भारतीय अटो एक्स्पोमा ग्राहकको ध्यान तान्न सफल गाडी नेपालमा कहिले आइपुग्छन् ?

शुक्र गिरी
२०८१ माघ ९ गते १६:०२ | Jan 22, 2025
भारतीय अटो एक्स्पोमा ग्राहकको ध्यान तान्न सफल गाडी नेपालमा कहिले आइपुग्छन् ?

काठमाडौं। भारतीय अटो बजारको सबैभन्दा ठूलो मेला ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’मा क्रेटा इभी, महिन्द्रा बीई ६, टाटा कर्भ इभी, सुजुकी ई भिटारा लगायत एक दर्जन नयाँ गाडी सार्वजनिक गरिए।

Tata
GBIME
NLIC

नेपालमा आयात हुने सबैजसो ब्रान्डले नयाँ गाडी सार्वजनिक गरे। ती ब्राण्डले भविष्यमा उत्पादन गर्ने गाडीको कन्सेप्ट मोडल पनि देखाए। एउटै ब्राण्डलेले पाँच वटासम्म कन्सेप्ट मोडल सार्वजनिक गरे।

नेपाली बजारका पुराना ब्रान्ड टाटा, महिन्द्रा, हुन्डाई, सुजुकी र टोयोटाले एक्स्पोमा इभी मात्रै सार्वजनिक गरे। कुनै समय भारतमा पेट्रोल भेहिकलमा नम्बर वान गाडी ब्रान्ड सुजुकीले आफ्नो पहिलो इभीका रुपमा ई भिटारा ल्याएको छ।

कुन गाडी कहिले कति मूल्यमा नेपालमा?

भारत मोबिलिटी ग्लोबल एक्स्पो सकिंदै गर्दा त्यहाँ सार्वजनिक गरिएका गाडी नेपालमा कहिले ल्याइन्छ भन्ने चासो बढेको छ।

नेपाली बजारमा अहिले दुई दर्जनभन्दा धेरै नयाँ ब्रान्डले इभी बिक्री गरिरहेका छन्। स्थापित ब्रान्डहरु इभी इकोसिस्टमसहित नयाँ मोडलका गाडी लिएर आउँदैछन्। जसले गर्दा आगामी दिनमा नेपालको इभी बजार झन् प्रतिस्पर्धी हुने देखिन्छ।

केही गाडी ल्याउन आधिकारिक बिक्रेता कम्पनीहरुले प्रक्रिया सुरु गरिसकेका छन्। हुन्डाईको क्रेटा इभी, टाटाको नेक्सन इभी फेसलिफ्ट र कर्भ इभी, सुजुकीको ई भिटारा तथा महिन्द्राको बीई ६ र एक्सइभी-९ ई नेपाली बजारमा छिट्टै आउने ती गाडीका बिक्रेताहरुले बताएका छन्।

टाटाको नेक्सन फेसलिफ्ट, कर्भ इभी र टियागो इभि फेसलिफ्ट

नेपाली बजारमा धेरै रुचाइएको टाटा मोटर्सको नेक्सन इभीको अपडेटेड कार नेक्सन फेसलिफ्ट इभी छिट्टै ल्याउने तयारी छ।

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभि फेसलिफ्ट, नेक्सन फेसलिफ्ट इभी र नयाँ एसयुभी कर्भ इभी छिट्टै ल्याउन गृहकार्य थालिसकेको बताएको छ। कम्पनीका अनुसार पहिले टियागो इभि फेसलिफ्ट त्यसपछि नेक्सन इभीको फेसलिफ्ट र अलिपछि कर्भ इभी आउने छ।

हुन्डाई क्रेटा इभी

हुन्डाई क्रेटा इभी एक महिनाभित्र नेपाल ल्याउने तयारी छ। हुन्डाई मोटर्स इन्डियाका प्रतिनिधिका अनुसार क्रेटा इभी फेब्रुअरीको अन्तिमसम्म नेपाली बजारमा लन्च गरिनेछ।

यो गाडी भित्र्याउन हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले तयारी थालिसकेको छ। कम्पनीले यसको मूल्यमा अहिले बार्गेनिङ गरिरहेको छ। क्रेटा इभीको मूल्य ५० लाखभन्दा तल राख्ने तयारी छ।

क्रेटा इभीमा ४२ र ५२ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री प्याक उपलब्ध छन्। ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएको भेरियन्ट नेपाल ल्याउने कम्पनीले जनाएको छ। यसमा मोटर पावर ९९ किलोवाट क्षमताको छ।

सुजुकी ई भिटारा

जापानी ब्रान्ड सुजुकीले ई भिटारा एसयूभी नेपालमा ल्याउने निश्चित भएको छ। यो सुजुकीको पहिलो इभी हो जसमा धेरै रेन्ज र पर्याप्त क्षमताको ब्याट्री प्याक उपलब्ध छ। कम्पनीले भारतमा बनेको सुजुकीलाई नै ग्लोबल मार्केटमा लैजाने तयारी गरेको छ। कम्पनीले भारतबाट १०० भन्दा धेरै देशमा ई भिटारा निर्यात गर्नेछ।

सुजुकी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्सले ई भिटारा सकेसम्म छिट्टै ल्याउने तयारीमा लागेको बताएको छ। कम्पनीका अनुसार चैतसम्म यो गाडी भित्र्याइनेछ। गाडीको मूल्य ५५ लाखदेखि ६० लाखसम्म हुने अनुमान छ।

