BIZMANDU
www.bizmandu.com

भारतीय प्रधानमन्त्रीको विपक्षीलाई जवाफ, पैसा रुखमा फल्दैन

२०६९ असोज ६

भारतीय प्रधानमन्त्रीको विपक्षीलाई जवाफ, पैसा रुखमा फल्दैन
भारतीय प्रधानमन्त्रीको विपक्षीलाई जवाफ, पैसा रुखमा फल्दैन

नयाँदिल्ली । भारतका प्रधानमन्त्री मनमोहन सिंहले आर्थिक विकास र रोजगारीका लागि विदेशी लगानी खुल्ला गरेको बताएका छन् । बहुराष्ट्रिय कम्पनीका रिटेल चेनलाई ५१ प्रतिशतसम्म लगानी गर्न पाउने नयाँ नीतिका कारण विरोध खेपिरहेका प्रधानमन्त्री सिंहले आफ्नो बचाऊ गर्दै यो दावी गरेका हुन् । ‘यो निर्णय मुलुकको आर्थिक विकास र युवापुस्तालाई रोजगारीको अवसर दिन भएको हो,’ उनले शुक्रवार राष्ट्रको नाममा संबोधन गर्दै भने, ‘आर्थिक विकास, रोजगारी र उपभोक्तालाई राम्रो जीवनयापन गर्नबाट कसैले पनि रोक्न सक्दैन ।’ सिंहले खुद्रा व्यापारमा ५१ प्रतिशत लगानी खुल्ला गर्ने नगर्ने निर्णय राज्य सरकारको हातमा रहेको स्पस्ट पारे ।
‘आफ्नो राज्यमा बहुराष्ट्रिय खुद्रा व्यापार भित्र्याउने÷नभित्र्याउने निर्णय राज्य सरकारको हातमा छ,’ उनले भने । उनले मुलुकको लागि ठूलो निर्णय लिनुपर्ने अवस्था आएको जिकिर गर्दै कसैको बहकाउमा नआउन समेत सबैलाई आग्रह गरेका छन् । उनले कांग्रेसलाई दुई पटक निर्वाचित गर्नुको पछाडी आर्थिक विकास र रोजगारी नै भएको बताउँदै यसका लागि विदेशी लगानी खुल्ला गरिएको बताए ।
सिंहले विश्व आर्थिक मन्दीबाट अमेरिका, युरोप र चीन जस्ता मुलुक प्रभावित भएको बताउँदै भारतले भने मन्दीलाई सामना गर्न सफल भएको दावी गरे । अन्तर्राष्ट्रि स्तरमा कच्चा तेलको मूल्य बढेकोले डिजल र एलपी ग्यासका बारेमा नयाँ निर्णय गर्नुपरेको उनले बताए ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर मुलुकलाई धान्नै नसक्ने अवस्थामा पुगेको छ । गत वर्ष सरकारले तेलका लागि १ लाख ४० हजार करोड पुगेको थियो । यो नबढाएको भए दुई लाख करोड हुन्थ्यो,’ सिंहले भने । उनले सरकारलाई पनि खर्च चलाउन मुस्किल भइरहेको बताउँदै रुखमा पैसा नफल्ने भएकोले अनुदान दिइरहन कठिन हुने टिप्पणी गरे, ‘पैसा रुखमा फल्दैन । अनुदान दिइरहँदा विदेशी लगानीकर्ता र दाताको विश्वास पनि हट्छ,’ उनले भने ।

Tata
GBIME
Nepal Life