रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरबस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा गएराति सम्पन्न सेमिफाइनल खेलमा मालोर्कालाई ३-० गोलले हराउँदै मड्रिड प्रतियोगिताको फाइनलमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ज्युड बेलिङ्घमले ६३ औँ मिनेटमा मड्रिडलाई अग्रता दिलाएका थिए। मालोर्काका मार्टिन भालजेन्टले इन्ज्युरी समयमा आत्मघाती गोल गर्दा मड्रिडले अग्रता दोब्बर बनायो। त्यस्तै लगत्तै मड्रिडका रोड्रिगोले गोल थप्दा रियलले ३-० गोलको रवाफिलो जित निकाल्यो।
योसँगै फाइनल पुगेको मड्रिडले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। अर्थात फाइनल सुपरकोपा क्लासिको हुनेछ।
अर्कोतर्फ बार्सिलोनाले सेमिफाइनलमा एथ्लेटिक क्लबलाई हराएको थियो। बार्सिलोनाको जितमा गाभीले १७ र लामिन यमल ५२ औँ मिनेटमा गोल गरेका थिए।