पूर्वमा तस्करीको सुरक्षित मोडल! झोलेपोके होइन व्यापारीले सीमापारि सामान किन्छन्, भन्सार छलेर पसलमै आइपुग्छ

अनन्तराज न्यौपाने
२०८१ मंसिर २६ गते ०९:१७ | Dec 11, 2024
पूर्वमा तस्करीको सुरक्षित मोडल! झोलेपोके होइन व्यापारीले सीमापारि सामान किन्छन्, भन्सार छलेर पसलमै आइपुग्छ

विराटनगर। पूर्वमा तस्करीको अनौठो, भरपर्दो र सुरक्षित मोडलको विकास भएको छ। पूर्वको काँकडभिट्टा नाकाबाट पश्चिमका बजार धुलाबारी, बिर्तामोड, सुरुङ्गा र दमकसम्मका व्यवसायीले नजिकै पर्ने भारतीय बजार सिलीगुडीका पसलमा गएर सामान खरिद गरे मात्र पुग्छ। त्यो सामान नेपाली व्यवसायीका गोदामसम्मै सुरक्षित आइपुग्छ।

Tata
GBIME
NLIC

कसरी ?

मानौँ दमकमा एक्स नामका व्यवसायी छन्। उनले सिलीगुडीमा २५ लाख मूल्यका महँगा खाले लेडिज कुर्ता–सुरुवाल खरिद गरे।

यो सामान अब भरियाका नाइकेले जिम्मा लिन्छन्। र, व्यवसायी एक्सलाई भन्छन, ‘म तपाईंका गोदाममा यो सामान १२ घण्टाभित्र पुर्याइदिन्छु। बाटामा प्रहरीले पक्राउ गर्यो भने मेरो जिम्मा भयो। ग्यारेन्टीका लागि यो २५ लाख रुपैयाँको चेक राख्नुस्। सामान पक्राउ पर्‍यो भने तपाईं चेक भजाएर पैसा आफू राख्न सक्नुहुन्छ। सामान तपाईंको गोदाममा भित्रिएपछि तपाईंले मेरो चेक फिर्ता दिनुपर्छ।’

काँकडभिट्टा नाकाबाट भरिया काम गर्ने एक जनाले भने, ‘यस कार्यमा जनपद प्रहरी र सशस्त्रको सिधा मिलेमतो हुन्छ। यस्ता भरियाका नाइकेले सीमा क्षेत्रमा सयौँ महिलालाई रोजगारी दिएका छन्। एक महिलाले एक पटकमा १० वटा सारी वा कुर्ता–सुरुवाल ल्याउन सक्छिन्। यसरी उनले दिनमा १० पटक ओसार्छिन्। एक भरियाको नाइकेका अन्डरमा २५ देखि ५० महिला कार्यरत छन्।’

यसरी सिलीगुडीमा खरिद गरेर नेपाल भित्रनेमा सर्टिङ–सुर्टिङ, कुर्ता–सुरुवाल, सुती र सिन्थेटिक साडी लगायतका कपडा मात्र होइनन्। बाथरुमको कमोड पनि घर वा गोदामसम्मै आइपुग्छ। हार्डवेयर, बाथवेयर, किचनवेयर, ढोकामा लाग्ने सामानहरू, मोटरपार्ट्सदेखि किराना सामान लगायतका थुप्रै वस्तु यसरी तस्करी गरेर ल्याउन सकिन्छ।

उनले सुनाए, ‘त्यसैले राजस्व अनुसन्धान वा कुनै नियामक निकायले तस्करीका मालसामान ठूलो परिमाणमा बरामद गर्नु छ भने बाटामा पक्रिएर हुन्न। गोदाममै सिल गरेर अध्ययन गर्नुपर्छ। बाटामा एउटालाई पक्राउ गर्‍यो भने अरू २० जना भाग्छन्। तर गोदाममा एकै ठाउँमा सबै सामान पक्राउ र बरामद गर्न सकिन्छ।’

फाइल तस्वीर

पूर्वको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय अहिले मधेश प्रदेशमा केन्द्रित छ। तर यस प्रदेशमा अनुसन्धानका कर्मचारीलाई काम गर्न सुरक्षाको ठूलो चुनौती छ।

एक वर्षअघि अनुसन्धानका कर्मचारी र सुरक्षाकर्मी बल्लबल्ल ज्यान जोगाएर फर्किएका थिए।

पहिलो दिन उनीहरूले सिरहाको मिर्चैयास्थित कल्याण बजार ट्रेडर्सको कपडाको गोदाम सिल गरे र फर्किए। यो कारोबारका सञ्चालक मिर्चैयाका शंकर साह थिए।

दोस्रो दिन गएर बिलबीजकमा नदेखिएको र नमिलेको कपडा लिएर आउन लाग्दै थिए। एक्कासि स्थानीय ५ सय व्यक्तिले घेरे र ‘भ्रष्ट कर्मचारी मुर्दाबाद’ भन्दै नाराबाजी गर्न सुरु गरे।

