Bizmandu
www.bizmandu.com

रामेश्वर थापाले ३३ लाखमा सिजी टेलिकम किने

रामेश्वर थापाले ३३ लाखमा सिजी टेलिकम किने


उमेश पौडेल/बिजमाण्डू
काठमाडौँ । चौधरी समुहले टेलिकम ब्यवसायबाट हात झिकेको छ। समूह अन्तर्गतको सिजी टेलिकम हेलिकप्टर एवं सञ्चार उद्यमी रामेश्वर थापाले खरिद गरेका हुन्।

दुई करोड ७५ लाख चुक्ता पुँजी र ५० करोड रुपैयाँ अधिकृत पुँजी भएको कम्पनी थापाले ३३ लाख रुपैयाँमा खरिद गरेका हुन्। थापाले कम्पनीको सबै सेयर चिसापानी ७ रामेछाप निवासी सुरेशराज घिमिरेको नाममा खरिद गरेका छन।

थापाले घिमिरेको नाममा यसअघि पनि कारोवार गर्दै आएका थिए। थापा र घिमिरे अवाले जग्गा प्रकरणमा समेत संयुक्त रुपमा मुछिएका थिए। कारोवार विवरणमा घिमिरेको पैतृक सम्पत्तिबाट सिजीको सेयर किनेको उल्लेख छ।

सिजी टेलिकम चौधरी समुहका अध्यक्ष विनोदकी श्रीमती सारिका र जेठा छोरा निर्वाणका नाममा थियो। सारिकाको नाममा दुई हजार पाँच सय र निर्वाणको नाममा दुई करोड ७२ लाख पाँच सय कित्ता सेयर थियो। प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यको सेयर घिमिरेले १२ रुपैयाँका दरले खरिद गरेका छन्।
Tata
Jagdamba Steel
Sanima Bank


गत साउन  १० गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट सिजी टेलिकम घिमिरेको नाममा नामसारी समेत भैसकेको छ। सेयर खरिद बिक्री बारे चौधरी र घिमिरेबीच असार २४ मा नै निर्णय भएको थियो। उक्त सम्झौताको भोलीपल्ट निर्वाणले कम्पनी अध्यक्षबाट राजिनामा दिएका थिए।

किन सस्तैमा बेचियो?
चौधरी समुहले चुक्ता पुँजीको तुलनामा न्युन मूल्यमा कम्पनी बिक्री गरे पनि ठुलो दायित्व थापालाई जिम्मा लगाएको छ। आर्थिक बर्ष २०७१/७२ को विवरण अनुसार कम्पनीले कुमारी बैंकलाई नौ करोड २४ लाख नौ हजार ८२१ रुपैयाँ ऋण तिर्न बाँकी छ।

यो दायित्व अब थापाको टाउकोमा सरेको छ। सोहि वर्षको विवरण अनुसार कम्पनीको सम्पत्तिको रुपमा ३९ हजार ३९० रुपैयाँ बिभिन्न बैंकमा नगद मौज्दात छ।

ग्रामिण भेगमा सेवा प्रदान गर्दै आएको एसटिएम टेलिकम खरिद गरि तीन बर्ष अघि चौधरी समुहले दूरसञ्चार क्षेत्रमा हात हालेको थियो। तर अपेक्षा गरे अनुरुप कम्पनीको विस्तार भने हुन सकेको थिएन। कर्मचारी आन्दोलन लगायतका बिभिन्न अवरोध कम्पनीले झेल्नु परेको थियो।

खुम्चिएको थियो कारोवार
ग्रामिण क्षेत्रमा सेवा विस्तारका लागि एसटिएम टेलिकम सञ्चार प्रा.लि.को स्थापना गरिएको थियो। सुरुमा कम्पनीलाई पूर्वाञ्चलका ५३४ गाविससहित नेपालको ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि अनुमति प्रदान गरिएको थियो। ग्रामिण क्षेत्रसम्म दूरसञ्चार सेवा विस्तार गर्नका लागि सरकारले विश्व बैंकसँग एक करोड १८ लाख ५० हजार डलर ऋण लिएर कम्पनीलाई अनुदानमा दिएको थियो।