गाडीमा ४९ र ६१ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री प्याक छन् जसले फुल चार्जमा ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिन्छ।

महिन्द्रा बीई ६ र एक्सइभी ९ ई

भारतीय ब्रान्ड महिन्द्राले बीई ६ र एक्सइभी ९ ई इलेक्ट्रिक कार बजारमा ल्याएको छ। भारत मोबिलिटी एक्स्पोमा यो गाडी ग्राहकको ध्यान तान्न सफल भएका थिए।

महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले फागुनसम्म यी गाडी भित्र्याउने तयारी गरिरहेको छ। कम्पनीका प्रतिनिधिहरुले मूल्य ५० लाखदेखि ६० लाखको बीचमा हुने बताएका छन्।

आकर्षक डिजाइन र आधुनिक सुविधाका कारण महिन्द्रा बीई ६ एसयूभी ग्राहकले रुचाउने कम्पनीको विश्वास छ। एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले गाडीलाई आधुनिक लुक दिएको छ। भित्री भाग पनि प्रिमियम देखिन्छ। ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर यसका विशेषता हुन्।

महिन्द्रा बीई ६ मा दुईवटा ब्याट्री प्याक विकल्प छन्। ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्रीले एकपटक चार्ज गर्दा क्रमशः ५३५ किलोमिटर र ६८२ किलोमिटर रेन्ज प्रदान गर्छ। कारमा शक्तिशाली इलेक्ट्रिक मोटर छ जसले उत्कृष्ट एक्सेलेरेसन दिन्छ।

महिन्द्रा एक्सइभी ९ ईको डिजाइन पनि उतिकै आकर्षक छ। एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले गाडीलाई स्पोर्टी लुक दिएको छ। भित्री भाग प्रिमियम देखिन्छ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ।

५९ किलोवाट आवर र ७९ किलोवाट आवरका दुईवटा ब्याट्री प्याकले एकपटक चार्ज गर्दा क्रमशः ५३५ किलोमिटर र ६८२ किलोमिटर रेन्ज प्रदान गर्छ।

बीवाइडीको सिलायन-७

भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको बीवाइडीको एसयूभी सिलायन-७ नेपाल भित्र्याउन आधिकारिक बिक्रेता साइमेक्स इंकले तयारी थालिसकेको छ।

भारतीय बजारमा बुकिङ खुलाइएको यो गाडी छिट्टै नेपाल ल्याउने साइमेक्स इंकका प्रतिनिधिहरुले बताएका छन्। उनीहरुका अनुसार यो गाडीको मूल्य ८० देखि ९० लाखको बीचमा हुनेछ। मोटर पावर १०० किलोवाट क्षमताको भएमा गाडी सोचेभन्दा धेरै कम मूल्यमा आउनेछ।

आकर्षक डिजाइन रहेको सिलायन-७ लाई स्लिक लाइन र एलईडी लाइटले प्रिमियम लुक प्रदान गरेको छ। अत्याधुनिक प्रविधि प्रयोग गरिएको गाडीको अगाडिको भाग निकै आकर्षक र पछाडिको भाग स्टाइलिस छ।

गाडीमा ठूलो टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, अटोनोमस ड्राइभिङ फिचर र धेरै उपयोगी सुविधा उपलब्ध छन्।

एमजी एस ५

मोरिस ग्यारेजको एमजी एस ५ पनि नेपाली बजारमा छिट्टै आउनेछ। कम्पनीले यो गाडी फागुनमा ल्याउने तयारी गरेको छ। गाडीको मूल्य जेडएस इभीको भन्दा कम अर्थात ४५ लाख रुपैयाँ हाराहारी हुने बिक्रेता कम्पनीका प्रतिनिधिहरुले बताएका छन्।

मोरिस ग्यारेजले जेडएस इभी डिस्कन्टिन्यु हुने भएपछि एस फाइभ ल्याएको हो। यो गाडी जेडएसको अर्को भर्सन जस्तै छ।

आकर्षक डिजाइनको गाडीलाई लामो हुड, ठूलो ग्रिल र एलईडी हेडल्याम्पले प्रिमियम लुक दिएको छ। ठूलो सनरुफ रहेको गाडीको भित्री भाग फराकिलो र आरामदायी छ। यसमा १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र छालाको सिट छ।

किया साइरस

साइरस नयाँ कम्प्याक्ट एसयूभी हो। आकर्षक डिजाइन, आरामदायी इन्टेरियर र उन्नत सुविधाका कारण भारतीय बजारमा यो गाडीले चर्चा पाएको छ। यो गाडीबाट सेल्टस र सोनेटलाई प्रतिस्थापन गर्ने कम्पनीको तयारी छ।

गाडीलाई एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले स्पोर्टी लुक दिइएको छ। कारमा ठूलो सनरुफ छ। गाडीको भित्री भाग आरामदायी छ। ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र छालाका सिट छन्। साइरसमा पेट्रोल र डिजेल इन्जिन दुवै विकल्प उपलब्ध छन्।

यो गाडी छिट्टै नेपाल आउने र मूल्य धेरै कम हुने भनिएको छ। तर बिक्रेता कम्पनीले मिति खुलाएको छैन।