लगानी विस्तार गर्न नसकेपछि बैंकहरु ऋण खोसखोसमा, ‘प्रोफिटको टार्गेट मिट गर्न दवाब छ’

आकाश बोगटी
२०८१ मंसिर २५ गते १२:४२ | Dec 10, 2024
लगानी विस्तार गर्न नसकेपछि बैंकहरु ऋण खोसखोसमा, ‘प्रोफिटको टार्गेट मिट गर्न दवाब छ’

काठमाडौं। नयाँ कर्जा विस्तार गर्न नसकेपछि व्यवसाय बढाउन बैंकहरुले कर्जा खोसाखोस गर्न थालेका छन्। लगानीयोग्य रकम थुप्रिएका बेला व्यवसाय बढाउन नसकेपछि बैैंकहरुले अर्कोका ऋण खोस्न थालेका हुन्।

Tata
GBIME
NLIC

ऋण खोस्ने प्रवृत्ति बढेर गएको बैंकरहरुले नै बताएका छन्। ब्याजदर निरन्तर घट्दा पनि नयाँ व्यवसाय बढाउन नसकेपछि पुरानो कर्जा तान्ने होड बढेको उनीहरुको भनाई छ।

पूर्वबैंकर किरणकुमार श्रेष्ठ अधिक तरलता हुँदा पनि नयाँ व्यवसाय बढाउन नसकेपछि बैंकहरु भइरहेको कर्जा तान्न केन्द्रित भइरहेको बताउँछन्।

‘लगानीयोग्य पुँजी थुप्रिएको छ। यस्तो बेलामा नयाँ कर्जाको माग बढ्न सकेको छैन,’ उनले भने, ‘प्रोफिटको टार्गेट पुर्‍याउनु पर्ने दबाब हुन्छ। कर्जाको माग छैन भनेर चुप बसे त टार्गेट मिट हुँदैन। त्यसैले नयाँ कर्जाको माग नआउँदा ऋण यता र उता गर्न थालिएको हो।’

कर्जा खोसाखोस गर्दा अर्थतन्त्रमा कुनै असर नपर्ने बरु ऋणीले सस्तोमा ऋण पाउने श्रेष्ठले बताए।

गत वर्ष लगानीयोग्य रकम भएपनि पुँजी कोषको दवाबका कारण अधिकांश बैंकहरु व्यवसाय बढाउन सक्ने अवस्थामा थिएनन्। चालु आवमा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लचकता अपनाएको छ।

राष्ट्र बैंकले ७५ प्रतिशत जोखिम भार हुने ऋणको सीमा २ करोडबाट अढाइ करोड रुपैयाँ पुर्‍याएको छ। यसले पुँजी कोषमा केही सहज भएको छ। साथै, असल ऋणमा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा झारेपछि पुँजी कोषमा थोरै राहत पुगेको छ। 

अहिले सबैजसो बैंकहरु सीडी रेसियोमा सहज अवस्थामा छन्। एक/दुई बाहेक बैंकहरुको पुँजी कोषमा पनि दवाब छैन। यतिबेला वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७८.५ प्रतिशतमा झरेको छ। कात्तिकसम्म क्यापिटल एडुकेसी रेसियो १२.८४ प्रतिशत छ।

ब्याजदर घट्दै गइरहेका बेला व्यवसाय बढाउन नसक्नु, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुनु र पुँजी कोषमा दवाब कम हुँदा आधार दर कम भएका बैंकले बढी भएका बैंकहरुबाट कर्जा तानिरहेका छन्।

कर्जाको माग सुस्त रहेकाले बेसरेट बढी भएको बैंकका ग्राहकलाई कम दर देखाएर कमसल कर्जा तान्ने गरिएको एक सीइओले बताए।

‘आधार दर कम भएका केही बैंकहरुले ७/८ प्रतिशतमा कर्जाका स्किम ल्याएका छन्। सस्तो ब्याजदरको स्किमका बाबजुत पनि व्यवसाय बढ्न सकेको छैन। त्यसैले कर्जाको सोधपुछ गर्ने ग्राहकको अन्य बैंकमा कुनै लोन छ भने त्यो समेत सार्न लगाउने गरिएको छ,’ ती सीइओले भने, ‘यसअघि पनि कर्जा खोसाखोस हुन्थ्यो। यसपालि भने खोसाखोस निक्कै बढेको छ। व्यवसाय विस्तार गर्न नसकेपछि कर्जा खोसाखोस गर्नु हाम्रो बाध्यता हो।’

निक्षेपको ब्याजदर निरन्तर घटेका कारण लागत कम भइ आधार दर नै अहिले ६/७ प्रतिशतमा झरेको छ। हाल औसत बेसरेट वाणिज्य बैंकहरुको ७, विकास बैंकको ९ र फाइनान्स कम्पनीको १० प्रतिशत छ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आईसीएफसी फाइनान्सका सीइओ सुनिल पन्तले पछिल्लो समय वित्तीय संस्थाहरुबीच कर्जा खोस्ने प्रवृत्ति बढेको स्वीकार गरे।

‘कर्जा स्वाप अहिले मात्र भएको होइन, पहिले पनि हुन्थो। अहिले अनेक किसिमका स्किम ल्याउँदा पनि ऋण लगानी गर्न नसकेका कारण खोसाखोस बढेको हो,’ उनले भने, ‘तरलता थुप्रिएको छ। सीडी रेसियोदेखि पुँजी कोष सबै सहज अवस्थामा छ। तर जति गर्दा पनि ऋण जाँदैन। अनि चुप लागेर बस्ने कुरा त भएन।’