असन्तुष्ट जनजाती नेतालाई एमालेले कारवाही गर्यो, जिम्मेवारी हेरफेर

बिजमाण्डू
२०६९ साउन ५ गते ००:०० | Jul 20, 2012
असन्तुष्ट जनजाती नेतालाई एमालेले कारवाही गर्यो, जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा एमालेले जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका अदिवासी जनजाति नेतालाई कारवाही गर्दै जिम्मेवारीबाट हटाएको छ । एमालेले उपाध्यक्ष अशोक राईलाई मोर्चा तथा संगठन विभागको इन्चार्जबाट हटाइएको छ, त्यसैगरी राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्जबाट बिजय सुब्बालाई, लोकतान्त्रिक जनजाति महासंघको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई, बुद्धिजिवी विभागबाट रकम चेम्जोङलाई हटाएको छ ।
कार्यालय सचिव परशुराम मेघी गुरुङका अनुसार उपाध्यक्ष राईको ठाउँमा सचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ । लोकतान्त्रिक जनजाति महासंघको इन्चार्जमा रघुवीर महासेठलाई, जनसांस्कृतिक महासंघको इन्चार्जमा प्रदीप नेपाललाई ल्याइएको छ ।
बुद्धिजिवी विभागबाट चेम्जोङलाई हटाएर गोकर्ण विष्टलाई दिइएको छ भने समावेशी विभागमा किरण गुरुङको ठाउँमा उर्मिला अर्याललाई ल्याइएको छ । एमालेले राजेन्द्र श्रेष्ठलाई यसअघि नै उपत्यका इन्चार्जबाट हटाइसकेको छ । उहाँको ठाउँमा स्थानमा केपी ओली निकट कृष्णगोपाल श्रेष्ठलाई ल्याइएको छ ।
अन्य विभागमा जिम्मेबारी फेरफेर गरेको एमालेले असन्तुष्ट नेताहरुलाई भने नयाँ जिम्मेबारी दिइएको छैन । श्रोतका अनुसार पार्टीको औपचारिक कार्यक्रम र बैठक बहिस्कार गरेकाले काममा नफर्किएसम्म असन्तुष्ट नेताहरुलाई जिम्मेवारी दिइने छैन । एमाले स्रोतले यसलाई सांकेतिक कारवाही भनेको छ ।
जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका राईसहितका जनजाति र मधेसी नेताहरुले ‘अग्रगामी विचार सूमह’ भन्दै पार्टीको औपचारिक बैठक तथा कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।

Tata
GBIME
Nepal Life