राजस्वका कर्मचारीले प्रशासन गुहारे। प्रहरीको हुल त आयो तर मद्दत गरेकोजस्तो मात्र देखायो किनकि अवैध धन्धासित उनीहरूकै मिलेमतो थियो। राजस्वका कर्मचारी र सुरक्षाकर्मीले ज्यानको माया मारिसकेका थिए। उनीहरूलाई अगाडिबाट २५० र पछाडि २५० स्थानीयले घेरिसकेका थिए।

अनुसन्धानका डिजीले घटनाबारे तत्काल गृहलाई जानकारी गराए। गृहको कडा निर्देशन आएपछि प्रहरी राजस्वका कर्मचारी र सुरक्षाकर्मीलाई उद्धार गर्न बाध्य भयो। प्रहरीले दायाँबायाँ माखेसाङ्लो बनाएर सबैलाई सुरक्षित निकाल्यो। तर, यति गर्दा पनि स्थानीयले अनुसन्धानबाट आएकालाई ढुंगा प्रहार गरे। सामान्य चोटपटकबाहेक अप्रिय अवस्था भने आउन पाएन।

यसपछि अनुसन्धानको टोली शंकर साह लाई पक्राउ गर्न राति–राति पुग्न थाल्यो किनकि उनीउपर संगठित तस्करी र सरकारी कर्मचारी तथा सुरक्षाकर्मीलाई आक्रमण गरे–गराएको भन्ने अभियोग थियो। सुरक्षाको चुनौतीका कारण उनलाई पक्राउ गर्न राति झुक्याएर पुग्नु बाध्यता थियो। तर साह कहिल्यै पक्राउ परेनन्। उनी भारतको कुनै नजिकको सहरमा लुकेका थिए। करिब ६ महिनापछि आफैँ आएर आत्मसर्पण गरे।

अनुसन्धानले अहिले उनलाई प्रतिवादी बनाएर सप्तरी उच्च अदालतमा १ करोड २५ लाख बिगो सहितको मुद्दा दायर गरेको छ। साह अहिले आफ्नो तस्करीको धन्धाबाट सन्यास लिएर मुद्दा खेपिरहेका छन्।

राजस्व अनुसन्धानको गस्तीलाई परम्परादेखि पर्दैआएको सबैभन्दा ठूलो अवरोध हो सूचना चुहिनु। गस्तीका नाइकेले आफ्नो समूहका सबैको मोबाइल आफूसित राख्छन् र आज यस नाकामा जाने भनेर जानकारी दिन्छन्।

नजानिँदो पाराले गन्तव्यमा गस्ती पुग्छ। तर अघिल्लो रात धमाधम क्यारिङ हुने गरेको नाका भोलिपल्टको रात सुनसान हुन्छ।

अनुसन्धानका कर्मचारी रातभरि मच्छडले टोकाएर, उँघेर रुङ्छन् तर हातलाग्यो शून्य।

अन्त्यमा सूचना दिने सुराकीले भन्छ– ‘तपाईंहरू यहाँ आउने सूचना चुहिएछ। जानूस्। आज यहाँबाट काम हुँदैन।’

यसरी सूचना चुहाउने काममा राजमार्गमा खटिएका सुरक्षाकर्मी हुनसक्ने अनुसन्धानका कर्मचारीको आशंका छ। राजमार्गमा खटिएका सुरक्षाकर्मीले अनुसन्धानको गाडी देख्यो कि खल्तीबाट मोबाइल सेट किन निकाल्छन् भन्दै अनुसन्धानका कर्मचारीहरू आश्चर्य व्यक्त गर्दछन्।

मोरङका नाकामा भने एक महिनायता अवैध ओसारपसारमा कमी आएको अनुभव गरिएको छ। यसअघिका एसपी नवराज कार्की खुल्ला रूपमा लाइन चलाएको र जुवा खेलाएको विषयमा विभागीय कारबाहीमा परेका थिए। त्यसपछि आएका एसपी नारायण चिमरियाले नियन्त्रण गरेको बताइएको छ।

यति हुँदाहुँदै पनि विराटनगर–जोगबनीको मूल नाकाबाट बिहान ४ देखि ६ बजेसम्म हुने प्याजको अवैध ओसारपसार भने यथावत् छ।

एसपीका तर्फबाट विराटनगर–जोगबनी नाका जति नियन्त्रण गरिए पनि सशस्त्रले साथ नदिएसम्म खोजेको परिणाम आउँदैन। प्रहरीले सशस्त्रको साथ नपाएको गुनासो राजस्व चुहावटको बैठकमा उठिरहेको छ।

त्यस्तै जोगबनीका किराना र कपडा पसलेले पालेका भरियाहरू जस्तोसुकै कडाइमा पनि सामान टपाउन सक्छन्। अहिले पनि जोगबनीको कुनै कपडा पसलमा खरिद गरेर सामान छाडिदिने हो भने भरियाले घरसम्मै ल्याइदिन्छन्। एसपी चिमरियाको कडाइले यो धन्धालाई पटक्कै छोएको छैन।

