काठमाडौं। कम्पनीको नाम नै किटेर सेयर खरिद बिक्री गर्न सामाजिक सञ्जालका विभिन्न प्लेर्टफर्ममार्फत उक्साउने इन्फ्लुएन्सरलाई नियमनको दायरामा ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बेवास्ता गरेको छ।
इन्फ्लुएन्सरहरुले बजार नै तलमाथि बनाउने गरी लगानीकर्तालाई कम्पनीको सेयर खरिद बिक्री गर्न उक्साउँदै आएका छन्।इन्फ्लुएन्सरलाई फलो गरेर लगानी गर्न ह्वीम नै चलिरहेको छ। जसले सेयर बजारको गतिलाई अस्वाभाविक बनाउन बल पुर्याएको जानकारहरु बताउँछन्।
बजारलाई नै प्रभावित पार्ने गतिविधलाई नियमनको दायरामा ल्याउन ढिला गर्न नहुने जानकारहरु बताउँछन्।
‘बजार वा कम्पनीको मूल्य यहाँ पुर्याउँछु, त्यहाँ लैजान्छु भन्ने कुरा नै गलत हो। सामाजिक सञ्जालमा भइरहेको इन्फ्लुएन्सरको गतिविधिलाई नियमनको दायरामा ल्याउनुपर्छ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने, ‘कोभिडपछि सोसल मिडियाको प्रयोग ह्वात्तै बढेर गएको छ। बजारलाई प्रभावित पार्ने गतिविधिलाई त्यतिकै छोड्नु हुँदैन।’
सामूहिक रुपमा माग बढाएर कम्पनीको मूल्य बढाउन क्लब हाउस, ह्वाट्स एप, भाइबर, फेसबुक लगायत सामाजिक सञ्जालमा इन्फ्लुएन्सरहरुले अभियान नै चलाइरहेका छन्।
उनीहरुले बजार इन्डेक्स मात्र होइन, कम्पनीको सेयर मूल्य कति पुर्याउने भन्ने ग्यारेन्टीसहित लगानी गर्न उक्साइरहेका छन्।
कम्पनीको सेयर मूल्य बढाउन कारोबारकै अवधिमा सल्लाह दिने काम भइरहेको छ। ‘केही भेट्नु भएको छैन भने सिटी होटल छ किन्न। १२०० जान्छ। अब बाइ गर्ने तयारी गर्नुस्,’ ह्वाट्स एप ग्रुप बनाएर एक एन्फ्लुएन्सर लगानीकर्तालाई सेयर किन्न उक्साउँछन्।
सिटीको सेयर मूल्य बुधबार प्रति कित्ता ६०५ रुपैयाँ पुगेको छ। सिटी होटल हकप्रद सेयर निष्कासनको प्रक्रियामा छ। बुक क्लोजअघि कम्पनीको सेयर मूल्य यही ह्वाट्स एप ग्रुपबाटै दोस्रो बजारमा लगानीकर्तालाई खरिद गर्न उक्साएर एन्फ्लुएन्सरले नै उचाल्न भूमिका निर्वाह गरेका थिए।
सिटी होटल मात्रै होइन, इन्फ्लुएन्सरले आफूले चाहेका अन्य कम्पनीको मूल्य लगानीकर्तालाई प्रभावित पारेर उचालिरहेका छन्। जसले गर्दा सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा परेको छ।
लगानीकर्तालाई उक्साउनेहरुलाई नियमनको दायरामा ल्याउन बहानाबाजी गर्न नहुने जोशीले बताए।
‘सामाजिक सञ्जालमा कसैको लहैलहैमा लागेर सर्वसाधारण लगानीकर्ताको पैसा फस्ने अवस्था हुनुहुँदैन। तर, इन्फ्लुएन्सरहरुलाई कसरी कन्ट्रोल गर्ने भन्नेमा सेबोन द्धिविधामा रहेको देखिन्छ,’ जोशीले भने, ‘नियमन सेबोनले गर्ने कि साइबर ब्युरोले भन्ने अलमल हो भने सरकारले नयाँ व्यवस्था गर्नुपर्छ। सेबोनभित्र छुट्टै संरचना बनाएर कन्ट्रोल गर्न सकिन्छ।’
गत वर्ष साउनमा सेयर बजार उकालो लागेका बेला कारोबारी दीपेन्द्र अग्रवालको पछि लाग्दा लगानीकर्ता फसेका थिए। दीपेन्द्रको उक्साहटमा फाइनान्स कम्पनी र विकास बैंकको सेयर खरिद गरेका लगानीकर्ताको पैसा डुबेपछि रुवाबासी नै चलेको थियो। उनीहरुले दीपेन्द्रको लहलहैमा लागेर प्रति कित्ता २७०० रुपैयाँमा किनेको नेपाल फाइनान्सको सेयर ७०० रुपैयाँमा झरेको थियो।
बजारमा दीपेन्द्रका फलोअर हजारौंको संख्यामा छन्। त्यसको फाइदा उठाउँदै उनले कम्पनीको मूल्य कहाँसम्म पुग्छ भन्ने तोकेरै लगानीकर्तालाई पैसा हाल्न लगाउने गरेका छन्।
बजारमा कुन कम्पनीको मूल्य बढाउने भन्ने बहस क्लब हाउसका ग्रुपहरुमा हरेक दिन चलिरहेको हुन्छ, त्यहाँ हजारौं संख्यामा लगानीकर्तालाई इन्फ्लुएन्सरहरुले सेयर मूल्यबारे बताउने गरेका छन्।
सेयर बजारलाई नै प्रभावित पार्ने गिरोह सामाजिक सञ्जालमा सक्रिय रहँदा नियामक सेबोन भने मौन देखिएको छ। विश्लेषक अनलराज भट्टराई कानुनले नै स्पष्टरुपमा व्यवस्था गरेर यस्ता गतिविधिलाई नियमनको दायरामा ल्याउनुपर्ने बताउँछन्।
‘यस्ता गतिविधिलाई नियमनको दायरामा ल्याउन नसकिने भन्ने होइन। पहिले सेबोनले कानुनमा स्पष्ट डेफिनेसन गरेर त्यसको आधार बनाउनुपर्छ,’ उनले भने, ‘विज्ञको लाइसेन्सिङ व्यवस्था गर्नुपर्यो। बाहिरतिर यस्ता गतिविधि नियामकको नियमन भित्रै छन्।’
धितोपत्र सम्बन्धी ऐनले सेयर बजारको नियमाकको जिम्मेवारी सेबोनलाई दिएको छ। सेयर बजारमा कुनै कम्पनीको मूल्य प्रभावित पार्ने गरी गतिविधि गर्न नपाइने व्यवस्था ऐनले नै गरेको छ।
‘कसैलाई सेयर किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउनु धितोपत्र बजारलाई प्रभावित पार्ने काम हो,’ ऐनमा उल्लेख छ।
बजारलाई प्रभावित पार्ने काम गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ। तर, कानुन विपरीतका गतिविधिमाथि सेबोनले नियमन गरेको छैन।
सेबोन प्रवक्ता निरञ्जय घिमिरेले कानुन विपरीतका गतिविधि भएको पाइए कारबाही गरिने बताए। ‘धितोपत्र सम्बन्धी कानुनी व्यवस्थाविपरीत गतिविधि कसैले गरेको पाइए बोर्डले कारबाही अगाडि बढाउँछ,’ उनले भने।










