विशाल ग्रुपमा थपियो अर्को बहुराष्ट्रिय ब्राण्ड, पेप्सीकोको पोट्याटो चिप्स ‘लेज’ पनि ल्यायो

बिजमाण्डू
२०८१ माघ १६ गते १३:५९ | Jan 29, 2025
विशाल ग्रुपमा थपियो अर्को बहुराष्ट्रिय ब्राण्ड, पेप्सीकोको पोट्याटो चिप्स ‘लेज’ पनि ल्यायो


काठमाडौं। सबैभन्दा बढी बहुराष्ट्रिय कम्पनीको डिस्ट्रिब्युसन रहेको विशाल ग्रुप वार्षिक एक अर्ब रुपैयाँको व्यापार रहेको पोट्याटो चिप्स लेज पनि आफ्नो समूहमा भित्र्याउन सफल भएको छ।

Tata
GBIME
NLIC

उपभोक्ताको रोजाइमा रहेको र कारोबार पनि राम्रो रहेकोले धेरै व्यापारिक घरानाले हेरिरहेको लेजलाई विशाल ग्रुप हालै आफ्नो समूहमा भित्र्याउन सफल भएको हो।

यो समूहअन्तर्गतको एसियन डिस्ट्रिब्युसन मार्चदेखि कारोबार गर्ने गरी लेजको नेपालका लागि आधिकारिक विक्रेता बनेको छ। बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने फाष्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी)मा सबैभन्दा बढी होल्ड यही समूहको छ।

यसअघि लेज सिम्रिक डिस्ट्रिब्युसनले बिक्री गर्दै आएको थियो। लेज अमेरिकी कम्पनी पेप्सीको अन्तर्गतको ‘फ्रितो-ले’ले उत्पादन गर्छ। यसले नेपालमा भने भारतमा उत्पादन गरेर पठाउँछ। भारतका ३ सहरमा यसका कारखाना छन्।

ग्लोबल उत्पादन पेप्सीकोले अन्य कतिपय उत्पादन नेपालबाटै गरेपनि लेज भने भारतमा मात्र उत्पादन गर्दै आएको छ। बरुण बेभरेजमै काम गरेका रोहित कोहलीमार्फत थापाले यसको बिक्री अधिकार पाएका थिए। बरुण बेभरेज छाडेपछि रोहित रोयल स्ट्यागमा काम गर्थे।

नेपालका ठूला सुपरमार्केटदेखि साना सहरी मार्टमा समेत लेजको बिक्री उच्च छ। कोभिड पछाडि भने लेजको बजार हिस्सा घट्दै गएको छ।

कोभिडका बेला लकडाउनले व्यापार व्यवसाय खुम्चिएको थियो। त्यसपछि विदेशी मुद्राको अभाव हुन थालेको भन्दै सरकारले लेजलगायत करिब १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।

त्यसबीचमा नेपालमै लेजजस्ता पोट्याटो चिप्स उत्पादन हुन थाले। पेप्सीकोको लेज नेपाल आउन नपाएपछि स्थानीय उत्पादनले बजार विस्तार गर्ने मौका पाए। जब आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरियो त्यो बेलासम्म लेजको बजार हिस्सा घटिसकेको थियो।

लेजको पहिलेजस्तो माग हुन छाडेपछि सिम्रिकले यसको बिक्रीमा त्यति ध्यान दिन छाडेको थियो। पुरानो विक्रेताले लेजको बिक्री गर्न नसकेको भन्दै ‘फ्रितो-ले’ले वितरक फेरेर विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई दिएको हो।

नगदमै कारोबार हुने भएकाले यसको दायित्व थिएन। त्यसैले सौहार्दरुपमै वितरक परिवर्तन भएको स्रोतको दाबी छ।