Bizmandu
www.bizmandu.com

सिचुवान एयरलाइन्सले नेपाल उडान सुरु गर्ने, पुसको अन्त्यदेखि छेङ्दू-ल्हासा-काठमाडौं उडान

सिचुवान एयरलाइन्सले नेपाल उडान सुरु गर्ने, पुसको अन्त्यदेखि छेङ्दू-ल्हासा-काठमाडौं उडान


काठमाडौं । सिचुवान एयरलाइन्सले नेपाल उडान सुरु गर्ने भएको छ। आन्तरिक तथा बाह्य गन्तव्यहरुमा उडान भर्दै आएको चीनको सिचुवान एयरलाइन्सले नेपालमा पनि उडान सुरु गर्न लागेको हो ।

नेपालको लागि सिचुवान एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी ट्राभल्स सर्भिस प्रालिका अनुसार सो एयरलाइन्सले आगामी पुसको अन्त्यदेखि छेङ्दू-ल्हासा-काठमाडौं उडान गर्ने भएको छ ।

सोसाइटी ट्राभल्सका टुर अपरेसन प्रमुख चन्दन श्रीवास्तवले भने, 'हामी छेङ्दू-ल्हासा-काठमाडौं २०१५ को जनवरी मध्यदेखि उडान सुरु गर्नेछौँ ।'

सिचुवानले सो रुटमा दैनिक एउटा उडान गर्ने जनाएको छ । नेपालमा चीनबाट आउने यात्रुहरुको संख्या बढ्न थालेपछि नेपाल राम्रो उडान गन्तव्य हुने बताउँदै सिचुवानले काठमाडौंलाई नयाँ अन्तर्राष्ट्रिय उडान गन्तव्यको रुपमा रोजेको जनाएको छ ।

यसअघि नै सिचुवान एयरलाइन्सका अध्यक्ष ली हाइयीङले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्ने कम्पनीको योजना अनुसार छेङ्दुबाट ल्हासा हुँदै काठमाडौँ उडान सुरु गर्ने बताएका थिए ।

नेपालमा सुख्खा मौसम सुरुभएसँगै पर्यटनको पिक सिजन भएकोले यही अवसर पारेर उडान सुरु गरिएको छेङ्दु दैनिकलाई गत कात्तिक पहिलो साता दिएको अन्तर्वार्तामा लीले भनेका थिए ।

उनले सिचुआन एयरलाइन्सको काठमाडौँ उडान छेङ्दुका मानिसका लागि नेपाल जाने सहज यातायात सुविधा र नयाँ गन्तव्य पनि हुने बताएका छन् ।

सिचुवानले नेपालमा एयरबस ३२० सिरिज जहाज मार्फत उडान गर्ने बताएको छ । यो एयरक्राफ्टमा एक ६४ सिट हुन्छ । जसमा आठवटा विजनेश क्लास र एकसय ५६ वटा इकोनोमिक क्लास छुट्याइएको छ ।

सन् १९८६ देखि चीनको सिचुवानबाट क्षेत्रीय गन्तव्यहरुमा उडान सुरु गरेको सो एयरलाइन्सले सन् २०१४ मा एसियामा उड्ने क्षेत्रीय एयरलाइन्समध्येबाट उत्कृष्ट एयरलाइन्सको अवार्ड जितेको थियो ।
 
सन् २००७ देखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गरेको सिचुवानले अहिले हङकङ, मेलबर्न, भान्कुवर, सिड्नी लगायतका गन्तव्यमा उडान भर्दै आएको छ ।

सिचुवालने विभिन्न गन्तव्यहरुमा ९३ वटा एयरक्राफ्ट मार्फत उडान गर्दै आएको छ । सिचुवानले एयरबस ए३१९, ए३२०, ए३२१, ए ३३० सिरिजका जहाज मार्फत उडान गर्दै आएको छ । यसले विजनेश र इकोनोमिक क्लासमा यात्रु ओसार्छ ।

चिनियाँ पर्यटकहरुको पर्यटकीय रोजाइको गन्तव्य रहेकोले काठमाडौं उडान सुरु गरिएको सिचुवानले जनाएको छ । श्रीवास्तवले भने, ' नेपाल चिनयाँहरुको लागि नेपाल पर्यटकीय र व्यापारिक गन्तव्य पनि हो त्यसैले हाम्रो उडानपछि चिनियाँहरुको लागि यात्रा सहज हुनेछ ।'

गत वर्षको तथ्याङ्क अनुसार नेपालमा चिनियाँ पर्यटकहरु करिव एक लाख भन्दा बढी पयर्यटक भित्रिएका थिए । आउँदो वर्ष यसको संख्या साढे दुईलाख पुग्ने अनुमान सो एयरलाइन्सले गरेको छ ।

'हामी ज्यादै उत्साहित भएका छौँ । सिचुवानले काठमाडौं गन्तव्य रोजेको छ । जसले गर्दा चिनियाँ पर्यटकहरुको लागि लादायक हुनेछ,' सोसाइटी ट्राभल्सका अध्यक्ष रवि चन्द्र सिंहले भने ।

चीनबाट काठमाडौं उडान गर्ने यो एयरलाइन्स चौथो हो । यसअघि एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्नले नेपालमा उडान गर्दै आएका छन् ।

श्रीवास्तवका अनुसार सिचुवानले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा उडानको लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेको जनाएका छन् । उनले भने, 'हामीले सबै प्रक्रिया पुरा गरेर बसेका छौँ । भनेको समयमा उडान सुरु गर्छौँ ।'