भारतीय धनाढ्य मुकेश अम्बानी मिडिया बिजनेशमा छिरे, ४० अर्ब भारुमा नेटवर्क १८ खरिद

बिजमाण्डू
२०७१ जेठ १६ गते ००:०० | May 30, 2014
भारतीय धनाढ्य मुकेश अम्बानी मिडिया बिजनेशमा छिरे, ४० अर्ब भारुमा नेटवर्क १८ खरिद

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले मिडियाको क्षेत्रमा भारतको हालसम्मकै ठूलो लगानी गरेको छ । रिलायन्सले नेटवर्क १८ तथा यसको सहायक कम्पनी टिभी १८ को बहुमत सेयर खरिद गर्न ४० अर्ब भारु लगानी गर्ने निर्णय गरेको हो ।
नेटवर्क १८ भारतकै ठुलो मध्येको एक ब्रोडकाष्टर कम्पनी हो । यसले समाचार र मनोरञ्जन च्यानलसँगै इकमर्स व्यवसाय पनि सञ्चालन गर्दै आएको छ । भारतको तेल र ग्यास क्षेत्रलाई नेतृत्व गर्दै आएको रिलायन्सको यो खरिदपछि मिडियामा पनि अब्बल उपस्थिती हुनेछ । रिलायन्सले नेटवर्क १८ मा ७८ प्रतिशत र टिभी १८ मा नौ प्रतिशत सेयर लिन लागेको हो ।
अम्बानीले इन्डेपेन्डेन्ट मिडिया ट्रष्ट (आईएमटि)बाट मिडियामा लगानी गर्दै आएको छ । यो ट्रष्टको पूर्ण लाभकर्ता रिलायन्स इनडष्ट्रिज हो । सन् २०१२ मा रिलायन्सले यो समूहको केही सेयर खरिद गरेको थियो । सन् १९९६ मा स्थापना गरिएको यो कम्पनीमा बहुमत सेयर खरिद गर्न रिलायन्स बोर्डले आईएमटिलाई ४० अर्ब भारु दिने निर्णय गरेको छ ।
सन् १९९६ मा राघव बालले नेटवर्क १८ को सुरुवात गरेका थिए । यो कम्पनी सन् २००६ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको थियो । यो कम्पनी सन् २००७ को फेब्रुअरी महिनामा बम्बई स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्जमा सूचिकृत भएको थियो । पाँच भारतीय रुपैयाँ फेस भ्यालु भएको यो कम्पनीको सेयर शुक्रवार १७ प्रतिशतले वृद्धि भएको छ । वृद्धिपछि बिएसईमा प्रतिकित्ता ३१२ र एनएसईमा ३०० मा कारोवार भएको थियो ।
कम्पनीमा अहिले झण्डै पाँच हजार कर्मचारी कार्यरत छ, यो कम्पनीको वार्षिक कारोवार २० अर्ब भारुभन्दा बढी छ ।  नेटवर्क १८ अन्तर्गत लोकप्रिय वेवसाइट इनडटकम, आइबीएनलाइव डट कम, मनीकन्ट्रोल डट कम, फष्टपोष्ट डट कम, क्रिकेटनेक्स्ट डट कम लगायत छन् ।
त्यस बाहेक टिभी १८ अन्तर्गत कलर्स, सिएनएनआईबीएन, सिएनबिसी टिभी १८, आईबीएन लगायतका टेलिभिजन च्यानल छन् । नयाँ डिल पछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत बि साइ कुमारले राजीनामा दिएका छन् ।

Tata
GBIME
Nepal Life