राजस्व प्रणालीमा अनधिकृत इन्ट्री : यसरी खुल्यो भाटभटेनी सुपरमार्केटविरुद्धको कर छेडखानी

सविन ढकाल
२०८१ माघ ११ गते २०:०२ | Jan 24, 2025
राजस्व प्रणालीमा अनधिकृत इन्ट्री : यसरी खुल्यो भाटभटेनी सुपरमार्केटविरुद्धको कर छेडखानी


काठमाडौं। पुस मसान्तमा व्यावसायिक फर्महरुलाई राजस्व बुझाउने चटारो हुन्छ। देशको सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीलाई पनि चटारो नहुने कुरै भएन।

Tata
GBIME
NLIC

भाटभटेनी सुपरमार्केटले पुस २४ गते कर तिर्न चाह्यो। आन्तरिक राजस्व विभागको सफ्टवेयर ‘एकीकृत कर प्रणाली’मा भाटभटेनी सुपरमार्केटले आफ्नो युजर आइडी प्रयोग गर्न खोज्दा समस्या आयो।

आइडी पहिले झैं खुलेन। त्यसपछि भाटभटेनी सुपरमार्केटलाई गडबडीको आशंका भयो। उसको राजस्वको दायराभित्र पर्ने रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँ र कर ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ थियो।

तर सिस्टममा हेरफेर भएको देखियो। राजस्वको दायरामा पर्ने रकम ८ अर्ब देखाएर कर तिर्नुपर्ने रकम १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ राखेको पाइएपछि भाटभटेनी सुपरमार्केटका कर्मचारीले तत्कालै आन्तरिक राजस्व विभागमा खबर गरे।

‘हुँदै नभएको कारोबार र राजस्व तिर्नुपर्ने रकम धेरै देखाइएपछि हामी कसरी यस्तो भयो भनेर आन्तरिक राजस्व विभाग पुग्यौं। २ अर्ब ३४ करोडको कारोबार हुनुपर्ने ठाउँमा ८ अर्ब भन्दा बढीको देखाइएको थियो। हामीले विभागलाई राम्रोसँग हेर्न भन्यौं,’ भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भने।

विभागले आफ्नो प्रणालीमा सबै जाँच गर्‍यो। जाँच गर्दा ‘एकीकृत कर प्रणाली’मा गडबडी गरिएको खुल्यो। कारोबार रकमदेखि कर तिर्नुपर्ने रकम जथाभावीरुपमा हेरफेर गरेको स्पष्ट भएपछि भाटभटेनी सुपरमार्केट नेपाल प्रहरीको साइबर ब्युरोमा पुग्यो।

विभागले पनि राजस्व प्रणालीमा अनकिकृत इन्ट्री गरेर गडबडी गरेको विषयलाई गम्भीररुपमा लिइ पुस २५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा जाहेरी दियो।

आन्तरिक राजस्व विभागका निर्देशक वासुदेव पौडेलले भाटभटेनी सुपरमार्केटबाट जानकारी आएपछि जाँच गर्दा राजस्वको सिस्टममा अनधिकृत प्रवेश भएको खुलेकाले प्रहरीमा पुगेको बताउँछन्।

‘हामीले गडबडी भएको जानकारी भाटभटेनीबाट थाहा पायौं। जाँच गर्दा गडबडी भएको हो भन्ने भएपछि हामीले प्रहरीकहाँ निवेदन दियौं,’ निर्देशक पौडेलले भने।

सीआइबीले तत्कालै अनुसन्धान थाल्यो। प्रारम्भिक अनुसन्धानमा घटना चितवनबाट भएको देखियो। सीआइबीले आफ्नो टोली चितवन पठायो। त्यहाँबाट दुई जना पक्राउ परे।

‘उजुरी आएपछि अनुसन्धान गर्दा अरु कसैले नै भाटभटेनी सुपरमार्केटको युजरबाट छिरेर गडबड गरेको देखिएपछि चितवनबाट दुई जनालाई नियन्त्रणमा लिएका हौं,’ ब्युरो प्रमुख एआइजी दीपक थापाले भने।

सीआइबीको टोलीले माघ ५ गते पर्वत घर भएका २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भएका परिन पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सन्तोष र परिनविरुद्ध भाटभटेनी सुपरमार्केटले किटानी जाहेरी दिएको छ।

प्रहरीले उनीहरूको साथबाट दुई वटा मोबाइल, तीन वटा ल्यापटप, राउटर लगायत नियन्त्रणमा लिएर परीक्षण गरिरहेको छ।

सन्तोष र परिन चितवनस्थित बिहादी बिजनेस म्यानेजमेन्टका कर्मचारी हुन्। उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

लेखा परीक्षण गर्ने बिहादी बिजनेस म्यानेजमेन्ट कम्पनीका सञ्चालक भने फरार छन्। कम्पनीले यसअघि अर्को एक फर्मको पनि यस्तै गडबडी गरेको देखिएको सीआइबीका अधिकृतहरु बताउँछन्। त्यही कारण सीआइबीले अरु फर्मको पनि राजस्व प्रणालीमा हेरफेर गरेको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ।