![चिनियाँ धर्मगुरु पञ्छेन लामाको नेपाल भ्रमण रोक्न राज्यका सबै संयन्त्र परिचालन, ओलीसँग कांग्रेसको प्रश्न चिनियाँ धर्मगुरु पञ्छेन लामाको नेपाल भ्रमण रोक्न राज्यका सबै संयन्त्र परिचालन, ओलीसँग कांग्रेसको प्रश्न](https://bizmandu.com/wp-content/uploads/2024/12/China-Dharma-guru-scaled.jpg)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गएको भोलिपल्ट मंसिर १८ गते गृह र पर्यटन मन्त्रालयमा चीनको छेन्दुबाट एयर चाइनाको जहाज चार्टर्ड गरेर काठमाडौं आउन लागेको जानकारी आयो।
यो सूचना गृहसचिव गोकर्णमणि दुवाडी र पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेय हुँदै गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेसम्म पुग्यो। सचिवद्वयले पाएको सूचनासँगै देशको सम्पूर्ण राज्य संयन्त्र एयर चाइनाको जहाज रोक्नतर्फ केन्द्रित हुन पुग्यो।
उनीहरु हरहालतमा त्यो जहाज नेपाली भूमिमा अवतरण हुनबाट रोक्नतिर लागे। त्यसबेला उनीहरुलाई जहाजमा को आउँछन् भन्ने पनि थाहा थिएन।
सुरुवातमा छेन्दुबाट एक धर्मगुरुसहितको टोली आउन लागेको जानकारी मात्रै उनीहरुले पाएका थिए। कतिपयले हाल भारतमा निर्वासनमा रहेका दलाइ लामा जस्तै अर्को लामा आउने र त्यसले नेपालमा समस्या निम्तिने भन्दै उनीहरुले उडान रोक्न दबाब दिए।
यसरी दबाब दिनुका पछाडि दुईवटा कारण छन्। पहिलो : कार्यक्रमका लागि आउन लागेको व्यक्ति पञ्छेन लामा। दोस्रो : उनी सहभागी हुने कार्यक्रम नानहाई बुद्धिस्ट राउन्ड टेबल।
नेपाल आउन लागेका पञ्छेन चीनले दलाइ लामाको दर्जामा राखेका धर्मगुरु हुन्। अनि नानहाई भनेको साउथ चाइना सी हो। जसमा चीनले आफ्नो दाबी गरिरहेको छ। तर, अमेरिका लगायत देशले साउथ चाइना सीमा चीनको दाबीलाई समर्थन गर्दैनन्।
![](https://bizmandu.com/wp-content/uploads/2024/12/panchen-lama-1024x597.jpg)
विश्व कूटनीतिक वृत्तमा नै साउथ चाइना सीलाई महत्वपूर्ण रणनीतिक क्षेत्रका रुपमा लिइन्छ। हालसम्म यही साउथ चाइना सी क्षेत्रलाई नै लक्षित गरेर नानहाई बुद्धिस्ट राउन्ड टेबल ९ पटक भइसकेको छ। पछिल्लो संस्करण थाइल्याण्डमा भएको थियो। त्यसैको निरन्तरतास्वरुप नेपालमा कार्यक्रम हुन लागेको हो।
त्यसैले पञ्छेनसँगै साउथ चाइना सी नै जोडिएको भन्दै नेपाल सरकारमाथि भ्रमण र कार्यक्रम दुवैलाई लिएर प्रश्न उठाइएको छ। जसकारण पूरै राज्य संयन्त्र नै यसमा लाग्नुपर्ने अवस्था आयो।
प्रधानमन्त्रीलाई बेइजिङमा कसले सोध्यो प्रश्न?
