काठमाडौं । उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको बताएका थिए। त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न उनले अनुरोध गरेका थिए।
यस्तै, पौडेलसँग लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए
लुले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपालमा रहँदा लुले विभिन्न राजनीतिक दलका नेतृत्वकर्तासँगै नागरिक समाजका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ।