दुई इन्सुरेन्स कम्पनीको सेयर एक सयभन्दा बढी बढ्यो, युनिलिभरमा ब्रेक

बिजमाण्डू
२०६९ भदौ २५ गते ००:०० | Sep 10, 2012

काठमाडौं । इन्सुरेन्स कम्पनीका सेयरधनी मालामाल हुने क्रम सोमवार पनि रोकिएन, अझ बढ्यो । सोमवार नेपाल लाइफ इन्सुरेन्सका सेयरधनी प्रतिसेयर ११० रुपैयाँले धनी भए । सोमवार पनि लाइफ इन्सुरेन्सको प्रतिकित्ता सेयर ११० रुपैयाँले बढेर प्रतिकित्ता १२१२ रुपैयाँ पुग्यो ।
आइतवार पनि नेपाल लाइफको एक सय रुपैयाँले सेयर मूल्य बढेको थियो भने त्यसअघि विहिवार पनि ८८ रुपैयाँले सेयर मूल्य बढेको थियो । नेपाल लाइफ मात्रै होइन लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य पनि सोमवार १०३ रुपैयाँले बढ्यो । लाइफ इन्सुरेन्सको प्रतिसेयर मूल्य ११४० रुपैयाँ पुग्यो ।
सगरमाथा इन्सुरेन्स कम्पनीको सेयर मूल्य २६ रुपैयाँले बढ्यो भने सोमवार राष्ट्रिय विमा संस्थानको सेयर मूल्य समेत २० रुपैयाँले बढेर प्रतिकित्ता १६४० रुपैयाँमा कारोवार भयो ।
लामो समयपछि युनिलिभरको सेयर कारोवारमा व्याक गियर लाग्यो । झण्डै एक महिनादेखि लगातार वृद्धि भैरहेको युनिलिभरको सेयर मूल्य सोमवार १३० रुपैयाँले घटेर प्रतिकित्ता आठ हजार १५० रुपैयाँमा कारोवार भयो ।
नागरिक लगानी कोषका सेयरधनी पनि सोमवरा ५० रुपैयाँले धनी भए । कोषको सेयर मूल्य प्रतिकित्ता ५० ले बढेर ६७७ रुपैयाँमा कारोवार भयो ।
चिलिमे हाइड्रोपावरको सेयर मूल्य दुई रुपैयाँले घटे पनि सोमवार सबैभन्दा बढी कारोवार चिलिमेको भयो । चिलिमेको सोमवार ७६ लाख रुपैयाँको कारोवार भयो । दोस्रो स्थानमा नेपाल टेलिकमको ५६ लाख रुपैयाँको सेयर कारोवार भयो ।

Tata
GBIME