
काठमाडौ । यो वर्ष अधिकत्तम १४ घण्टा लोडसेडिङ गर्ने तयारी विद्युत प्राधिकरणले गरेको छ । प्राधिकरणले उपभोक्तालाई थप लोडसेडिङको मार नपार्न भारतबाट विद्युत आयात गर्ने तयारी गरेको हो ।
प्राधिकरणको २८ औं वार्षिकउत्सवको अवसरमा कामु कार्यकारी निर्देशक महेन्द्र लाल श्रेष्ठले दैनिक १२ देखि १४ घन्टा भित्रै लोडसेडिङ राख्न भारतबाट विद्युत आयात गरिने जानकारी दए । गत वर्ष उपभोक्ताले १६ घन्टा लोडसेडिङ खेप्नुपरेको थियो । लोडसेडिङ १२ देखि १४ घन्टाभित्रै राख्न भारतबाट थप विद्युत ल्याइनेछ, श्रेष्ठको भनाइ छ ।
विगत केही वर्षदेखि सञ्चालनमा नरहेको गण्डक –रामनगर १३२ केभी प्रसारण लाइन, बीरगञ्ज– रक्सौल ३३ केभी प्रसारण लाइन र भैरहवा– सुनौली ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएर थप ५० मेगावाट विजुली आयात गरिने प्राधिकरणले जनाएको छ । प्रतिवेदनमा आगामी सुख्खायाम सुरु हुने बेलासम्म कुलेखानी जलासय भरिने गरी तापीय विद्युत केन्द्रहरु सञ्चालनमा ल्याइने उल्लेख छ ।
विद्युत चुहावटबाट सबैभन्दा बढी समस्या खेपेको प्राधिकरणले यो वर्ष चुहावट दर २३ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । राजनीतिक दल, नागरिक समाज र स्थानीयको सहयोगमा विद्युत चोरी नियन्त्रण गर्ने दावी गरेको छ । प्राधिकरणले हेटौंडाको डिजेल प्लान्ट र मल्टिफ्युल प्लान्टको छिटो मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउने योजना समेत राखेको छ ।