विदेशमा लगानी गर्न दिने पक्षमा राष्ट्र बैंक, पुँजी र नाफा फर्किनु पर्ने सर्त, सरोकारवालसँग छलफल

बिजमाण्डू
२०६९ चैत्र १६ गते ००:०० | Mar 29, 2013
विदेशमा लगानी गर्न दिने पक्षमा राष्ट्र बैंक, पुँजी र नाफा फर्किनु पर्ने सर्त, सरोकारवालसँग छलफल


काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली पुँजी अन्य देशमा लगेर लगानी गर्ने वातावरण तयार पार्न छलफल सुरु गरेको छ । राष्ट्र बैंकले आज योजना आयोग, अर्थमन्त्रालय, व्यवसायी, बैंकर्सलगायतसँग वृहत्त छलफल गर्दैछ ।
राष्ट्र बैंकले होटल याक एन्ड यतिमा ‘नेपाली पुँजी तथा वित्तीय खाता परिवर्तताको संभाव्यता’ गोष्ठी आयोजना गर्दैछ । गोष्ठीको मूख्य उद्देश्य विदेशी पुँजी भित्राएजस्तै नेपाली पुँजी पनि वाहिर लगानी गर्न आवश्यक नीतिगत व्यवस्था मिलाउन वातावरण वनाउनु हो ।
राष्ट्र बैंकले वित्तीय खाता परिवर्तता गर्न आवश्यक वातावरण वनाउनु पर्ने भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेत उल्लेख गरेको छ । राष्ट्र बैंक वाहिर लगिने मूल पुँजी र त्यसबाट आउने प्रतिफल पारदर्शी रुपमा नेपाल भित्रिने गरि वाहिर लगानी गर्न दिने पक्षमा छ ।
गभर्नरले  विभिन्न कार्यक्रमहरुमा वाहिर गएको पुँजीबाट मुलुकमा त्यसको नाफा, सुरुको पुँजी फर्किन सक्ने हिसावले विदेशीमा लगानी गर्दा ठिकै हुन्न भन्ने हिसावले अध्ययनहरु भइरहेको बताउँदै आएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री शंकर कोइराला हुने छन् । कार्यक्रममा योजना अयोगका उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्री, अर्थसचिव शान्तराज सुवेदी, गभर्नर युवराज खतिवडा, बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारी, नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका पदाधिकारीहरु उपस्थित हुने छन् ।
विदेशमा लगानी गर्नका लागि आवश्यक कानुन बनाउनु पर्ने भन्दै व्यवसायीहरुले आवाज उठाउन थालिरहेका बेला राष्ट्र बैंकले छलफल सुरु गरेको हो । राष्ट्र बैंकको अनुसन्धान विभगाले यस बारेमा आवश्यक अध्ययन पनि थालिरहेको छ ।

Tata
GBIME

एक अन्तर्वातामा गभर्नरले विदेशमा लगानीका बारेमा व्यक्त गरेको भनाइ जस्ताको त्यस्तै
हामीले सबै खालको पुँजीलाई सहजीकरण गर्न लागेको होइन। एकदमै वैधानिक ढंगले,  संस्थागत हिसाबले जाने पुँजीको कुरा गरेको हो। बाहिर गएको पुँजीबाट मुलुकमा त्यसको नाफा, सुरुको पुँजी फर्किन सक्ने हिसाबले केही गर्न सकिन्छ कि भन्ने सन्दर्भमा अध्ययनहरु गरिरहेका छौं।
अहिले कतिपय विदेशी संस्थाहरुले यहाँ लगानी गरेबापत प्राप्त वार्षिक अर्बौ प्रतिफल लगिरहेका छन्। हाम्रा पनि कम्पनीले विदेशमा काम गरेर लाभांश ल्याउने अवस्था बन्यो भने त राम्रै हो नि।
नेपालमा लगानीको खाँचो छ, यही लगानी गरे हुन्छ नि भन्ने पनि छ, त्यस्तो हुँदैन। कसैको विशेषज्ञता विद्युत, सडक वा मदिरामा हुन सक्छ। यही लगानी गरेर बजार नहुन सक्छ। निर्यात महँगो पर्न सक्छ। त्यस्तो संस्था जसले आफ्नो विशेषज्ञताका हिसाबले विदेशमा लगानी गर्न सक्छ र सुरु पुँजी र प्रतिफल सबै ल्याउने वातावरण बन्छ भने त्यस्तो स्थितिमा हामीले पनि नीतिगत हिसाबले सोच्दै जानु पर्छ। अप्राकृतिक र अवैध हिसाबले पुँजी लैजानलाई सहज बनाउन हुँदैन। अहिले नेपाल पुँजी कम भएको र विदेशी पुँजी परिचालन गर्नु पर्ने मुलुक भएकाले हाम्रो प्राथमिकता भनेको पुँजी ल्याउने नै हो।