BIZMANDU
www.bizmandu.com

गुणचन्द्र विष्ट भर्सेस स्वामी कृष्णानन्द भारती

२०७१ पुष १२

गुणचन्द्र विष्ट भर्सेस स्वामी कृष्णानन्द भारती
गुणचन्द्र विष्ट भर्सेस स्वामी कृष्णानन्द भारती


ओम थापा/सविन मिश्र
लाजिम्पाटको फराकिलो सडक छेउमा, एउटा रेस्टुरेन्ट छ, टुसिटा। त्यसको भुइतलामा भेटिए नेपालका 'ह्याचरी किंग' गुणचन्द्र विष्ट । तिलचामले जटा परेको लामो कपाल, त्यस्तै दाह्री । उमेर तीन बीस पूरा हुँदैछ तर अविवाहित ।

Tata
GBIME
NLIC

विष्ट चितवनमा अविनाश ह्याचरी चलाउँछन्। अहिले त्यसको ‘मोर्डनाइजेसन’ हुँदैछ। लगानी मात्रै पनि दुई अर्ब रुपैयाँ । कुल सम्पत्ती मात्रै पाँच अर्ब पुगिसग्यो। उनै विष्टले गत वर्ष मात्रै राजनीतिज्ञ पशुपतिशम्सेर जबरासँग नेपालको सबैभन्दा ठूलो र विश्वसनीय ब्राण्ड नेपाल ग्यासको स्वामित्व लिए । करोडौं रुपैयाँमा भएको लेनदेन प्रक्रियालाई भन्छन्, 'ग्यास कम्पनी चलाउने मेरो कुनै रुची थिएन, ‘इट्स जस्ट ह्यापेन’।'

हो। हामी उनै ह्याचरी किंग विष्टसँग गफ गर्दैछौं। तर, गुणचन्द्र विष्टका रुपमा होइन स्वामी कृष्णानन्द भारतीका रुपमा। ओशोका भक्त विष्ट ३५ वर्षदेखि सन्यासमा छन्। यो ३५ वर्षको अवधिमा उनी आश्रममा बसे, कम्युन चलाए। ओशोको अन्तिम अवस्थातिर पुणेमा पुगे। यहीबीचमा उनले स्वामी कृष्णनन्द भारतीको नाम पाए। अहिले उनी दुई नाममा जीवन जिउँदैछन्, व्यापारमा गुणचन्द्र विष्ट, सन्याशमा स्वामी कृष्णानन्द भारती।
 

२४ वर्षे उमेरैमा सन्यास

चितवनमा बाउबाजेको प्रशस्तै सम्पत्ती भएका विष्टले १५ वर्षको उमेरदेखि ब्यापार सुरु गरे। उनले सुरुमा अन्न किन्ने र त्यसलार्इ बेच्न थाले। बिजनेश सुरु गरेपछि उनलार्इ दिव्यज्ञान फुर्‍यो, यसमा जति धेरै ढाँट्न सक्यो उति फाइदा हुन्छ। बिष्टलार्इ ढाँट्न मन लागेन,  उनले व्यापारलाई छाडे।

त्यसपछि उनी खेतीमा लागे। श्रम धेरै गर्नुपर्ने तर त्यसको तुलनामा प्रतिफल कम भएपछि उनले खेती गर्न पनि छाडे। कृषिबाट पनि केही नहुने रहेछ भनेर उनी पढ्न काठमाडौं आए। यसैबीचमा उनले धेरै साधु भेटिसकेका थिए। उनीहरुबाट प्रभावित हुन पनि थालेका थिए।

काठमाडौंमा उनी कालीमाटीमा बस्थे। एकदिन स्वयम्भूबाट घर फर्कने क्रममा म्युजियम रोडमा ओशोको केन्द्र देखे। मानिसहरु केन्द्रमा आवत-जावत गरिरहेका थिए।  उनलार्इ पनि खुलदुली लाग्यो। उनी पनि केन्द्रमा पसे। ओशोको प्रवचनले उनलार्इ प्रभावित बनायो। अब उनी ओशो केन्द्रमा नियमित आउन थाले।