सरकारका सबै संयन्त्र रोक्न लाग्दा पनि यात्रु बोकेको चार्टर्ड जहाजलाई रोक्न नमिल्ने भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको अनुमति दिइएको छ। अहिले स्थानीय राजनीतिक वृत्त मात्र होइन भूराजनीतिक वृत्तले पनि यहि सातादेखि हुने भनिएको नानहाई बुद्धिस्ट राउन्ड टेबललाई चासोपूर्वक हेरिरहेको छ।
प्रधानमन्त्री ओली अघिल्लो साता चीन भ्रमणमा थिए। त्यहाँ पनि यो विषयले चर्चा पायो। प्रधानमन्त्री निकट एक नेताका अनुसार ओलीलाई कुनै धर्मगुरुलाई नेपाल आउन अनुमति दिइएको हो भनेर बेइजिङमा नेपाली पक्षबाट प्रश्न सोधियो।
ओलीले नेपालमा कुनै पनि चिनियाँ धर्मगुरुलाई जान अनुमति नदिएको जवाफ दिए। गृहमन्त्री लेखकले धर्मगुरुलाई आउन अनुमति दिए/नदिएकोबारे चासो राखेपछि प्रश्न ओलीकहाँ पुगेको थियो।
ओलीको जवाफपछि पनि यो विषय साम्य भएन। स्रोतका अनुसार ओली काठमाडौं फर्किएपछि पनि विभिन्न शक्ति राष्ट्रले यो विषयमा गम्भीर चासो राखे। कारण उही – पञ्छेन र साउथ चाइनी सी राउन्ड टेबल।
भूराजनीतिक दबाब बढ्दै जाँदा परराष्ट्र मन्त्रालय नै यसबारेमा अग्रसर भएर सोधखोजमा लाग्यो। परराष्ट्र मन्त्रालयले यहाँ हुन लागेको कार्यक्रम र आउन लागेका सम्भावित धर्मगुरुहरुका नाम खोज्यो।
स्रोतका अनुसार चिनियाँ धर्मगुरु पञ्छेन लामा(ग्याल्सेन नोर्बु) आउन लागे/नलागेको बारेमा कूटनीतिक हिसाबले नै बुझ्ने गरी प्रक्रिया अगाडि बढाइयो।
मन्त्रालयले चिनियाँ दूतावासलाई पत्र लेख्दै नेपालमा हुन लागेको नानहाई बुद्धिस्ट राउन्ड टेबलमा पञ्छेन आउने/नआउने बारेमा जानकारी माग्यो।
स्रोतका अनुसार दूतावासले पञ्छेन नेपाल नआउने औपचारिकरुपमै जानकारी गराइसकेको छ। तर, यो जानकारीपछि पनि देशका सबै संयन्त्र पञ्छेन आउने/नआउने खोज्नमै लागिपरेका छन्।
गृहसचिव दुवाडी र पर्यटन सचिव पाण्डेयबीच बुधबार पनि यात्रुको सूची बोकेर छलफल भएको स्रोतले बतायो।
‘२२७ यात्रुको सूची लिएर छद्मभेषी रुपमा पञ्छेन आउने हो कि भन्दै ट्रयाकिङको काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘केही यात्रुको शंकास्पद नामलाई लिस्टआउट पनि गरिएको छ।’
गृह मन्त्रालय स्रोतका अनुसार पञ्छेनको विषयमा एकदमै ठूलै दबाब छ। ‘भूराजनीतिक मुद्दाको रुपमा हेरिएकाले पनि यसलाई ठूलो समस्याको रुपमा हेरिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘छलफल हेर्दा यो मुद्दाले ठूलै तनाव सिर्जना गरेको देखिन्छ।’
राज्य संयन्त्र किन आक्रान्त ?