२०६० मंसिर ५ गते एक लाख रुपैयाँ तिरेर अनुमति प्राप्त गरेको एसटिएमले सुरुवाती दिनमा पिसिओबाट सेवा सुरु गरेको थियो। भिस्याट तथा एमएफटिडिएमए प्रविधि प्रयोग गरेको एसटिएमको सेवा लागत महँगो थियो। एनसेल र नेपाल टेलिकमले ग्रामिण भेगसम्म सेवा विस्तार गरेपछि कम्पनीको कारोवार खुम्चिँदै गएको थियो।

कम्पनीसँग जिएसएमको नौ सय व्याण्डमा २.४ मेगाहर्जका दुई वटा स्लटमा फ्रिक्वेन्सी व्याण्ड छ। यो फ्रिक्वेन्सीमा कम्पनीले ८० हजारसम्म ग्राहक विस्तार गर्न सक्छ। तर दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीसँग भिस्याट प्रविधिमा २८३२ तथा लिमिटेड मोविलिटी सेवामा १५५ जना गरी २९ सय ग्राहक छन्।

किन किनेका थिए चौधरीले
नेपालको टेलिकम सेवामा प्रवेश गर्ने विनोद चौधरीको पुरानो चाहना हो। तर त्यसका लागि उनी आफैले कम्पनी स्थापना गरेर दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स पाउने सम्भावना भने थिएन। सम्भावना नभएपछि चौधरीले ग्रामिण दूरसञ्चारको लाइसेन्स भएको एसटिएम खरिद गरेर त्यसलाई सिजी टेलिकममा रुपान्तरण गरे।

तर उनले अपेक्षा बमोजिम दूरसञ्चार प्राधिकरणबाट जिएसएम सेवा विस्तारको अनुमति भने पाएनन्। यही बेला प्राधिकरणले पनि युनिफाइड लाइसेन्सको अवधारणा ल्यायो। यो लाइसेन्स लिएपछि कम्पनीले दश वर्षमा राज्यलाई २० अर्व रुपैयाँको नविकरण शुल्क तिर्नुपर्छ।

चौधरी निकटहरुले दिएको जानकारी अनुसार उनले त्यसका लागि समेत तयारी गरेका थिए। उनले बहुराष्ट्रिय टेलिकम कम्पनी भोडाफोनसँग सिजी टेलिकममा लगानी गरेर विस्तार गर्ने नन बाइन्डिङ एग्रिमेन्ट समेत गरेका थिए। तर उनले पटक पटक प्रयास गर्दा पनि युनिफाइड लाइसेन्स लिन भने सकेनन्।

उनलाई एसटिएमले लाइसेन्स लिंदा राखिएको सुरुको शर्त पूरा नगरेको भन्दै युनिफाइड लाइसेन्सका लागि योग्य बन्नै दिइएन। नेपालको टेलिकम क्षेत्रमा सेवा विस्तारका लागि चौधरीको स्वदेशी तथा विदेशी पहुँचले समेत काम गरेन्। आफूले युनिफाइड लाइसेन्स नपाउने तर कम्पनीको दायित्व भने हरेक वर्ष थपिंदै जाने भएपछि उनी सिजी टेलिकम छाड्ने अवस्थामा पुगेको स्रोतहरुले बताए।

सिजी टेलिकमले कारोवार नगरे पनि कम्पनीसँग तीन दर्जन कर्मचारी थिए। चौधरीले कम्पनी किनेदेखि नै उनीहरु आन्दोलनमा थिए। पछिल्लोपटक एक महिना अघि पनि उनीहरुले आन्दोलन गरेका थिए।