बैंकर्स संघमा १३ वर्षपछि अध्यक्षका लागि निर्वाचन हुँदै, पूर्वअध्यक्षहरु भन्छन्- सहमति गरेर जानुपर्छ

बिजमाण्डू
२०८१ मंसिर २६ गते १५:२० | Dec 11, 2024
बैंकर्स संघमा १३ वर्षपछि अध्यक्षका लागि निर्वाचन हुँदै, पूर्वअध्यक्षहरु भन्छन्- सहमति गरेर जानुपर्छ

काठमाडौं। झण्डै १३ वर्षपछि नेपाल बैंकर्स संघको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। २० वटा वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघको अध्यक्षका लागि प्रतिस्पर्धा हुन लागेको हो।

Tata
GBIME
NLIC

संघको चुनावी वार्षिक साधारणसभा पुस ३ गते हुँदैछ। यो सभाले अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य चयन गर्ने छ। 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुन लागेको हो।

बैंकरहरुले यसपालि ‘नयाँ र पुरानो सीइओबीच प्रतिस्पर्धा हुन लागेको’ रुपमा टिप्पणी गर्न थालेका छन्। शेरचन र कोइरालाले दुई दिनअघि नै मनोनयन दर्ता गरिसकेका छन्।

कोइराला अहिले संघको उपाध्यक्ष छन्। शेरचन दुई पटक लगातार कार्यसमितिमा बसेका थिए। विधान अनुसार दुई कार्यकालपछि त्यही पदमा बस्न पाइँदैन। त्यसपछि उनी एक कार्यकाल खाली थिए। अहिले पुन: सदस्य छन्।

१३ वर्ष अगाडि पनि संघमा प्रतिस्पर्धाबाट अध्यक्ष चयन भएको थियो। सशीन जोशीले दोस्रो पटक अध्यक्षमा दोहोरिन चाहेपछि अशोक राणा प्रतिस्पर्धामा उत्रिएका थिए। त्यसबेला राणा निर्वाचित भएका थिए।

त्यसयता सर्वसम्मतरुपमा अध्यक्ष चयन हुँदै आएको थियो। यसबीचमा राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुङ्गाना, भुवन दहाल, अनिल कुमार उपाध्याय र सुनिल केसी अध्यक्ष भए। अहिले केसी अध्यक्ष छन्।

शेरचन र कोइरालाबीच प्रतिस्पर्धा हुँदै गर्दा दुबै पक्षले आ-आफ्नो तर्क अगाडि सारेका छन्। शेरचनलाई पुराना बैंकरहरुले साथ दिएका छन् भने उपाध्यक्ष कोइरालाको अध्यक्षमा दाबी स्वभाविक भएको भन्दै समर्थन गरिरहेका छन्।

‘पुरानो बैंकर नेतृत्वमा आउँदा कतिपय लबिङमा सहयोग पुग्ने अनुभवले देखाएको छ। त्यहाँ उसको एक्सपोजरले पनि काम गर्ने रहेछ,’ शेरचनको पक्षमा अनौपचारिक रुपमा खुलेका ती बैंकरले भने, ‘सन्तोषजी पनि अनुभवी हो। उहाँका लागि अध्यक्ष हुने समय बाँकी छ। जम्मा दुई वर्ष हो, त्यतिन्जेल कुर्दा खारिने मौका पनि मिल्छ।’

कोइराला पक्षले संघको चलनअनुसार अगाडि बढ्नु पर्ने तर्क गरेको छ। १३ वर्षयता वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष (बीचमा एउटा उपाध्यक्ष पद खारेज गरिएको छ) नै अध्यक्ष हुने चलन चल्दै आएको छ। त्यसैले यसपाली पनि उपाध्यक्षलाई अध्यक्ष दिनुपर्ने तर्क कोइराला पक्षले गरेको छ।

अहिले पनि बैंकिङ गरिरहेका पूर्वअध्यक्षहरु राणा र ढुङ्गानाले छलफल गरेर सहमतिका साथ अगाडि बढ्नु पर्ने बताएका छन्। ‘निर्वाचनले राम्रो सन्देश दिँदैन त्यसैले सहमति गरेर अगाडि जानु पर्छ,’ राणा र ढुङ्गानाले बिजमाण्डूसँग भने।

अध्यक्षका उम्मेदवारहरु शेरचन र कोइरालाले मनोनयन दर्ता गराए पनि सानो संगठनमा सहमतिका साथ नै अगाडि बढ्नु पर्ने बताएका छन्। 

अध्यक्षमा मनोनयन दर्ता भएपनि उपाध्यक्षका लागि अहिलेसम्म कसैले चासो देखाएका छैनन्। कोइराला अध्यक्षको प्रतिस्पर्धामा गएकाले उपाध्यक्ष रिक्त हुन्छ। रिक्त उपाध्यक्षमा को आउने भन्ने छलफलसमेत भएको छैन।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट किरणकुमार श्रेष्ठले अवकाश पाएसँगै बैंकर्स संघमा सदस्यको एक पद खाली छ। नेपाल एसबीआइ बैंकबाट दीपककुमार डे पनि बिदा हुँदैछन्।

त्यसैले खाली हुने सदस्य पदमा पनि नयाँ आउने छन्। यसबाहेक एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको पनि एक कार्यकाल पूरा भएको छ। उनले अर्को एक कार्यकाल दोहोर्‍याउन पाउने छन्। तर त्यसका लागि पनि मनोनयन दर्ता गराउनु पर्ने हुन्छ।