भाउ घट्दा पनि महँगै दाम तिरेर घरजग्गा खोज्दै, रोजाइमा परेका काठमाडौंका दर्जन लोकेसन

नेत्र तामाङ
२०८१ मंसिर २५ गते ०९:२२ | Dec 10, 2024
भाउ घट्दा पनि महँगै दाम तिरेर घरजग्गा खोज्दै, रोजाइमा परेका काठमाडौंका दर्जन लोकेसन

काठमाडौं। देशभर अहिले घरजग्गा किनबेच घटेको छ। सबैभन्दा कमाउ अड्डाका रुपमा चिनिने मालपोत कार्यालयकै कर्मचारीले ‘किनबेचमा मन्दी’ले दिक्क मानिरहेको अवस्था छ। काँठ क्षेत्रमा प्लटिङवालादेखि जग्गाधनीहरु प्रति आना ७-८ लाखमै जग्गा बेच्दैछन्।

Tata
GBIME
NLIC

यस्तो बेला पनि काठमाडौंका केही क्षेत्र जहाँको भाउ घटेको छैन, मूल्य महँगो भएका ती ठाउँ घरजग्गा खोज्नेहरुको रोजाइमा परेको देखिन्छ। आइतबार दिउँसो काठमाडौंको मालपोत कार्यालय कलंकीको रजिस्ट्रेसन ‘ख’ मा जम्मा ४ वटा जग्गा नामसारी हुँदा २ वटा कीर्तिपुर क्षेत्रका थिए। दुवै जग्गा चार-चार आना हुन्।

यो फाँटमा अरुबेला पनि कीर्तिपुरको जग्गा बढी किनबेच हुने गरेको कार्यालयका सूचना अधिकारीसमेत रहेका मालपोत अधिकृत विदुर अधिकारीले बताए। ‘कीर्तिपुर पहिलेदेखि नै धेरैको रोजाइमा छ। अन्यत्र भाउ घट्दा पनि मानिसहरु कीर्तिपुर नै पुगिरहेका छन्,’ उनले भने।

इमाडोल

रजिस्ट्रेसन ‘क’ फाँटमा भने स्युचाटारको जग्गा बढी किनबेच हुने गरेको अधिकारीले बताए। कलंकी मालपोतअन्तर्गत बलम्बु क्षेत्रको जग्गा पनि किनबेच भइरहेको छ। मालपोत कार्यालयका प्रमुख पूर्णबहादुर केसीले बलम्बु क्षेत्रको जग्गा कारोबार ठीकै रहेको बताए। उनका अनुसार रामकोट क्षेत्र पनि जग्गा किन्न चाहनेहरुको रोजाइमा पर्छ।

रामकोट भीमढुंगामा धादिङ निस्कने छोटो बाटो बनेको छ। यसले गर्दा यो क्षेत्र धादिङ घर भएकाहरुको रोजाइमा परेको मालपोतका कर्मचारीहरु बताउँछन्।

टोखा

धादिङका पासाङ वाइबाले रामकोट क्षेत्रमा जग्गा खोजिरहेका छन्। कोरियाबाट फर्केका उनी आनाको ३० लाखसम्म पर्ने ४ आना जग्गाको खोजीमा छन्। ‘आफन्त यही साइटमा बस्नुहुन्छ। गाउँ निस्कन पनि सजिलो हुन्छ भनेर यतै जग्गा खोजेको, भेटिएको छैन,’ लामाले भने।

पछिल्लोपटक टोखा पनि घरजग्गा खोज्नेहरुको रोजाइको ठाउँ भएको छ। अहिले नुवाकोट जाने मुख्य सडक टोखामा पर्छ। साथै टोखा-छहरे सुरुङ मार्गको चर्चाले पनि जग्गा किन्नेहरुको रोजाइमा परेको हो। टोखाको पञ्चेटार क्षेत्रमा गत बिहीबार जग्गा हेर्ने र देखाउनेहरु विभिन्न समूहमा देखिएका थिए।

टोखा हाइटमा रहेको र पारिलो भएकोले जग्गा खोज्नेहरु धेरै आउने गरेको त्यहाँ व्यवसाय गर्दै आएका अमर मोक्तानले बताए। यो क्षेत्रमा मूल सडकको ठिक पछाडिका शाखा सडक जोडिएका जग्गाको मूल्य आनाको ४० लाखसम्म चलेको छ।

बुढानीलकण्ठ, चुनीखेल, सुन्दरीजल र गोठाटार क्षेत्र पनि धेरैको रोजाइमा परिरहेको मालपोत कार्यालय चाबहिलका मालपोत अधिकृत धननारायण तामाङले बताए। ‘अहिले गोठाटार, चुनीखेल क्षेत्रको लिखत पारित बढेको छ,’ तामाङले भने। चुनीखेल बुढानीलकण्ठ नजिकैको नयाँ बस्ती हो।

लामाटार

गोठाटार उचाइमा हुनुका साथै राजधानीका विभिन्न ठाउँ र भक्तपुर निस्कन सहज ठाउँ मानिन्छ।

भक्तपुरमा जग्गाको किनबेच अहिले निक्कै कम छ। तर बोडे, सरस्वतीखेल र कटुञ्जे हाइट जग्गा किन्नेहरुको रोजाइमा पर्ने भक्तपुर मालपोत कार्यालयका मालपोत अधिकृत देवीप्रसाद भट्टराईले बताए।

‘अहिले जग्गा कारोबार शिथिल अवस्थामा छ। जे जति किनबेच हुन्छ, त्यसमा बोडे, सरस्वतीखेल र कटुञ्जे हाइटको जग्गा पास धेरै छ,’ भट्टराईले भने।

स्युचाटार

ललितपुरमा इमाडोल, लामाटार र चापागाउँ क्षेत्र रोजाइमा देखिन्छ। मालपोत कार्यालय लगनखेलका मालपोत अधिकृत माधवप्रसाद पोखरेलले लामाटार र चापागाउँमा घरजग्गा तथा इमाडोल क्षेत्रमा घर किनबेचको ट्रेन्ड बढेको बताए।

इमाडोल, लामाटार हुँदै काभ्रे निस्कने सडक सडक बनेको छ। चापागाउँ हँदै हेटौंडा निस्कने सडक फराकिलो बनेको छ। लेले र नख्खु क्षेत्र गत असोजको बाढीले डुबानका परेका कारण भाउ घटाएर बेच्न खोज्दा पनि घरजग्गाधनीले ग्राहक पाइरहेका छैनन्।

फर्पिङ, छैमलेजस्ता खाली क्षेत्रमा आँखा लगाएका ग्राहक असोजको वर्षामा पहिरो गएको देखेपछि सुरक्षित ठाउँको खोजीमा लागेका छन्। ती क्षेत्रमा जग्गा खोज्नेहरुले सुरक्षित स्थानको खोजीमा अहिले कीर्तिपुरको फन्को मारिरहेका छन्।

सडक, अग्लो ठाउँ, आउजाउका लागि सहज, स्कुल लगायत कारण कीर्तिपुरदेखि कटुञ्जेसम्म रोजाइमा परेका स्थानका जग्गालाई ग्राहकहरु आनाको ४० देखि ६० लाखसम्म तिर्न तयार हुने व्यवसायीहरु बताउँछन्।