काठमाडौंमा जाम बढाउँदै ‘अव्यवहारिक’ ट्राफिक लाइट, एकैस्थानमा कुर्नुपर्छ २५ मिनेटभन्दा बढी

सविन ढकाल
२०८१ माघ १ गते ०६:२९ | Jan 14, 2025
काठमाडौंमा जाम बढाउँदै ‘अव्यवहारिक’ ट्राफिक लाइट, एकैस्थानमा कुर्नुपर्छ २५ मिनेटभन्दा बढी

काठमाडौं । ‘ सर २५ मिनेट भइसक्यो अझै ट्राफिक लाइट खुल्दैन त!’

Tata
GBIME
NLIC

घडीमा १० बजेर ५ मिनेट गइसकेको थियो। समयमा नै अफिस पुग्ने गरि निस्किएकी सविता काठमाडौंको जडीबुटीको ट्राफिक लाइटमा २५ मिनेटदेखि रोकिएकी थिइन्।

अलिक परबाट ट्राफिक प्रहरी (असई)ले हाँस्दै जवाफ फर्काउँदै थिए – के गर्ने यस्तै हो!

सविता आफ्नो आक्रोश ट्राफिकसँग शिष्टरुपमा पोख्दै थिइन्। ट्राफिकसँग पनि उनलाई ‘कन्भिन्स’ गर्ने जवाफ थिएन।

सविता जडीबुटीको ट्राफिक लाइटबाट करिब ३०० मिटरको दुरीमा थिइन्। २५ मिनेटदेखि ट्राफिक लाइटको पालो पर्दा उनी कोटेश्वर तर्फ ‘क्रस’ नै हुन पाइनन्। सोमबार सविता झैँ अन्य सवारी चालकको अवस्था उस्तै देखिन्थ्यो।

लामो समय सम्म ट्राफिक लाइटले हरियो संकेत नदिँदा जडीबुटीबाट गाडीको लाइन पेप्पसीकोलातिर बढ्दै गएको थियो। सामान्यतया ट्राफिक लाइटले काम गर्दा पनि ५ मिनेटमा हरियो बत्ती बल्छ। त्यो अवधिमा ‘क्रस’ गर्न नपाए थप ५ मिनेटसम्म बस्नुपर्ने हुन्छ। जसले गर्दा ट्राफिक बत्तीको संकेतले नै जडीबुटीमा नै सामान्य १० मिनेट बित्ने गरेको छ।

यस्तो परिस्थितिमा सवितासँगै अरूले पनि दनिको १५ देखि २५ मिनेटसम्म सडकमै बिताउन बाध्य छन्।

ट्राफिक लाइट लामो समयसम्म हरियो नबल्दा सवारी चालकको लापरबाही पनि देखिन थाल्छ। लेन क्रस गरेर अर्को साइडतिर मोटरसाइकल र गाडी पुग्छन्। जसले गर्दा विपरीत दिशाबाट आउने सवारी रोकिन पुग्छ। सोमबार पनि यस्तै अवस्था देखिएको थियो। ती विपरीत दिशाबाट आएको सवारीलाई पन्छाउन थप ट्राफिक खटिनुपर्छ।

२५ मिनेटपछि हरियो बत्ती बल्यो। सविताको स्कुटर विस्तारै जडीबुटी चोक कट्यो। चोक त कट्यो तर कोटेश्वर तर्फको सडकमा ‘स्पिड’ भने लिन सकेन। किनकि सडकमा गाडीको जाम थियो। जडीबुटी र कोटेश्वरको बिचमा पुगेपछि अर्को रातो बत्ती कोटेश्वर चोकमा बलेको देखियो। उनले थप २/ ३ मिनेट त्यही बिताउनुपर्ने भयो।

जडीबुटी र कोटेश्वरको करिब ५०० मिटरको दुरीमा नै दुईवटा ट्राफिक लाइट छन्। बल्ल हरियो बत्ती बलेर जडिबुटी क्रस गर्ने बित्तिकै अर्को रेड लाइटको सामना गर्नुपर्छ। त्यसपछि तीनकुनेमा अर्को ट्राफिक लाइटले चालकलाई कुरिरहेको हुन्छ। सविताले सो स्थानमा भने कुर्नु परेन। उनी हुइँकिन कामका लागि।

अफिसमा आज गाली गर्ने भएँ। कति ट्राफिक लाइटको जाम,’ सविता भन्दै थिइन्।

सो रुट हुँदै आउनेले सिभिल अस्पताल अगाडी अर्को ट्राफिक लाइट खेप्नुपर्छ। बानेश्वर चोकमा अर्को ट्राफिक लाइट छ। जिल्ला अदालत काठमाडौं अगाडी र बबरमहलस्थित आर्ट काउन्सिलको अगाडी ५० मिटरको दुरीमा नै ट्राफिक लाइट छ।

