
‘वर्ल्ड ट्रेड सेन्टरमा धेरै पसल छन्, त्यहाँ सुनदेखि ऊनसम्म पाइन्छ,’ उनले भने, ‘हाम्रोमा आउने ग्राहकले खोज्ने सबै कुरा एउटै भवनमा उपलब्ध हुनेछ।'
जिरो किलोमिटरमा होटल
त्रिपुरेश्वरलाई जिरो किलोमिटर मानेर देशका राजमार्ग तथा अन्य मार्गको मापन हुने गरेको छ। त्यही जिरो किलोमिटरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा तीन तारे स्तरको बिजनेश क्लास होटल बन्न लागेको हो। ‘काठमाडौंको केन्द्रमा होटल बनाउन लागेका छौं,’ हिराचनले भने, ‘हामीले ताराको दर्जा लिएका छैनौं तर तीनतारे बराबरको सुविधा दिने छौं।‘
पर्याप्त पार्किङ सुविधासहितको यो भवनमा बन्ने होटलमा सबै सुविधा दिइने उनले बताए। सुरुमा पहिलो, दोस्रो र तेस्रो तल्लामा पसल राख्ने योजना अनुसार नै भवन भाडामा दिइएको भए पनि अब भने तेस्रो तलामा होटल बन्नेछ।
हेल्थ क्लवदेखि स्विमिङ पुलसम्म
युनाइटेड बिजनेश होटलमा महिला र पुरुषका लागि छुट्टा छुट्टै हेल्थ क्लबदेखि स्विमिङ पुलसम्म हुनेछ। होटलमा आउने ग्राहकका लागि हरेक सुविधा दिने उद्देश्यले ब्यांक्वेट र रेष्टुरेन्टको पनि व्यवस्था हुने उनले जानकारी दिए।
युडब्लुटिसीको सातौं तल्लामा स्विमिङ पुल छ। यस्तै होटलमा सेमिनार तथा सामूहिक भेलाको लागि आवस्यक स्पेश पनि उपलब्ध हुने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको यो भवन युनाइटेड बिल्डर्सले भाडामा संचालन गरिरहेको छ। युनाइटेड बिल्डर्सले ३० वर्षका लागि भाडामा लिएको यो भवनको भाडा करार अझ साढे २२ वर्ष बाँकी छ।
भवनमा अन्डरग्राउन्ड पार्किङ रहेको छ भने पहिलो र दोस्रो तल्लामा पसलहरु रहेका छन्। यस्तै तेस्रो तल्लामा होटल हुनेछ । चौथो तलामा कम्पनीको कार्यालय र सेमिनार हल रहेको छ। यस्तै पाचौं तल्लामा भने हेल्थ क्लब, स्विमिङ पुल तथा रेष्टुरेन्ट रहेको छ।