भाटभटेनीको आइडीबाट राजस्वको सफ्टवेयरमा इन्ट्री, ६ करोडको कर १३ करोड किन पुर्‍याइयो?

बिजमाण्डू
२०८१ माघ ११ गते १५:२२ | Jan 24, 2025
भाटभटेनीको आइडीबाट राजस्वको सफ्टवेयरमा इन्ट्री, ६ करोडको कर १३ करोड किन पुर्‍याइयो?


काठमाडौं । आन्तरिक राजस्व विभागको सफ्टवेयर ‘एकीकृत कर प्रणाली’बाट भाटभटेनी सुपरमार्केट’ को युजर आइडी प्रयोग गरेर अनाधिकृतरुपमा गडबड गरेको खुलेको छ।

Tata
GBIME
NLIC

केन्द्रीय अनुसन्धान ब्युरो (सीइआबी)ले गरेको अनुसन्धानमा चितवनमा रहेको एक अडिट फर्मका कर्मचारीले यस्तो गतिविधि गरेको देखिएको हो।

ब्यूरोको टोलीले यस घटनामा संलग्न भएको आरोपमा पर्वत घर भएका २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भएका परिन पाण्डेलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई माघ ५ गते प्रहरीले चितवनबाट पक्राउ गरेको थियो।

उनीहरु चितवनमा संचालित ‘बिहादी बिजनेश म्यानेजमेन्ट’ को लेखापरिक्षण गर्ने निजी फर्ममा कार्यरत थिए। यसका संचालक भने प्रहरीको खोजी सूचीमा रहेका छन्।

अहिलेसम्म प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले यसरी किन यसो गरे भन्ने कारण भने खुल्न सकेको छैन।

विभागको सफ्टवेयरको कर आइडीमा गडबडी भएको थाहा पाएपछि पुस २५ गते विभागले उजुरी दिएको थियो।

सन्तोष पराजुलीले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्‍याएर भाटभटेनी सुपरमार्केटबाट सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई परिवर्तन तथा हेरफेर गरेका थिए। उनले १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँको गलत तथ्यांक राखेर करदातालाई बढी कर दायित्व सिर्जना गरेका थिए।

प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।