यसरी विराटनगर र मोरङ नजिकका नाकालाई केन्द्र बनाएर अवैध ओसारपसार गर्नेमा ओम र गणेशको जोडी, चाँदनी र अकबर, गणेश, सुरेश र सबनम, राजकुमार रौनियार, बब्लु अग्रवाल, मन्जर अलि र सीमापारिका शंकर लगायत छन्।

त्यस्तै मोरङको दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गेली–डाइनियाँ नजिकका नाकाबाट चिनीको अवैध आयात बढी हुने गर्छ। यसको मुख्य सञ्चालकमा उस्मान छन्।

अनुसन्धानले ध्यान केन्द्रित गरेको सिरहा र सप्तरी जिल्लामा ओमप्रकाश यादव, गोपाल राय, रोशन यादव, प्रकाश सुँडी, बालराम यादव, ललन यादव, अमित साह र भारत वीरपुरका टोनी सहितका व्यक्तिहरू अवैध आयातको व्यवसाय सञ्चालन गर्ने गर्दछन्। यिनीहरू नेपालबाट लसुन, ग्यास लाइटर, फुजी स्याउ, पपकर्न आदि वस्तुहरू भारततर्फ अवैध निर्यात गर्दछन्। भारतबाट

ठूलो परिमाणमा चिनी, मल, कपडा र किराना वस्तुको गैरकानुनी ओसारपसारमा संलग्न छन्। यस्तो कार्यमा सुनसरीका नाकामा कमरुद हाजी, नसरुल, जमसेद लगायतका व्यक्ति सक्रिय छन्।

त्यसैगरी झापा जिल्लामा सञ्जीव, कालु अग्रवाल भन्ने प्रवीण, राजा, विशाल, सोनु कानु लगायतका कारोबारीहरू धन्धा चलाउँछन्।

फाइल तस्वीर

अवैध ओसारपसारको कारोबार चलाउनेले आफू जोगिने तरिका पनि जानेका छन्। कारोबारीको समूहले नाकावरपर डेढ किलोमिटर सम्मको क्षेत्रमा गस्ती गर्न आफ्नै टिमको व्यक्तिलाई मोटरसाइकलमा दौडाएको हुन्छ। यस्तो व्यक्तिले नाका पुग्ने गौँडामा पहरा दिनुपर्छ। नाकाबाट ओसारपसार भइरहेका बेला प्रहरी वा अनुसन्धानको गाडी देखियो भने उसले तुरुन्त मोबाइलमा फोन गरेर जानकारी दिन्छ अनि नाकामा भइरहेको ओसारपसार ठप्प हुन्छ।
सरकारी गस्ती पुग्दा नाका सुनसान भइसकेको हुन्छ।

अनुसन्धानका अधिकारीका अनुसार यस्तो अभ्यास बढी हुने ठाउँ झापाको केचनाकबलस्थित नाका र झापाकै सुरुङ्गाभन्दा दक्षिणको दिगल बैंक नाका हुन्।

केचनाकबलकोे सिमाना मेची खोलामा बाँसको पुल हालिएको छ। अवैध आयात गर्नेले यही पुलबाट मोटरसाइकल हाँकेर मालसामान वारपार गर्छन्।

‘सबै जसो नाकामा मोटरसाइकलबाटै अवैध ओसारपसार गरिन्छ। यिनलाई पक्राउ गरेर सामान बरामद गर्न अप्ठ्यारो छ। किनकि एउटा पक्राउ गर्यो भने अरू ५० वटा भाग्छन्। त्यसैले गोदाममै छापा हान्नु उपयुक्त देखिएको छ’, ती अधिकारीले भने।

मधेश प्रदेशमा केन्द्रित भएको इटहरी राजस्व अनुसन्धानले गत हप्ता सिरहाको लाहान बजारमा श्यामकुमार गुप्ताको श्याम वस्त्रालयमा छापा हानेको छ।

कार्यालयका सूचना अधिकारी सरोज कोइरालाका अनुसार निज गुप्ताले मोटरसाइकलमा भरिया खटाएर सीमापारिबाट कपडाको अवैध आयात गराई आफ्नो गोदामसम्म ल्याउने गरेको सूचनाका छापा मारिएको हो।

मोटरसाइकलमा भरिया कार्य गर्नेका नाइके राघव यादब र संजय यादब नाम भएका व्यक्तिहरू भएको बताइएको छ।

अनुसन्धानको टोलीले गुप्ताको गोदाममा भएका कपडाको मौज्दात लिएर गोदाममा सिल गरेको छ।

मौज्दातमा भएका कपडा र गुप्ताले बुझाएका बिलबीजकको अध्ययन भइरहेको अनुसन्धान कार्यालयले जनाएको छ।

त्यसैगरी सुनसरीको इटहरीमा रहेका २ व्यवसायीका गोदाममा पनि अनुसन्धानले सिल गरेको छ। जसमा नवीन गोयलको सञ्चालनमा रहेको पूजा इन्टरप्राइजेज र प्रवीण अग्रवालको रानीसति इन्टरप्राइजेज हुन्।

दुवै फर्मको स्टक लिएको र बिलबिजक तथा खातापाताको अध्ययन भइरहेको कार्यालयले जनाएको छ।