काठमाडौं। औद्योगिक प्रयोजनका लागि केराउ आयात गर्न १४ कम्पनीको आवेदन परेको छ। विभिन्न १४ कम्पनीले उद्योग विभागमा आवेदन दिएका हुन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असोजमा औद्योगिक प्रयोगजनका केराउ आयात गर्न दिने निर्णय गरेपछि उद्योग विभागले इच्छुक कम्पनीसँग आवेदन मागेको थियो।
विभागले आवेदन दिएका कम्पनीलाई आयातको अनुमति भने दिएको छैन। विभागका महानिर्देशक राजेश्वर ज्ञावालीले निवेदन दिएका कम्पनीलाई कति परिमाणमा आयात गर्न दिने भनेर निर्णय गर्न बाँकी रहेको बताए।
आवेदन दिनेमा नयाँ कम्पनी पनि छन्। ‘नयाँ कम्पनीले पनि केराउ आयातका लागि आवेदन दिएका छन्। नयाँ कम्पनीका कारण हामी निर्णयमा पुगेका छैनौं। के कति परिमाणमा आयात गर्न दिने भन्ने विषयमा छलफलकै क्रममा छौं,’ ज्ञवालीले भने, ‘हामी यसअघिको आयात परिमाण र खपतको अवस्था हेरेर निर्णय गर्छौं।’
सरकारले व्यवसायिक प्रयोजनका लागि केराउ आयातमा रोक लगाएका कारण भारतबाट अवैधरुपमा भित्रिने गरेको छ। उपभोक्ताले प्रति केजी केराउका लागि २०० रुपैयाँभन्दा बढी तिर्ने गरेका छन्।