सिद्धबाबा सुरुङमार्ग शुक्रबार ब्रेक-थ्रु, ६० प्रतिशत काम बाँकी, पूरा गर्न कम्तिमा डेढ वर्ष

शुक्र गिरी
२०८१ माघ १० गते १८:२२ | Jan 23, 2025
सिद्धबाबा सुरुङमार्ग शुक्रबार ब्रेक-थ्रु, ६० प्रतिशत काम बाँकी, पूरा गर्न कम्तिमा डेढ वर्ष

काठमाडौं। सिद्धबाबा सुरुङमार्ग काम थालेको एक वर्षपछि शुक्रबार ब्रेक-थ्रु हुने भएको छ। सिद्धबाबा सुरुङमार्ग आयोजनाले शुक्रबार मुख्य टनेलको ब्रेक-थ्रु गर्न लागेको हो।

Tata
GBIME
NLIC

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा ११२६ मिटर लम्बाइको मुख्य टनेल निर्माणका लागि पोहोर पुस अन्तिममा काम सुरु गरिएको थियो। आयोजनामा ३ वटा बाइपास टनेल १५१ देखि १६१ मिटरसम्मका छन्। जुन यसअघि नै ब्रेक-थ्रु भइसकेका छन्।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार अब एक मिटर खनेपछि मुख्य सुरुङ छिचोलिनेछ। सुरुङ मार्ग ब्रेक-थ्रुमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन्। ‘हामी सुरुङ ब्रेक-थ्रु गर्न तयारी अवस्थामा छौं। अब एक मिटर मात्रै छिचोल्न बाँकी छ,’ ज्ञवालीले भनिन्।

बाँकी एक मिटर शुक्रबार ब्लास्टिङ गरेपछि छिचोलिनेछ।

यो आयोजनामा अहिलेसम्म ४०.१८ प्रतिशत काम भएको छ। वित्तीय प्रगति ३९.९० प्रतिशत छ। सुरुङ मार्ग निर्माणमा अहिलेसम्म ३ अर्ब रुपैयाँ हाराहारी खर्च भएको छ।

सुरुङमार्ग निर्माणका लागि डिजाइन समेत बनाउने गरी २०७८ फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। डिजाइन बनाउन समय लागेका कारण सुरुङ खन्ने काम २०८० पुस अन्तिममा सुरु गरिएको थियो।

सुरुङमार्ग तयार हुन कम्तिमा डेढ वर्ष

आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार ब्रेक-थ्रु पछि काम पूर्णरुपमा सम्पन्न हुन अझै डेढ वर्ष लाग्नेछ। अहिलेसम्म खन्ने काम मात्र भएको हो। फिनिसिङको काम पूरै बाँकी छ।

सुरुङभित्र भित्तामा कङ्क्रिटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडान लगायत काम गर्नुपर्ने हुन्छ। यस्तै इलेक्ट्रोमेकानिकलको काम र सर्भिलेन्स सिस्टम जडान पनि गर्नुपर्छ।

आयोजनामा अहिले चौबिसै घण्टा काम भइरहेको छ। १५० जना कामदार खटाइएको छ। आयोजनाको म्याद २०२७ मार्च २७ सम्म छ।

ढुंगा छेक्न रक सेड

आयोजना प्रमुख अधिकारीका अनुसार सुरुङमार्ग पुग्ने पहुँचमार्गमा चिडियाखोलादेखि दोभानसम्मको २३ सय ९५ मिटर खण्ड ९.९ मिटर चौडाइको बनाउनुपर्नेछ। पहिरो रोक्नका लागि रक क्लाइम्बिङ र रक सेड निर्माण गर्नुपर्नेछ। यसका लागि अहिले डिजाइन बनाउने काम भइरहेको छ।

‘यो ठाउँमा ठूलो भिर रहेकाले कस्तो स्ट्रक्चर बनाउने भनेर डिजाइन बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिलेको डिजाइन अनुसार सुरुङमार्गको मुखबाट ७८० मिटर जति रक सेड निर्माण गर्नुपर्ने छ,’ उनले भने, ‘भिरबाट आउने ढुंगा सेड माथिबाट जाने व्यवस्था मिलाउनु पर्नेछ। नभए सुरुङमार्ग पुग्न जोखिम हुन्छ।’

सुरुङ खन्ने काम सकिएपछि अब रक सेड बनाउन सुरु गरिनेछ। रक सेडले भिरबाट झर्ने ढुंगालाई सडकमा खस्न दिंदैन। सडकमाथि हालिने छानोले ढुंगालाई तलतिर पठाइदिन्छ। यो काम ७ अर्ब ३४ करोड रुपैयाँ लागतभित्रै हुन्छ। रक सेड नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको अधिकारीले बताए।

समय छोट्टिने

दोभान क्षेत्रको सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर अवरुद्ध हुनुका साथै दुर्घटना हुने गरेपछि सुरुङमार्गको काम अगाडि बढाइएको हो। यो सडक भएर पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत जिल्लावासीहरु ओहोरदोहोर गर्छन्।

सुरुङमार्गले यात्रा सुरक्षित हुनेछ। ‘अहिले यो सडक हुँदै यात्रा गर्न ठूलो जोखिम छ। त्यसैले सुरुङमार्ग बनाउने काम भइरहेको हो। सुरुङ मार्ग बनेपछि यात्राको समय केही छोट्टिन्छ। तर बाटो छोट्टिने भन्ने हुँदैन। अहिले जस्तो छ, त्यही खालकै हुन्छ,’ अधिकारीले भने।