काठमाडौं। नेपाली कांग्रेसले बीआरआई कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर गर्दा चीनसँग अनुदान मात्र लिने समझदारी भएको दाबी गरेको छ।
पार्टि सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले अनुदान मात्र लिने गरी समझदारी भएको दाबी गरेका हुन्।
‘बीआरआई ऋण होइन, अनुदान हो भन्नुभएको छ प्रधानमन्त्रीले। एड असिस्टेन्स फाइनान्सिङ भनेको अनुदान हो,’ महतले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्केपछि अनुदान हो भनी प्रष्ट पारेकोले यसमा अब आशंका गर्न आवश्यक नरहेको बताए।
कांग्रेसले प्रधानमन्त्री ओली चीन जानुअघि ऋण लिने गरी बीआरआईमा हस्ताक्षर नगर्ने बताएको थियो। तर, ऋण सहायता लिने बाटोसहित सरकारले बीआरआई कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर गरेको छ। कांग्रेसको प्रतिनिधिका रुपमा परराष्ट्रमन्त्री डा. आरजु राणा स्वयं पनि ओलीसँगै चीन गएकी थिइन्।
कार्यसम्पादन समितिको बैठकले सुनिता थापालाई गण्डकी प्रदेशको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। समानुपातिक सांसद विमला गौचनको कात्तिक २९ गते निधन भएपछि कांग्रेसले थापालाई प्रदेश सांसद बनाउने निर्णय गरेको हो।
‘क्रम संख्याका आधारमा सुनिता थापालाई अनुमोदन गर्ने निर्णय गरेका छौं निर्वाचन आयोगको नियमावलीअनुसार। उहाँ स्याङ्जाको हुनुहुन्छ,’ प्रवक्ता महतले भने।