पहिले साधुसन्तसँगको भेट। पछि ओशोका प्रवचन। विष्टले सन्यास लिने निर्णय गरे। त्यो कुरा उनले आफ्ना बुबालार्इ सुनाए। बुबाको स्वभाव पनि त्यस्तै। उनले पनि भनेछन्, 'म पनि सन्यास लिन्छु।' दुवै बाउछोराले ३ अक्टोबर १९७८ मा सन्यास लिए। त्यतिबेला उनी २४ वर्षका मात्रै थिए। त्यसपछि उनी विष्टबाट स्वामी कृष्णानन्द भारतीमा बदलिए। अनि सुरु भयो उनको स्वामी यात्रा।

पढाइलाई बाई

औपचारिक शिक्षाका लागि पढाइ निरन्तर चलिरहेको थियो। यहीबीचमा उनले ओशोको दर्शन पनि पूरा गरे। पढ्दा पढ्दै सन्यास लिएपछि उनलार्इ पढाइ छोडिदिन मन लागेको थियो। तर ओशोले रोके।

ओशोले भनेका थिए, सुरु गरेको काम पूरा गरेर छोड्नु। जुन दिन उनले आइकम पूरा गरे। त्यो दिनपछि उनी फर्किएर पनि कलेज गएनन्। यहाँसम्म त ठीकै थियो तर उनले पास गरेको सर्टिफिकेटसमेत लिएनन्। भारती भन्छन्, ‌'औपचारिक शिक्षा नलिए पनि अनौपचारिक शिक्षा धेरै पाएको छु, जीवनमा धेरै कुरा सिकेको छु ।'

भारती झण्डै ३५ वर्षदेखि स्वामीको यात्रामा छन्। १२ वर्ष त उनी आश्रम र कम्युनमा बसे। पढाइ सकिएपछि उनी काठमाडौंमा बसे। त्यतिबेला उनी र साथी सुदीप आश्रममा बस्थे। भारती भन्छन्, 'आश्रममा हामी दुर्इ जना मात्रै हुन्थ्यौं।' यसबीचमा उनी स्वामी आनन्द अरुणले चलाउने कार्यक्रमको नेपाल कोअर्डिनेटर भए।

त्यसपछि उनी केही समय पोखरा पुगे। त्यहाँ उनी कम्युन बनाएर बसेका थिए। ‍ओशो आफ्नो जीवनको अन्तिमतिर थिए। भारतीलगायतको टीमलार्इ ‍ओशोले पुणेमा बोलाए। ओशोको जीवनको आखिरी समयमा उनी ओशोसँगै पुणेमा बसे।
 

विवाहको बल्छी हानिन

जीवनको भरभराउँदो उमेरमा विष्टले सन्यास लिएका थिए। के उनलार्इ विवाहले कहिल्यै आकर्षण गरेन?, उनको जवाफ छ- अहँ कहिल्यै गरेन् ।
किन? यसवारे उनको जवाफ पनि रोचक छ ।

'मैले विवाह गरिन किनभने, विवाह भनेको आँटा हालेर बल्छी हाल्न जाने हो। म मात्रै होइन, अर्की पनि बल्छी हान्न त्यसैगरी आउँछे,' उनले भने, 'दुवैले दुवैको बल्छी खाए र दुवै सम्बन्धमा रहे, त्यो विवाह हुन्छ। त्यो गाँठोको रुपमा रहन्छ। त्यो गाँठो यस्तो हो, एकले अर्कालाई सँधै दास बनाउँछ। पुरुषले शक्तिले दमन गर्छ, महिलाले आर्टले दास बनाउँछे।'

'विवाह तपार्इँ हाम्रो जस्तो सम्बन्ध होइन। तपार्इँले मलार्इ भेट्न खोज्नु भयो, मैले हुन्छ भनिदिएँ। हामी कुरा नमिले छुट्टिन सक्छौं।  मेरो कुरा मन नपरे तपार्इं पछि कुरा गरौंला भनेर बाहिरिन सक्नुहुन्छ। मलार्इ तपार्इँका कुरा मन नपरे, म एक्सक्युज मि जेन्टलमेन म हतारमा छु भनेर बाहिरिन सकुँला। तर विवाह त्यस्तो होइन्, त्यो गाँठो फुकाउन सजिलो छैन्।'

