समस्याग्रस्त २२ ठूला सहकारी छानविनमा, घरजग्गामा बैंकले लगानी रोकेपछि सहकारीबाट लगानी

बिजमाण्डू
२०६९ फागुन २२ गते ००:०० | Mar 5, 2013
समस्याग्रस्त २२ ठूला सहकारी छानविनमा, घरजग्गामा बैंकले लगानी रोकेपछि सहकारीबाट लगानी


काठमाडौं । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सहकारीका सञ्चालकहरुले सदस्यहरुको निक्षेप आफु खुसी प्रयोग गर्ने प्रवृती बढ्दै गएको बताएका छन् । सिमित व्यक्तीको चलखेलले सिंगो सहकारी क्षेत्र नै धरासायी बन्दै गएको उनको भनाई छ । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले मंगलबार आयोजना गरेको ‘वित्तीय सहकारीका समस्या र समाधान’ विषयक अन्र्तरक्रियामा डेपुटी गभर्नर अधिकारीले सहकारीमा अनेक प्रलोभन पारेर सर्बसाधारणबाट पैसा जम्मा गर्ने र भाग्ने प्रवृती बढेको बताए ।

समस्याग्रस्त सहकारीको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको संयोजक समेत रहेका डेपुटी गर्भनर अधिकारीले २२ वटा सहकारीको वित्तीय विवरण अध्ययन गरिरहेको जानकारी दिए, समस्यामा परेका र नपरेका ठुला सहकारीको वित्तीय विवरण मगाएर अध्ययन गरिरहेका छौं, उनले भने ।
सहकारी बैँकभन्दा फरक सिद्वान्त भएकाले सहकारीमा समस्या देखा पर्दा सामान्यरुपमा हेर्न नहुने उनेको सुझाव थियो । सहकारी, गैरसरकारी र लघुवित्तको काम गर्ने संस्थालाई अनुगमन गर्न छुट्टै निकाय गठन गर्न जरुरी रहेको डेपुटी गभर्नर अधिकारी बताए । सहकारीलाई राष्ट्र बैंकले अनुगमन गर्न नमिल्ने र आवश्यक परेका अनुगमनका लागि प्राविधिक सहयोग मात्र गर्ने उनले बताए । सहकारीलाई नेपाल राष्ट्र बैंक अन्र्तगतका विभिन्न कोष संचालन गर्न दिएको उल्लेख गर्दै केन्द्रीय बैंक सहकारीप्रति सकारात्मक रहेको अधिकारीले दावी  गरे ।
सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारी अनुशासनमा बस्न नसकेकाले समस्या उत्पन्न भएको बताए । सहकारीमा आकर्षक ब्याजको लोभमा निक्षेप जम्मा गर्ने प्रवृति बढेकाले त्यसलाई निरुत्साहित गर्न लागिपरेको उनले जानकारी दिए । सहकारीले घरजग्गामा अत्याधिक लगानी गरेकाले समस्या देखिएको न्यौपानेको भनाइ छ । राष्ट्र बैंक र विभागवीच समन्वय  हुन नसक्दा घरजग्गामा लगानी भएका सहकारी समस्यामा पर्न गएको उनले बताए ।
राता रात नाफा कमाउने  लोभले गर्दा सहकारी बदनाम बन्दै गएको न्यौपानेको भनाई छ । सहकारीमार्फत उत्पादन, रोजगारी, र गरिवी निवारण गर्न आवश्यक छ’ उनले भने । सहकारीमा समस्या आयो टाट पल्टन लाग्यो भने  त्यसलाई कडाई गर्ने अधिकार हामीसंग छैन, न्यौपानेले भने, सचेत गर्ने र सुधार गर्न समय सीमा दिन बाहेक हामी केही गर्न सक्दैनौ । राष्ट्र बैंकले घरजग्गामा लगानी कडाइ गरेपछि सहकारीको लगानी घरजग्गामा बढेको उनले बताए ।
राष्ट्रिय सहकारी बैँकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीले उत्पादनमूलक क्षेत्रमा जान खोजेको बताए । हामी बित्तीय क्षेत्रमा मात्र सीमित हुन चाहदैनौँ उनले भने, सहकारी सहकारी मिलेर जलविद्युतमा लगानी गर्न खोजेका छौं । नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले  सिमित सहकारीको समस्या देखाएर केही बैंक र बैंकर्स संघ सहकारी सिध्याउन लागेको आरोप लगाए । नीतिमा सहकारी प्रथामिकतामा परे पनि राष्ट्र बैंक, अर्थ मन्त्रालयले यसको विकासमा चासो नदेखाएको उनेको आरोप थियो ।

Tata
GBIME