काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन्। सन् १९८७ बाट संचालनमा आएको बैंकले पहिलोपटक नेपालीलाई सीइओमा नियुक्त गरेको हो।
यसअघि बैंकको सीइओमा सबै विदेशी बैंकर नियुक्त हुँदै आएका थिए।
अमेरिकाबाट एमबीए गरेका गोरख चार्टर्ड बैंकको सुरुवाती समयदेखि नै त्यहीँ कार्यरत छन्। सुरुमा राणाले ग्रिनलेज बैंकबाट करियर सुरु गरेका थिए। त्यसपछि स्ट्यान्डर्ड चार्टर्डले ग्रिनलेज बैंक खरिद गरेदेखि नै राणा सोही संस्थामा आबद्ध रहँदै आएका थिए।
सीइओमा नियुक्त हुनु अघि बैंकमा राणा डेपुटी सीइओको भूमिकामा थिए। अनिर्भान घोष दस्तिदारको कार्यकाल सकिएपछि राणालाई सीइओमा नियुक्त गरिएको हो।
सन् १९९४ देखि राणा स्ट्यान्डर्ड चार्टर्डसँग आबद्ध भएका हुन्। उनले यस बैंकमा रिटेल र प्राइभेट बैंकिङबाट आफ्नो करियर सुरु गरेका थिए। सन् १९९६ मा कर्पोरेट र इन्स्टिच्युसनल बैंकिङ विभागको नेतृत्वमा उनी पुगे। त्यसपछि उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइयन्ट कभरेज लगायतका विभिन्न भूमिकामा समेत काम गरे।
सन् २०२२ मा डेपुटी सीइओ नियुक्त हुनु अघि उनी हेड अफ ग्लोबल बैंकिङ एण्ड कमर्सियल बैंकिङ थिए। डेपुटी सीइओको भूमिकासँगै उनले नेपालमा कर्पोरेट, कमर्सियल र इन्स्टिच्युसनल बैंकिङको क्लाइयन्ट कभरेज हेडको जिम्मेवारी सम्हालेका थिए।
राणा दिवंगत राजा वीरेन्द्र शाहका ज्वाइँ हुन्। उनकी श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित मृत्यु भएको थियो।
स्ट्यान्डर्ड चार्टर्ड अहिले सर्वाधिक महँगो सेयर मूल्य हुने वाणिज्य बैंक हो। बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश पनि दिंदैछ।