विवाह पछिको सम्वन्धमा पतिपत्नी दुवैले दुवैलार्इ दमन गरेका हुन्छन्। यसरी पारेको गाँठोले बनाएको सम्बन्ध त्यति हेल्दी सम्बन्ध हुँदैन। सम्बन्ध दमनले हुने होइन। त्यसैले त्यस्तो गाठो नपारौं भनेर म विवाहमा जाँदै गइन। तर फ्युचर मलार्इ पनि थाहा छैन्।'
 

'तर फ्रि सम्बन्धमा छुु'

त्यसपछि फेरि हाम्रो प्रश्न थियो – तपार्इँको बुबा र आमाले त्यही सोचेको भए, त्यही सोचेर विवाह नगरेको भए के हुन्थ्यो?

भारतीले जवाफ दिए, 'प्रकृतिको नियमअनुसार मान्छे कहीँ न कहीँ जन्मिन्थ्यो होला। कामबासना भनेको प्राकृतिक कुरा हो। त्यसलाई बन्द गर्न पनि सकिन्छ तर त्यो विक्षिप्तताको चरणमा जान्छ। पृथ्वीमा भएका सबैले कामबासनालाई नराम्रो भन्छन् तर सबैलाई त्यही नभइ हुँदैन।'

भारतीले भने, 'म भन्दा माथि पाँच दाजु थिए, तीनवटा दिदी बहिनी। मेरो बुबा रिटायर्ड भैसक्नु भएको थियो। मेरा बाबुआमा परिवारबाट वाक्क हुँदा पनि म फ्याट्ट आइपुगें।'

उनले आफू विवाह नगरे पनि फ्रि सम्बन्ध भने रहेको बताए। मेरो धारणा के हो भने विवाहितभन्दा फ्रि सम्बन्ध धेरै हेल्दी हुन्छ। फ्रि सम्बन्धबाट पनि सन्तान जन्माउन सकिन्छ। फ्रि सम्बन्धमा त म पनि छु। म चाँही के एब्नर्मल हुँ र सम्बन्धमा नहुनलाई।
 

विष्ट भर्सेस भारती

आखिर नाममा के छ? भारती भन्छन्, सबैको मल्टिपल लाइफ हुन्छ। मेरो पनि छ। मेरो एउटा नाम गुणचन्द्र विष्ट छ, अर्को नाम स्वामी कृष्णानन्द भारती। जसले जसरी पनि मलाई चिन्न सक्छ। मैले समाजमा गर्नुपर्ने काम पनि गरिरहेको छु र चिन्तन् मनन् ध्यान पनि गरिरहेको छु।

बिजनेस गर्छु। बैंक, कम्पनी, मालपोतमा मेरो परिचय गुणचन्द्र विष्ट हुन्छ। जहाँ मेरो नागरिक्ता खोजिन्न त्यहाँ म स्वामी कृष्णनन्द भारती हुँ। म मात्रै होइन तपाईँ कसैको बाबु हुनुहुन्छ, कसैको छोरा हुनुहुन्छ कसैको पति हुनुहुन्छ। तपाईँ पनि विभिन्न रुपमा डिल गर्नुहुन्छ। कसैसँग बाबु भएर डिल गर्नुहुन्छ भने कसैसँग छोरा भएर।

उनी भन्छन्, 'बाबुआमाले तँ जन्मिस् भनेर नाम दिए, गुणचन्द्र विष्ट। गुरुले सैद्धान्तिक रुपमा तँ मरिस भनेर नयाँ नाम दिनुभयो, स्वामी कृष्णनन्द भारती। नाम दुर्इ भए पनि, दुर्इ काम फरक भए पनि आखिर म म हुँ। यो दुर्इ नाममा फेरि त्यत्रो ठूलो विरोधाभाष पनि केही छैन्। दुवैले दिने परिचय नै हो। तपाईँलाई चिनाउने नै हो।
 

१२ वर्षमा खोलो फर्कियो

विष्ट भारती भैसकेका थिए। पुर्ख्यौली चितवनबाट बाहिरिएको १२ वर्ष भैसकेको थियो। त्यसपछि फेरि उनलार्इ केही गर्ने रहर जाग्यो। उनी फेरि काठमाडौं, पोखरा, पुणे हुँदै चितवन आइपुगे। सुरुमा अन्नको व्यापार गर्दा उनले दानाको फ्याक्ट्री खोलेका थिए। पछि साथीहरुले ह्याचरी खोल्न सुझाव दिए।