काठमाडौंका विभिन्न क्षेत्रमा राखिएका ट्राफिक लाइटले यस्तै अवस्था सिर्जना गरेको छ चालकहरुलाई। यात्रुहरुलाई पनि जेब्रा क्रसिङ गर्न सकस छ यही कारणले।

बबरमहलमा हालै संचालनमा ल्याइएको छ ट्राफिक लाइट। रातो बत्ती बेलर दुवै तर्फ गाड रोकिसक्छ। तर यात्रुका लागि हरियो बत्ती बल्दैन। गाडी होल्ड हुँदा यात्रु पनि कुरिरहनु पर्ने अवस्था छ यहाँ।

थापाथलीमा ४०० सेकेन्डसम्मको ट्राफिक लाइटमा बस्नु परेको गुनासो गर्छन् चालकहरु।

सोमबार पेप्सीकोला, जडीबुटी, लोकन्थलीतिर जाम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी दीपक गिरी स्वकार गर्छन्।

‘सोमबार अलिक धेरै जाम भएर लोकन्थली र पेप्पसीकोलासम्म पुगेको थियो। त्यहाँ विभिन्न ठाउँमा जक्सन र गाडीको चापले जाम हुन्छ,’ डिएसपी गिरीले भने।

जडीबुटीदेखि माइतीघरसम्म खुल्ला सडक हुँदा १० मिनेटमा पार गर्न सकिन्छ। तर त्यही समयमा जाम पर्‍यो भने त्यसै पनि २० मिनेटसम्म लाग्छ। झन् तपाईँलाई ट्राफिक लाइटले साथ दिएन भने त १० मिनेटको बाटोमा ३० मिनेटसम्म बिताउनुपर्छ।

४३ स्थानमा ट्राफिक लाइट, धेरै अव्यवहारिक

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र फेरि ट्राफिक जाम बढ्न थालेको छ। विद्यालयहरू बिदा हुँदा पनि ट्राफिक जाममा कमी आएको छैन। त्यसमाथि २ सयदेखि ४ सय मिटरबिचमा भएका ट्राफिक लाइटले १० मिनेटको दुरीलाई पनि थप २५ मिनेटसम्म बनाएका छन्। धेरैको गुनासो छ : ट्राफिक लाइटको संकेत व्यवहारिक छैन। न चालकमैत्री न त यात्रुमैत्री नै।

ट्राफिक चापलाई ख्याल नगरे ‘म्यानुअल’ रुपमा तय गरेको समयमले पनि जामलाई बढुवा दिएको देखिन्छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार ३० सेकेन्डदेखि ३२० सेकेन्डसम्मको समय ट्राफिक लाइटमा ‘फिक्स’ गरिएको छ। ३२० सेकेन्ड भनेको ५ मिनेट भन्दा बढी हो। सोही समयको तीनवटा लाइटमा पर्‍यो भने १५ मिनेट त्यसै बित्छ। जसकारण गाडीहरु धेरै सेकेन्डसम्म होल्ड हुन पुग्छन् र ट्राफिक कन्जेसन पनि बढ्छ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा हाल ४३ वटा ट्राफिक लाइट रहेका छन्। ६ वटा ललितपुरमा, ४ वटा भक्तपुर र बाँकी कठमाडौंमा छन्। २६ वटा लाइट बिग्रिएर काम गरेका छैनन्।

‘ललितपुर महानगरपालिकाले मात्र एआई क्यामरा जडान गरेको छ। बाँकीमा भने म्यानुअल नै हो। जसले गर्दा कहिले काहीँ व्यवहारिक नहुन सक्छ,’ डिएसपी गिरीले भने।

ललितपुर महानगरपालिकाले केही समय अगाडीमात्रै केही स्थानमा एआई जडित ट्राफिक लाइट लगाएको हो। जसले गर्दा सवारीको चाप अनुसार नै लाइटले संकेत गर्ने गरेको छ। यद्यपि, कार्यालय समयमा पनि लाइटहरु कहिलेकाही काम गर्दैनन्। तर, अन्य स्थान भने यहाँबाट यात्रा गर्न भने सहज भएको चालकहरुको अनुभव छ।

काठमाडौं महानगरपालिका, सडक विभाग लगायतको संलग्नतामा ट्राफिक प्रहरीले केही स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ। तर यस्ता लाइट भने प्राविधिक र व्यवहारिक रुपमा प्रभावकारी देखिएका छैनन्।

सरकारले नै बजेटमा काठमाडौं उपत्यकाभित्र ४४ वटा स्मार्ट ट्राफिक लाइट राख्ने घोषणा गरे पनि कार्यान्वयन भने हुन सकेको छैन।