बागमतीको अर्थतन्त्र : घरजग्गा कारोबारदेखि औद्योगिक उत्पादनमा गिरावट, कर्जा १९.३% ले वृद्धि

बिजमाण्डू
२०८२ असार १६ गते १८:३५ | Jun 30, 2025
बागमतीको अर्थतन्त्र : घरजग्गा कारोबारदेखि औद्योगिक उत्पादनमा गिरावट, कर्जा १९.३% ले वृद्धि

काठमाडौं। बागमती प्रदेशमा औद्योगिक उत्पादनदेखि घरजग्गा कारोबारमा गिरावट आएको देखिएको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकको अध्ययनले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्धवार्षिक अध्ययन प्रतिवेदनले बागमतीको औद्योगिक उत्पादन निक्कै कमजोर देखाएको हो।

उद्योगको औसत उत्पादन क्षमता उपयोग ३३.८ प्रतिशत मात्र छ। गत वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोग ४१.० प्रतिशत थियो। औद्योगिक क्षेत्रमा कर्जा भने कूल कर्जाको ३६.६ प्रतिशत लगानी भएको छ।

यस्तै, घरजग्गाको कारोबार ६.८ प्रतिशतले घटेको छ।

प्रतिवेदन अनुसार खाद्य बालीले ढाकेको भू–क्षेत्र घटेको छ। बागमतीमा यसवर्ष पहिलो ६ महिनामा पोहोरको सोही अवधिको तुलनामा खाद्य बालीले ढाकेको भू–क्षेत्र ५.३ प्रतिशतले घटेको हो।

प्रतिवेदन अनुसार खाद्य बालीको उत्पादन ४.३ प्रतिशतले घटेको छ। धान उत्पादन १.१, मकै ३.७, कोदो ५.१ प्रतिशत, गहुँ १५.५ प्रतिशत र जौ ३६ प्रतिशतले घटेको छ।

फापरको उत्पादन भने ४.४ प्रतिशतले बढेको छ। यस्तै, तरकारी उत्पादन २१.८ प्रतिशतले बढेको छ।

पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन २.२, मासु ३.१ र अण्डा उत्पादन ०.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट बागमतीमा कृषि, वन र माछापालन क्षेत्रमा १ खर्ब २० अर्ब ११ करोड कर्जा लगानी भएको छ। यो रकम बागमतीमा प्रवाहित कर्जाको ३.७३ प्रतिशत हो।

यस्तै होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी) केही बढेको छ। होटलको अकुपेन्सी पोहोर ५०.६ प्रतिशत रहेकामा यसपालि ५२.५ प्रतिशत पुगेको छ।

बागमतीमा कर्जा लगानी १९.३ प्रतिशतले वृद्धि भएको छ। निक्षेपको वृद्धिदर ७.९ प्रतिशतमा सीमित छ।