ह्याचरीको विरोध गर्ने पनि कम थिएनन्। विष्टलार्इ भन्थे, चितवनमा कुखुरा पाल्न सम्भव छैन्। उनले सोचे- भारतमा पाल्न सकिन्छ, इजरायलमा ह्याचरी हुन्छ भने चितवनमा किन हुँदैन्?
त्यतिबेला नेपालमा भारतबाट चल्ला ल्याउनुपर्थ्यो। मासुमा पूरै भारतको भर थियो ।

उनले विज्ञलार्इ ल्याएर काम सुरु गरे। अहिले चितवन पोल्ट्री हब नै बन्यो। उनले आफूले मात्रै पोल्ट्री सिकेनन्, जान्न चाहने सबैलार्इ सिकाए। प्रविधि ल्याए, त्यसलार्इ परीक्षण गरे।

सफल भएपछि सबैलार्इ सिफारिस गरे। अहिले चितवनमा सयौं मानिस यो व्यापारमा छन्, हजारौंले रोजगारी पाएका छन् ।
 

ख्यालख्यालमै नेपाल ग्यास

विष्टको कम्पनी अविनाश ह्याचरीको अहिले बैंक ऋण नै दुर्इ सय करोडको हाराहारीमा पुगेको छ भने पोल्ट्रीमा पनि दुईसय करोड लगानी पुग्दैछ। पोल्ट्रीमा गरेको लगानी, मेहनत र प्रतिफल हेरेर विष्टको नाममा अब अरु विशेषण पनि झुण्डिन थालेका छन्,  त्यसमध्ये एक हो, 'पोल्ट्रि किङ'।

पोल्ट्रीमा सफलता मिलिरहेको थियो। अचानक गतवर्ष उनलार्इ नेपाल ग्यासको जिम्मा आइलाग्यो। 'म योजनाले ग्यास व्यवसायमा लागेको होइन,' विष्ट भन्छन्, 'पोल्ट्री पनि यस्तै थियो, ग्यासमा पनि एउटा ह्यापनिङ भयो।
हामी उपभोक्ता केन्द्रित व्यापारमा छौं, सँगसँगै काम गरिरहेको एउटा साथीले लौन ग्यास लिउँ भन्यो।'

'पाँच वर्ष ग्यासमा नाफा हुँदैन भनेपछि मैले हुँदैन भन्दिएँ। तर  उसले नेपाल ग्यास हो, अरुभन्दा लोकप्रिय पनि हो भनेपछि मैले हुन्छ भनेको थिएँ। मैले जे काम गरेको छु, नेभर सेकेन्ड, त्यसैले साझेदारीमा नेपाल ग्यास लिने निर्णय भयो।'

'म आफै पोल्ट्रीको व्यवस्थापन अर्कैलाई दिन खोजेको थिएँ। त्यस्तो बेला नेपाल ग्यासमा केही पैसा गयो तर अन्तिममा साझेदारी गर्ने साथीले म त ग्यास लिन सक्दिन भन्य।  मैले लौ त भनेर ग्यासको पूरै स्वामित्व लिएँ। अहिले बैंक ऋण लिएर पूरै लगानी मैले गरेको छु।'

मेरो फोकस हिजो पनि केही थिएन। आज पनि केही छैन। मैले पोल्ट्री पनि सोचेर गर्‍या होइन। भारतबाट हुने आयात प्रतिस्थापन गरेको मात्रै हो। ग्यास पनि छोड्छु भनेर लाग्दा हात परेको हो।
 

'तपार्इँ खुसी भए मैले कमाउने हो'

'उद्योग भनेको तपाईँलाई खुसी बनाएर मैले पैसा लिने हो। जब मान्छेले कमजोर पत्ता लगाएर ठग्छन् त्यतिबेला म्यानिपुलेसन हुन्छ। मेरो सोच भने, तपाईँलाई खुसी बनाएर कमाउने हो,' विष्ट भन्छन्, 'फेरि कमाएको त्यो पैसाको केही भाग समाजमा दिनैपर्छ। नत्र साइकल पूरा हुँदैन।'