दलाई लामाले भने सन् १९९५ मै पञ्छेन लामामा गेधुन छोइकी नोइमालाई सन् नियुक्त गरेको थियो। दलाई लामाले नियुक्त गरेको केही दिनमै गेधुन हराएका थिए। हालसम्म उनीसहित उनको परिवारको अवस्था फेला परेको छैन।
यता चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले ग्याल्सेन नोर्बुलाई सन् १९९५ मा धर्मगुरुमा नियुक्त गरेको हो। उनलाई अन्तर्राष्ट्रिय जगत् मा चीन सरकारको ‘प्रोक्सी’ भनेर समेत चिनिन्छ।
चीनको लाह्री काउन्टीमा जन्मिएका ३५ वर्षीय ग्याल्सेन नोर्बु बेइजिङमा बस्दै आएका थिए। उनका बुबा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य थिए। ग्याल्सेनलाई पञ्छेन लामाको ११ औं अवतारको रुपमा घोषणा गरिएको थियो। उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राम्रो सम्बन्ध रहेको समाचार चिनियाँ संचारमाध्यमले सम्प्रेषित गरेका छन्।
त्यही भएर अहिले उनी नेपाल आउने विषयलाई चीनदेखि भारत र अमेरिकाले पनि नजिकबाट हेरिरहेका छन्। भारत र अमेरिकाले उनको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिएका छैनन्।
स्रोतका अनुसार दुवै मुलुकका राजदूतावासले पञ्छेनलाई कुनै हालतमा आउन नदिन दबाब दिइरहेका छन्। सरकारले पनि हाल उनी नेपाल आउने चाहेको भए रोक्न खोजिरहेको छ।
स्रोतका अनुसार यसअघि पनि उनी दुईपटक नेपाल आउन खोजेका थिए। तर सफल भएका थिएनन्। पञ्छेन आएमा दलाइ लामालाई पनि नेपाल ल्याउन भारत र अमेरिकाले दबाब दिन सक्नेछन्। त्यो अवस्थामा नेपाल भूराजनीतिक चपेटामा पर्ने भन्दै यस विषयलाई सरकारले चासोपूर्वक हेरिरहेको छ।
लुम्बिनी विकास कोषका अध्यक्ष ल्हारक्याल लामा अहिलेको अवस्थामा पञ्छेनलाई नेपाल ल्याउन नसक्ने दाबी गर्छन्। पञ्छेनलाई ल्याउने योजना अन्तिम अवस्थामा ‘फेल’ भएको उनको भनाइ छ।
‘हामीले चाहिं ल्याउन नसकिने कुरा प्रधानमन्त्रीज्यूलाई समेत भनेका छौं। ठूला ठूला मानिसले ल्याउने भए अर्कै कुरा हो,’ लामाले भने।
![](https://bizmandu.com/wp-content/uploads/2024/12/sc-1024x683.jpg)
नानहाई बुद्धिस्ट राउन्ड टेबल कार्यक्रम किन नेपालमा आयोजना गर्न अनुमति दिइयो भनेर कूटनीतिक वृत्तमा पनि छलफल भइरहेको छ। कार्यक्रमका लागि चीनबाट बुद्धिस्ट एसोसिएसन अफ चाइनाको १० सदस्यीय टोली मंगलबार थाइ एयरवेजबाट नेपाल आइसकेको छ। सो एसोसिएसनका उपाध्यक्ष सी एनसन सहितको टोली नेपाल आएको हो। एनसन नानहाई बुद्धिस्त एशोसिएसनका रेक्टरसमेत हुन्।
सरकारको बुझाई यस्तो
प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउनका लागि धर्मगुरु पञ्छेन आउने हल्ला चलाइएको ओली निकटहरुको जिकिर छ।
‘प्रधानमन्त्री चीन पुग्ने बित्तिकै यसरी हल्ला आउनु भनेको भ्रमणलाई विवादित बनाउन खोजिएको हो,’ ओली निकट ती नेताले भने, ‘भारतलाई झन् चिढ्याउनकै लागि यो फण्डा फालिएको हो।’
स्रोतका अनुसार बीआरआई कोपअपरेसन फ्रेमवर्कमा हस्ताक्षर रोक्नका लागि हल्ला बाहिर ल्याइएको थियो।
‘भूराजनीतिक हिसाबका मुद्दा उचालेर प्रधानमन्त्रीज्यूलाई असफल बनाउन एउटा समूह लागेको छ। त्यही समूहले यस्तो हल्ला चलाएको हो,’ स्रोतले भन्यो, ‘यसलाई सत्ता साझेदार दलले पनि बुझेको छ।’