प्याजको मूल्य एकाएक घट्यो, भारतमा उत्पादन बढेपछि व्यापारीले घटाए किलोमै ३० रुपैयाँ

अनन्तराज न्यौपाने
२०८१ मंसिर १९ गते १५:३९ | Dec 4, 2024
प्याजको मूल्य एकाएक घट्यो, भारतमा उत्पादन बढेपछि व्यापारीले घटाए किलोमै ३० रुपैयाँ

विराटनगर। प्याजको खुद्रा मूल्य एक सातामै किलोको ३० रुपैयाँले घटेको छ। विराटनगरको खुद्रा बजारमा किलोको १३० रुपैयाँ पर्दै आएको प्याज अब १ सयमा पाइन थालेको छ।

Tata
GBIME
NLIC

भारतमा प्याजको सबैभन्दा ठूलो उत्पादक राज्य महाराष्ट्रमा यस वर्ष प्याजको सन्तोषजनक उत्पादन भएको छ। साथै महाराष्ट्रमा प्याजको नयाँ फसल पनि आइसकेको छ। यसका कारण मूल्यमा एक्कासि ह्रास आएको हो।

प्याजका आयातकर्ता पशुपति भगतले भारतमा एक हप्तापछि प्याजको मूल्य किलोको २० रुपैयाँले अझै खस्कने बताए। भारत सरकारले प्याजको निर्यातमा लगाएको २० प्रतिशत शुल्क गत महिना हटाएको थियो।

भारतमा गत वर्ष प्याजको उत्पादनमा अघिल्ला वर्षका तुलनामा २० प्रतिशतले ह्रास आएको थियो। यसका कारण उसले प्याजको निर्यातलाई निरूत्साहित गरिरहेको थियो।

भारत सरकारले गत वर्षको सिजनमा २४२ लाख टन प्याज उत्पादन भएको जनाएको छ। यस वर्ष २७० लाख टन नाघ्ने अनुमान गरिएको छ।

प्रकाशशरण महत अर्थमन्त्रीमा हुँदा उनले प्याजमा भ्याट लगाएर सर्वसाधारणको चुल्हो महँगो बनाएका थिए। उनको २०८० जेठ १५ को बजेटपछि प्याजको आयात गर्दा कृषिसुधार शुल्क ९ र अग्रिम आयकर १.५ प्रतिशतसहित भ्याट पनि बुझाउँदा कुल २४.६७ प्रतिशत राजस्वको लोड पर्दथ्यो।

चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले प्याजको भ्याट हटाएर सर्वसाधारणलाई राहत दिएको प्रचार त गरे तर भ्याट हटाएर भविष्यमा समायोजन गर्न नसकिने अग्रिम आयकर १० प्रतिशत लगाएको तथ्य भने व्यवसायीले आयात गर्ने बेलामा मात्र थाहा पाएका थिए।

यसरी चालु आर्थिक वर्षमा प्याजको आयातमा कृषि सुधार शुल्क ९ र अग्रिम आयकर १० सहित १९ प्रतिशत राजस्वको लोड छ। राजस्वको उच्च दरका कारण नेपालमा खपत हुने प्याजको अधिकांश हिस्सा अवैध आयातबाटै आपूर्ति हुँदै आएको छ।

विराटनगर-जोगबनी नाकामा हरेक दिन बिहान ३ देखि ६ बजेसम्म प्याजको खुल्लमखुल्ला तस्करी भइरहेको हुन्छ। यसमा प्रहरी, प्रशासन, स्थानीय राजनीतिकर्मी, व्यवसायी, पारिका सुरक्षाकर्मी सबैको मिलेमतो हुन्छ।

आयातकर्ताहरूले एउटा भन्सार प्रज्ञापनपत्रका आधारमा पटक-पटक अवैध आयातबाट भित्रिएको प्याजको कारोबार गर्ने गरेका छन्। भन्सार विभागका अनुसार चालु आवको कात्तिक सम्ममा गत आवको सोही अवधिको भन्दा प्याजको आयात परिमाण र मूल्य दुवै घटेको छ।

जसअनुसार गत आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा १ अर्ब ६२ करोड ३ लाख रुपैयाँको ३९ हजार १०२ टन प्याज आयात गरिँदा चालु आवको सोही अवधिसम्ममा ९६ करोड ५२ लाख बराबरको २१ हजार १७६ टन मात्र आयात भएको छ।

मोरङ उद्योगव्यापार संघका उपाध्यक्ष विकास बेगानीले सीमा क्षेत्रमा ग्रे मार्केट मौलाएकाले प्याजको आयात र आयातमूल्य दुवैमा ह्रास देखिएको बताए।