'पूर्वीय दर्शनमा कमाईको १० प्रतिशत दान गर्नु भनेको छ। तर वौद्ध दर्शनमा कमाईको २५ प्रतिशत जहाँबाट कमाएको त्यहीँ खर्च गर्नु, २५ प्रतिशत समाजमा दान गर्नु, २५ प्रतिशत आफैँ खर्च गर्नु र बाँकी २५ प्रतिशत आश्रितलाई दिनु भनिएको छ।'

'मैले पनि समाजमा दान दिएको छु। समाजसेवामा लगानी गरेको छु। तर, त्यो काम मैले अहिलेसम्म घण्टी बजाएर गरेको भने छैन। चाहिएका बेला म काम गर्छु। तर, यति र उति गर्छु भन्दिन्,' विष्ट भन्छन् ।

सन्तान नै सक्सेसर हो भन्ने उनी मान्दैनन्। भन्छन्, 'म नभए पनि मेरो व्यापार कोही न कोहीले चलाउला। खान लाउन पुगेकै छ। मेरो पनि कहीँ उत्तरदायित्व होला। फेरि मेरो नाम पनि दुईवटा छन्।'
 


त्यसो भए अरु दिन 'सिन डे?
'

भारती भन्छन्, 'शनिबार होलिडे अनि बाँकी अरु दिन सिनडे ?'
पाप गर्ने दिन? कमाउने दिन सिनडे अनि एक दिन होलिडे?
'पहिले शनिबार काम गर्नेलाई सजायँ दिइन्थ्यो। साताको सातै दिन काम गर्दा शरीर मात्रै होइन दिमाग पनि थाकिरहेको हुन्छ। त्यसैले इनर्जी कलेक्सनका लागि आराम चाहिन्छ भनिएको हो। यसको मतलव शनिबार काम गर्नुहुँदैन भन्ने होइन्।'

भारती बिहान र बेलुका ध्यान गर्छन। चितवन हुँदा बिहान पौने ६ बजे ध्यान केन्द्रमा पुग्छन्। एक घण्टा ध्यान गर्छन्। आधा घण्टा ओशोको प्रवचन सुन्छन्। आफूलार्इ लागेको कुरा सेयर गर्छन् तर उनी प्रवचन दिने गुरु भने होइनन्। उनी चाहिएको बेला फार्ममा पनि काम हेर्छन। उनी आवद्ध सबै संगठनमा गरेर पाँचसय जति कामदार छन्।
 

'स्वतन्त्रको हिमायती हुँ स्वच्छन्दको होइन'

एकातिर बिजनेस अर्कोतिर अध्यात्म। के विष्टका लागि यसले काममा चुनौती थपेको छैन ? विष्ट भन्छन्, 'मेरा दुई जीवनमा कन्ट्रयाडिक्ट आउँदैन। म दैनिक व्यापारमा कठोर बन्नुपर्ला। म कठोर बचन प्रयोग गर्नुपर्ने ठाउँमा छोड्दिन। मलाई ओशोको ज्ञान लिने ठाउँमा पनि झेन मास्टर जस्तो भन्थे।'

'म जहिले पनि मबाट आघात हुने काम नहोस् भनेर प्रार्थना गर्छु। म सहयोग गर्न पाउँ असहयोग नहोस् भन्ने कामना गर्छु,' उनी भन्छन्, 'म स्वतन्त्रको हिमायती हुँ स्वच्छन्दको होइन। मैले अरुलाई कुनै कुरामा हस्तक्षेप गर्नु नपरोस् भन्ने सोच्छु।'

'मेरो लवाइ यस्तै छ। मेरो जीवनको निर्णय मेरो हुन्छ। जब तपाईँलाई मैले यस्तो लगाएँ, कसैले केही भन्छ कि भन्ने सोच्नु भयो भने त्यो दिन तपाईँले कसैको बचन सुन्नै पर्छ। म सुट लाउँछु तर टाइ चाहि लगाउँदिन। दास बनाउने दासत्व स्वीकार नगर्ने भन्ने हुँदैन। कुकुरले सबैभन्दा धेरै चाकडी खोज्छ।