काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताएका छन्।
पार्टीको शिक्षा विभागले बुधबार गरेको ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा उनले सीपयुक्त जनशक्ति तयार पार्ने गरी शिक्षामा सुधार आवश्यक रहेको औंल्याए।
‘शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाउन आवश्यक छ,’ उनले भने, ‘दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्छ।’
देउवाले कांग्रेसले शिक्षा प्रणाली सुधारको विषयलाई उच्च प्राथमिकतामा राखेको बताए। ‘क्याम्पसहरु विद्यार्थी अभावमा बन्द हुने अवस्था आएकोतर्फ हामी चिन्तित छौं। त्यसैले गुणस्तरमा सुधार गर्नुपर्ने आवाजतर्फ हामी गम्भीर छौं,’ उनले भने।
उनले कम्तिमा पनि ५० वर्षका लागि प्रभावकारी हुने गरी शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिए।