काठमाडौं । सन् २००० मा अमेरिक धनाढ्य विल गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशन सुरु गरे । फोब्र्सको पछिल्लो मूल्यांकनमा विश्वकै धनी विलसँग ८१ अर्ब डलरको सम्पत्ती छ, उनको फाउण्डेशनसँग ४२ अर्ब डलर ।
गेट्सको फाउण्डेशनमा अहिलेसम्म जम्मा भएको यो सबै रकम उनको आफ्नो पैसा मात्रै होइन्, यो फाउण्डेशनमा विलले २८ अर्व डलर मात्रै दिएका हुन् ।
गेट्स फाउण्डेशनमा थुप्रै त्यस्ता दाता छन्, जो विश्वका धनीहरुको सुचीमा छन् । धनीको सूचीमा दोस्रो स्थानमा रहेका वारेन वफेटले पनि विलको फाउण्डेशनलाई साढे तीन अर्ब डलर दिएका छन् । अरु थुप्रै रकम दिने प्रतिवद्धता जनाएका छन् ।
विल र मेलिन्डाले जसरी आफ्नो फाउण्डेशन सुरु गरेका थिए, नेपालको सन्दर्भमा त्यस्तै फाउण्डेशनको सुरुवात गैरआवासिय नेपाली शेष घलेले गरेका छन् ।
.JPG)
अष्ट्रेलियाको धनी सूचीमा रहेका शेषले विहिवार एउटा संक्षिप्त कार्यक्रममा एक अर्ब रुपैयाँ सिड राखेर एमआईटि ग्रुप फाउण्डेशनको सुरुवात गरे । जसले नेपालको शिक्षा र स्वास्थ्य जस्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेको छ ।
¥याडिशनको बेगनाश हलमा निर्धारित समयभन्दा झण्डै आधा घण्टा ढिला सुरु भएको कार्यक्रममा घलेले श्रीमती जमुना घलेप्रति संकेत गर्दै सुरुमै भने, आज हामी सबैभन्दा बढी खुशी भएको दिन हो । यस अघि पनि हामी थुप्रै सन्दर्भमा खुशी भएका थियौं, तर आज जति खुशी छौं, त्यति खुशी यस अघि कहिल्यै थिएनौं, शेषले आफ्नो च्यारिटीको सन्दर्भ सुरु गर्दै भने ।
च्यारिटी सुरु गर्दै उनले आफ्नो संघर्षका दिनहरु स्मरण समेत गरे, हामी लमजुङ्गको दुर्गममा जन्मियौं, अभाव र अफ्ठ्यारोवीच संघर्ष गर्दै हुर्कियौं । उनले सुरुवाती दिनमा शिक्षा दिलाउन आफ्ना पिताले गरेको दुःख भावुक हुँदै बयान गरे ।
म घरभन्दा एक दिन टाढा पढ्थें, बुबा नुनसमेत घरबाट बोकेर ल्याइदिनुहुन्थ्यो । कहिले भरिया भेटिन्थ्यो, नभेटिंदा बुबा आफै महिनाको एक पटक भारी बोकेर आइपुग्नुहुन्थ्यो ।
.JPG)
मञ्चमा अष्ट्रेलिया र रुसका राजदूतलाई राखेर नेपाली भाषामा सम्वोधन गर्दै शेषले भने, त्यस्तै अवस्था जमुनाको पनि थियो । उनी पनि स्कुल पुग्नु अघि घाँस काट्थिन्, दाउरा जुटाउँथिन् ।
हामीसँग पर्याप्त स्रोत साधन थिएन, रुसमा इञ्जिनियरिङ पढ्ने छात्रवृत्ती पाएँ, त्यसपछि अवसर र शिक्षाको खोजीमा अष्ट्रेलिया पुगें, त्यहाँ सबैलाई काम गर्न समान अवसर थियो, सिस्टम फेयर नभएको भए, मेहनतले मात्रै हामीले सफलताको खुड्किलो चढ्न सक्दैन्थ्यौं ।
हामीले त्यही सोंच्यौं, शिक्षामा अवसर पाए अर्को नेपालीले पनि सफलता पाउन सक्छ । एमआइटि फाउण्डेशनको केन्द्रविन्दुमा शिक्षालाई राखिएको विषयमा शेषले प्रष्ट पारे ।
उनी त्यसपछि स्वास्थ्यमा आए । नेपालमा धेरै गाउँसम्म आधारभूत स्वास्थ्य सेवा पुग्न सकेको छैन्, शेषले भने । त्यही आधारभूत स्वास्थ्य सेवा नपाउँदा मेरी बहिनीको ज्यान गयो, जमुनाले भाईलाई गुमाउनुपर्यो । समयमै उपचार नपाउँदा हामीले जुन पीडा भोग्यौं, त्यो पीडा भोलीको नेपाली पुस्ताले भोग्न नपरोस् । निकै कम पैसामा पाइने औषधी र उपचारको अभावमा ज्यानै जाने अवस्था नआवोस्, हाम्रो चाहना हो, उनले भने ।
नेपालको शिक्षा र स्वास्थ्यमा गरिने एक अर्ब रुपैयाँको परोपकारी कोष सानो हो, यो प्रयासले मात्रै परिवर्तन सम्भव छैन् शेषले भने, एक अर्बको यो रकम भोली बढाउँदै लैजान्छौं । विल र मेलिन्डाको फाउण्डेशनमा जस्तै अरु संघसंस्थाले सहकार्य गर्न चाहे हाम्रो सम्पर्क र सञ्जाललाई भरपुर उपयोग गर्छौं ।
उनले फाउण्डेशन अष्ट्रेलिया र नेपाल दुवै ठाउँमा दर्ता भएको जानकारी दिए । अब यसको संरचना निर्माण गर्छौं, कहाँ सहयोग आवश्यक छ, परियोजनाको मूल्यांकन गरेर सहयोग सुरु गर्छौं, शेषले भने ।
धनीको सुची तयार गर्ने अष्ट्रेलियाको पत्रिका विजनेश रिभ्यु विक्लीअनुसार लमजुङका नाङ्गीमा जन्मिएका शेष दम्पत्तीसँग ३० अर्ब रुपैयाँभन्दा बढी सम्पत्ती छ । उनले नेपालमा मात्रै आठ अर्ब रुपैयाँ लगानीमा काठमाडौं शेराटन होटलको निर्माण सुरु गरेका छन् ।