घरजग्गा व्यवसाय तंग्रिने प्रयासमा, सेयर बजारको पैसा डाइभर्ट, पुसमा वर्षकै सर्वाधिक किनबेच

उन्नत सापकोटा
२०८१ माघ २ गते १३:०२ | Jan 15, 2025
घरजग्गा व्यवसाय तंग्रिने प्रयासमा, सेयर बजारको पैसा डाइभर्ट, पुसमा वर्षकै सर्वाधिक किनबेच

काठमाडौं। आर्थिक शिथिलताले संकटमा परेको घरजग्गा व्यवसाय तंग्रिन खोजेको छ। बजारमा देखिएको शिथिलताबीच पुसमा यो वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ।

Tata
GBIME
NLIC

मंसिरमा एक्कासी बढेको घरजग्गा कारोबार पुसमा थप उकालो लागेको हो। पुसमा यो वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ।

दुई महिनाको कारोबारबाट व्यवसायीहरु केही आशावादी भएका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मंसिरपछि किनबेच विस्तारै उकालो लागेकाले आशा पलाएको बताए।

‘घरजग्गा कारोबार लामो समयदेखि संकटको अवस्थामा रहेकामा मंसिरदेखि विस्तारै तंग्रिन खोजेको हो कि भन्ने देखिएको छ। दुई महिनाको कारोबारले केही आशा जगाएको छ,’ घिमिरेले भने।

उनका अनुसार सेयर बजारको पैसा घरजग्गामा आउन थालेको छ।

विष्णुप्रसाद घिमिरे

‘सेयर बजारमा कन्फिडेन्स नदेखिएपछि त्यताको पैसा घरजग्गामा आउन थालेको छ। त्यसैले पनि कारोबार केही बढेको हो,’ उनले भने, ‘घरजग्गाको भाउ सस्तो हुनु पनि कारोबार बढ्नुको कारण हो। कतिपयले आर्थिक शिथिलताका कारण आफ्नो व्यवसाय चौपट भएपछि पुस मसान्तलाई भनेर बैंकको किस्ता र कर तिर्न सम्पत्ति बेचिरहेका छन्।’

देशभरका मालपोत कार्यालयहरुबाट पुसमा ४७ हजार ४७९ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। गत आर्थिक वर्ष २०८०/८१ को पुसमा ४५ हजार २७७ लिखत पारित भएको थियो।

पुसमा सबैभन्दा धेरै लिखत पारित गर्नेमा इनरुवा मालपोत कार्यालय अगाडि छ। एक महिनामा इनरुवाले १८६७ लिखत पारित गरेको छ। मोरङको बेलबारीले १६३२, भद्रपुरले १६२३, जनकपुरले १५३४, राजविराजले १२५८, मलंगवाले ११११, सिरहाले १०५७ र तौलिहवाले १०५१ लिखत पारित गरेको तथ्यांक छ।

काठमाडौं उपत्यकाको हकमा पुसमा भक्तपुर मालपोतबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ। भक्तपुरको लिखत पारित संख्या ९४३ छ। लगनखेलले ८१४, कलंकीले ५९४, साँखुले ४४९, चाबहिलले ४३०, मनमैजुले २५८, डिल्लीबजारले २०० र टोखाले १७९ लिखत पारित गरेका छन्।

गत मंसिरमा पनि घरजग्गा किनबेच संख्याका आधारमा इनरुवा मालपोत पहिलो नम्बरमा थियो। यो मालपोतबाट मंसिरमा १५५३ लिखत पारित भएको थियो। त्यस्तै बेलबारी मालपोतबाट १४४२, भद्रपुरबाट १३९८, धनगढीबाट १२२८ र जनकपुरधाम मालपोतबाट ११३७ लिखत पास भएको थियो।

काठमाडौं उपत्यकाको हकमा मंसिरमा लगनखेललाई उछिन्दै भक्तपुर मालपोतले ८८८ लिखत पारित गरेको थियो। लगनखेल मालपोतले ८३९, कलंकीले ५६२, चाबहिलले ४२४, साँखुले ३४२, मनमैजुले २३८, डिल्लीबजारले १९५ र टोखाले १४८ लिखत पारित गरेका थिए।

घरजग्गा किनबेच बढेसँगै मालपोत कार्यालयहरुले उठाउने राजस्व पनि वृद्धि भएको छ। पुसमा मालपोत कार्यालयहरुले ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व उठाएका छन्। यो रकम मंसिरको भन्दा एक करोड बढी हो। पोहोर पुसमा घरजग्गा किनबेचबाट ३ अर्ब २० करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो।

घरजग्गा किनबेचबाट पुसमा सबैभन्दा धेरै राजस्व उठाउने मालपोतमा लगनखेल सबैभन्दा बगाडि छ। लगनखेलले ४४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यसपछि भक्तपुरले ३१ करोड ७० लाख, चाबहिलले २५ करोड २७ लाख, डिल्लीबजारले २४ करोड ३० लाख र कलंकीले २४ करोड २२ लाख रुपैयाँ उठाएका छन्।

यस्तै, रुपन्देहीले २१ करोड, कास्कीले १८ करोड २१ लाख, विराटनगरले १६ करोड ६३ लाख, बुटवलले १३ करोड ३८ लाख, चितवनले १२ करोड ४८ लाख, इनरुवाले ११ करोड ९७ लाख, साँखुले ११ करोड ३६ लाख र मकवानपुरले १० करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ।

मंसिरमा पनि सबैभन्दा धेरै राजस्व उठाउने मालपोतमा लगनखेल नै थियो। त्यतिखेर लगनखेलले ४१ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।