डच कप्तानको आगमनले विराटनगरको ब्याटिङलाई राहत, पोखरालाई १ सय ४० रनको लक्ष्य

बिजमाण्डू
२०८१ मंसिर २७ गते १०:३९ | Dec 12, 2024
डच कप्तानको आगमनले विराटनगरको ब्याटिङलाई राहत, पोखरालाई १ सय ४० रनको लक्ष्य
ब्याटिङमा विराटनगरका स्कट एडवार्ड्स र निकोलस किर्टन। तस्बिर: एनपीएल

काठमाडौं। विराटनगर किंग्सले पोखरा एभेन्जर्ससामू १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा आज जारी खेलमा विराटनगरले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

Tata
GBIME
NLIC

टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरलाई ओपनर लोकेश बम र मार्टिन गप्टिलले पहिलो विकेटका २६ रनको साझेदारी गर्दै औशत सुरुवात दिलाए। आक्रामक ब्याटिङ गरेका बमले १६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २६ रन बनाए। उनलाई पोखराका रायमन रेइफरले आफ्नै बलमा क्याचआउट गरे।

त्यसअघि अर्का ओपनर मार्टिन गप्टिल ५ रन बनाएर सागर ढकालको बलमा बोल्डआउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्टको पनि प्रदर्शन राम्रो हुन सकेन। ४ रन बनाएका उनलाई दिनेश खरेलको बलमा सागर ढकालले ७.१ ओभरमा क्याचआउट गरे। यस्तोमा विराटनगर ३७-३ को अवस्थामा पुगेको थियो।

आजको खेलबाट एनपीएल डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले विराटनगरको स्कोर उकास्न महत्त्वपूर्ण भूमिका खेले। उनले निकोलस किर्टनसँग ४३ रनको साझेदारी गरे। १२.१ ओभरमा किर्टन १६ बलमा १९ रन बनाएर ढकालको बलमा माइकल लिस्कबाट क्याचआउट भए।

स्कटले बसीर अहमदसँग मिलेर ४० रनको साझेदारी गरे। ३५ बलमा ५ चौकाको सहायतामा ४५ रन बनाएका उनी १८.२ ओभरमा बोल्डआउट हुन पुगे। विराटनगरमा अनुबन्धित ओमनी कप्तान अक्विब इल्यास भने आज प्लेइङ ११ मा थिएनन्।

त्यस्तै बसीर अहमद २० बलमा २१ रन बनाउँदै अविजित रहँदा क्रिस सोलले ७ तथा दीपक बोहरालले ४ रन बनाए।

बलिङतर्फ पोखराका सागर ढकाल र रेइमन रेइफरले समान २ विकेट लिँदा कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए।

चार खेल खेल्दा एक जित र तीन पराजय ब्यहोरेको विराटनगर दुई अंकसहित तालिकाको पुछारमा छ। सोही नतिजा निकालेको पोखरा एभेन्जर्स सातौँ स्थानमा छ। यसअघि यी दुवै टोलीले लुम्बिनी लायन्सलाई हराउँदा अन्य टोलीसँग पराजित भएका थिए।

विराटनगरले यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजय ब्यहोरेको थियो भने लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

अर्कोतर्फ पोखराले चितवन राइनोज, जनकपुर बोल्ट र कर्णाली याक्ससँग हार ब्यहोर्दा लुम्बिनी लायन्सलाई हराएको थियो।