BIZMANDU
www.bizmandu.com

घरजग्गा कारोवार विग्रियो, फिल्म निर्माताको घर, होटल सञ्चालकको गाडी लिलामीमा

२०६९ असार २२

घरजग्गा कारोवार विग्रियो, फिल्म निर्माताको घर, होटल सञ्चालकको गाडी लिलामीमा
घरजग्गा कारोवार विग्रियो, फिल्म निर्माताको घर, होटल सञ्चालकको गाडी लिलामीमा

काठमाडौं । चलचित्र निर्माता मधुसुदन शिलवालले घरजग्गा कारोवारका लागि ल्याएको बैंक ऋण तिर्न नसकेपछि उनको चावहिल गणेशस्थानको जग्गा लिलाम हुने भएको छ । प्राइम कमर्सियल बैंकले ऋण नतिरेपछि अन्तिम पटकका लागि लिलाम विक्रीको सुचना सार्वजनिक गरेको हो  ।
उनले ऋण भुक्तानी गर्न नसके बैंकले सात दिन पछि सम्पति विक्री गर्न सक्ने छ । तत्कालिन गौरीगणेश इन्भेस्टमेन्ट अहिलेको जेन्टल हाउजिङका नाममा उनले ऋण लिएका थिए । नेपाल टेलिकमसामुन्ने मुलसडकसँग जोडिएको दुई रोपनी दुई आना तीन पैसा तीन दाम जग्गा धितो राखेर शिलवालले ऋण लिएका थिए । बजार मूल्य अनुसार अहिले यो जग्गाको भाउ १० करोड रुपैयाँभन्दा माथि छ । बैंकले यही जग्गा लिलाम गर्न लागेको हो ।
क्यापिटल मेर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको घोटलामा पनि उनको संलग्नता पाइउपछि राष्ट्र बैंकले अनुसन्धान गरिहेको छ । उनले अस्वभाविक रुपमा कमाएको पुस्टी भएपछि राष्ट्र बैंकको उजुरीमा सम्पति सुद्धिकरण विभागलेसमेत उनीमाथि अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ ।
सिलवाल सिद्धार्थ डेभलपमेन्ट बंैकका पूर्वसञ्चालक हुन् भने किस्ट बैंकमा समेत १० करोड रुपैयाँको ऋण छ । श्रीगणेश जेन्टल फिल्म्सको व्यानरमा उनले जीवन रेखा, ए पण्डित बाजे, मनमा माया र मेरो के गति हुने हो भन्ने चार वटा चलचित्र निर्माण गरिसकेका छन् ।
यसैगरी कान्तिपथस्थित होटल माउन्टेनका सञ्चालक रविन्द्रमान मल्लको गाडिसमेत लिलामीमा चढेको छ । लुम्बिनी फाइनान्स एन्ड लिजिङबाट लिएको ऋण तिर्न नसक्दा उनको बा ५च ३०५३ नम्बरको ल्यान्ड रोभर जिप लिलामीमा पर्न लागेको हो । त्यसबाहेक उनले दि ल्याण्डमार्क अपार्टमेन्टका लागि ल्याएको ऋण नतिरे पछि  उनका लागि जमानी बसिदिने मिनर्भा मल्ल, उर्मिला वैद्य र प्रकाशबहादुर श्रेष्ठको घरजग्गा तथा बैंक सेयर लिलामी गर्ने फाइनान्सले जानकारी दिएको छ । मल्ल जमानी बसेर श्रेष्ठका लागि किनिदिएको बिएमडब्लु गाडी पनि फाइनान्सले लिलामीमा चढाएको छ ।

Tata
GBIME
Nepal Life