
काठमाडौं। नेपाल नाडा अटोमोबाइल एसोसिएसनकी राजस्व समिति सभापति यमुना श्रेष्ठले उद्यमशीलताका लागि परम्परागत सोच परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन्।
नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलनको महिला उद्यमशीलना : समतामूलक आर्थिक विकासको दिशा सम्बन्धी छलफल सत्रमा उनले यो धारणा राखेकी हुन्।
‘हामीले अहिले पनि आशिर्वाद दिँदा डाक्टर वा इन्जिनियर बनोस् भन्ने चलन छ। हामीले कहिल्यै पनि उद्योगी र व्यापारी बनोस् भनेर आशिर्वाद दिने गरेका छैनौं,’ साइमेक्स इन्ककी प्रबन्ध निर्देशक समेत रहेकी श्रेष्ठले भनिन्, ‘सुरुमा हाम्रो माइन्ड सेट परिवर्तन गर्न जरुरी छ। त्यसपछि उद्यमशीलता अगाडि बढ्छ। उद्यमी बन्नुपर्छ भन्ने सोचको विकास हुनुपर्छ।’
उनले उद्यमशीलताका बाधकका बारेमा अझै खोतल्दै स्वदेशमै व्यापार गर्न खोज्दा पैसा नदिने तर विदेशका लागि ठूलो रकम खर्च गर्ने मानसिकता रहेको बताइन्।

‘हाम्रो सामाजिक चेतनामा सुधार गर्न आवश्यक देखेको छु। नेपालमै व्यापार गर्छु भन्दा अभिभावकले पैसा दिनुहुन्न। तर विदेश जानका लागि ३०/४० लाख रुपैयाँ सजिलै घरखेत राखेर भएपनि दिने गरिन्छ,’ श्रेष्ठले भनिन्, ‘विवाह गर्नका लागि लाखौं खर्च गर्न उहाँहरु तयार हुनुहुन्छ।’
उनले उद्यमशीलताका लागि लैंगिक हिसाबले पनि पुरुषलाई भन्दा महिलालाई कठिन रहेको बताउँदै सामाजिक संरचनाले पनि थिचेको धारणा राखिन्। ‘जति पनि व्यवसायीहरु हुनुहुन्छ, महिलाहरुले सहयोग नगरेको भए सफल हुन सक्नुहुन्थेन,’ श्रेष्ठले भनिन्, ‘महिला व्यवसायीलाई घर र बच्चाबच्ची सम्हालेर अगाडि बढ्नुपर्छ।’
उनले कठिनाईका बाबजुद पनि महिलाहरुले उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेको बताउँदै अटोमोबाइल एशोसिएसनको ४६ वर्षको इतिहासमा पहिलो पटक कार्यसमितिमा महिला आएको बताइन्। ‘मैले आफ्नै उदाहरण दिनुका पछाडि उद्योग व्यवसायमा विस्तारै महिला अगाडि बढ्दैछन् भन्न खोजेको हो। अरु उद्योग व्यवसायमा पनि महिलाहरुले लिड गर्न थालेका छन्,’ श्रेष्ठले भनिन्, ‘विस्तारै महिलाको बर्चस्व बढ्दैछ।’
उनले सहरमा मात्रै नभएर ग्रामिण क्षेत्रमा साना तथा मझौला उद्यम गरेर राष्ट्रिय अर्थतन्त्रमा महिलाले महत्वपूर्ण योगदान दिएको बताइन्।
श्रेष्ठले छुटका लागि कम्पनी दर्ता महिलाको नाममा गर्ने तर पुरुषले संचालन गरेको हुनसक्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताइन्।

‘राज्यले दिने छुटका लागि मात्रै कम्पनी दर्ता गर्ने होइन, महिला आफैं जागरुक भएर व्यवसायमा आउनुपर्छ,’ उनले भनिन्, ‘हामीले काम गरेर सफल हुन्छौं भन्ने सन्देश पनि दिन जरुरी छ।’
श्रेष्ठले बीवाइडीसँग जोडिएर सुरु गरेको व्यापारको अनुभव सुनाउँदै सपना र सहनशीलताका कारण आफू सफल बनेको बताइन्।
‘मैले सन् २०११ मा एउटा सपना देखेको थिएँ। जुनबेला नेपालमा चरम लोडसेडिङ हुने गर्थ्यो। जुन बेलामा इभीका लागि आवश्यक पर्ने ब्याट्रीको नयाँ प्रविधिको विकास भइरहेको थियो,’ उनले भनिन्, ‘ब्याट्रीको लाइफ साइकलमा इनोभेसन भएर सन् २०१५ बाट इभी गाडी ल्याउन सुरु भयो। सन् २०११ देखि २०१५ सम्म र अहिलेसम्मको संघर्षको कथा लामो छ। यो जारी नै छ।’