BIZMANDU
www.bizmandu.com

परोपकारमा एक अर्ब खर्चिने शेष घलेको घोषणा, एमआइटी फाउन्डेसनमार्फत शिक्षा र स्वास्थ्यमा

२०७१ पुष २४

परोपकारमा एक अर्ब खर्चिने शेष घलेको घोषणा,  एमआइटी फाउन्डेसनमार्फत शिक्षा र स्वास्थ्यमा
परोपकारमा एक अर्ब खर्चिने शेष घलेको घोषणा, एमआइटी फाउन्डेसनमार्फत शिक्षा र स्वास्थ्यमा


काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले १ अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका छन्। अष्ट्रेलियाको धनी सूचीमा रहेका घले र उनकी श्रीमती जमुना गुरुङले स्थापना गरेको एमआइटी फाउन्डेसनमार्फत यो रकमको घोषणा गरिएको हो।
 
 
घलेले दुई दशकदेखि अष्ट्रेलियामा एमआइटी होल्डिङमार्फत शिक्षा, पर्यटन र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन्। उनले दुई महिनाअघि नेपालमै ८ अर्ब रुपैयाँको सेराटन होटलको थालनी गरिसकेका छन्। 
 
नेपालमा परोपकारी कार्यका लागि दिइएको यो रकम सम्भवत अहिलेसम्मकै बढी हो। फाउन्डेसनका अनुसार यो रकम नेपालीको शिक्षा र स्वास्थ्यमा खर्च गरिनेछ। 


 
घलेका अनुसार कोषमार्फत नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। उनका अनुसार स्रोत साधनको अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामाग्री र तालिमका लागि समेत रकम खर्चिनेछ।
 
फाउन्डेसनका अनुसार आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण क्षेत्रका न्यून आय भएका नेपालीको स्वास्थ्य सेवा पुर्‍याउन यो कोषको रकम खर्च गरिनेछ। 


 
‘हाम्रो जीवनकालमा समाजबाट जे पायौ त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्न पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन,’ घलेले भने। फाउन्डेसनकी संस्थापक जमुना गुरुङले व्यवस्थित र बृहत ढंगले ‘बिजनेस अफ गिभिङ’को सुरुवात गर्न पाउनु सबैभन्दा खुसीको क्षण भएको बताइन्। 
 
‘हामीले घोषणा गरेको यो रकम शिक्षा र स्वास्थ्यका क्षेत्रमा परिणाममुखि काममा खर्चिनेछौ,’ उनले भनिन्। यो रकम खर्चिनका लागि फाउन्डेसनले विज्ञ समूह राख्नेछ। त्यो विज्ञ समूहले पहिचान गरेका क्षेत्रमा यो रकम खर्चिने फाउन्डेसनले जनाएको छ। 
 
फाउन्डेसनले यो कोषलाई व्यापक बनाउन अरु साझेदारलाई समेत अघि बढाउने बाटो खुला गरेको छ। ‘हामीले खडा गरेको सञ्जालसँग हातेमालो गरेर अरु संस्था पनि जान सक्छन्,’ उनले भने, ‘यो अभियानलाई बढाउन रकमको आकार समेत बढाउन सकिन्छ।’

Tata
GBIME
NLIC